+

काभा यू-२० महिला भलिबल खेल्न जाने टोलीको बिदाइ

२०८१ असार  ३१ गते १५:०९ २०८१ असार ३१ गते १५:०९
काभा यू-२० महिला भलिबल खेल्न जाने टोलीको बिदाइ

३१ असार, काठमाडौं  । नेपाल भलिबल संघले  माल्दिभ्सको मालेमा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

च्याम्पियनसिप यही जुलाई १८ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।

सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाह, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री लगायतले खेलाडीहरुकव बिदाइ गरे ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ ।

नेपालले पहिलो पटक उमेर समूह काभा यु-२० च्याम्पियनसिप खेल्न लागेको हो ।

उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले उमेर समूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले पहिलो पटक उमेर समूहको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने लागेको भन्दै शुभकामना दिए ।

नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ ।

लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुनेछ । फाइनल खेल जुलाई २३ मा हुनेछ ।

नेपालले काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपाली टोली :

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक : कुमार राई

सहायक प्रशिक्षक : अर्जुन घिमिरे

व्यवस्थापक : जुनु पुन

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय