+
+

‘यात्रा नेपाल’ अभियानमा कलाकार, मनिषाले खप्तड र आनीले हेलम्बुमा योग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:५७

काठमाडौँ । सेलिब्रेटीले सातै प्रदेशको पर्यटकीय थलोमा पुगेर आन्तरिक पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएका छन् । ‘यात्रा नेपाल’ नाम दिइएको यो अभियानको थालनी पाल्पाको तानसेनबाट सुरु भएको छ ।

केही दिनअघि अभिनेताहरु राजेश हमाल र धीरेन शाक्यले पुर्ख्यौली थलो पाल्पाको रामपुरदेखि तानसेनसम्म पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरे । हमाल अर्चलेस्थित गाउँमा पुगे । साथै, निस्दी उपत्यका पुगेर मगर संस्कृति प्रवर्द्धनमा सहभागी भए । मगर समुदायसँग खानपिन र नाचगानमा सहभागी भएर उनी काठमाडौं फर्किंदैछन् ।

वर्षा सकिने बित्तिकै अभिनेत्री मनिषा कोइराला खप्तडको पर्यटन प्रवर्द्धनका लागि त्यसतर्फ जाँदैछिन् । उनी त्यता जाने निश्चित भएको छ । चारदिने खप्तड बसाइमा उनले योग, ध्यान र साधना गर्ने बुझिएको छ ।

उनले त्यहाँ गल्फ समेत खेल्ने, देउडासहितका सांस्कृतिक गतिविधिमा पनि भाग लिने जनाइएको छ । पछिल्लो समय मनिषा योग र साधनामा बढी समय बिताउँदै आएकी छन् । ‘मनिषाजी मार्फत हामी खप्तडको पर्यटन प्रवर्द्धनमा जुट्नेछौं,’ यात्रा नेपालका निर्देशक दशरथ सुनारले अनलाइनखबरसँग भने ।

आनी छोइङ डोल्माले हेलम्बुको पर्यटन प्रवर्द्धनमा जानेछिन् । त्यहाँ उनको कुटी छ । कुटीमा योग साधना गर्ने र सांगीतिक कार्यक्रम गर्ने उनको तयारी छ । संगीत र अध्यात्म मार्फत हेलम्बुको प्रवर्द्धन गर्ने उनको तयारी छ ।

नवलपुरको शाश्वतधामको पर्यटन प्रवर्द्धन सांसद समेत रहेका व्यवसायी विनोद चौधरीले गर्नेछन् । चितवन राष्ट्रिय निकुञ्जमा पुगेर कर्ण शाक्यले थारु संस्कृति र निकुञ्जनको प्रवर्द्धन गर्ने भएका छन् ।

यो अभियान अन्तर्गत पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनकपुरमा मिथिला कला संस्कृति, खानपिन र जानकी सभ्यताको प्रवर्द्धन गर्ने जनाइएको छ । यी प्रत्येक इभेन्टलाई यात्रा नेपालको एक एपिसोडको रुपमा छायांकन गर्ने तयारी छ ।

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा पतञ्जली योगपीठका आचार्य बालकृष्णलाई नेपाल ल्याउने तयारी रहेको बुझिएको छ तर यसको निधो भइसकेको छैन । यो कार्यक्रम दुई महिनामा कुनै एक टेलिभिजनमा प्रसारणको तयारी छ । भीवाईएफ टक्स र नेपाल दर्शनले ‘यात्रा नेपाल’ कार्यक्रमको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?