+
+

विशेष अदालतले भन्यो : ६ महिना नाघेका कुनै मुद्दा बाँकी छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १५:५०

३१ असार, काठमाडौं । विशेष अदालतले ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लागेको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भने ‘हामीकहाँ अहिले ६ महिना नाघेका मुद्दा छैनन् । विशेष अदालतलाई स्मार्ट र नमुना अदालत बनाउन खोजेका छौं । त्यो अनुसारको काम भइरहेको छ ।’

२०८० असार मशान्तमा ३५९ वटा पुराना मुद्दा रहेको विशेष अदालतमा अहिले ६९ वटामात्रै मुद्दा छन् । विशेष अदालतले चालु आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका २१६ वटा मुद्दासमेत फैसला गरेर पुराना मुद्दाको संख्या उल्लेख्य रुपमा घटाएको हो ।

१८ मंसिर, २०८० देखि विशेष अदालतमा टेकनारायण कुँवरको नेतृत्वमा न्याययाधीशहरुको नयाँ टोली आएको थियो । त्यसमा न्यायाधीश डा. खुसीप्रसाद थारु भने पहिलेदेखि नै कार्यरत थिए । आफूहरुको टिम आएपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ र फैसला गरेको कुँवरले बताए । उनीहरु आउँदा विशेष अदालतमा ३२८ वटा मुद्दा बाँकी थिए, जसमध्ये ७४ वटा मुद्दा त दुईवर्ष नाघेका थिए ।

विशेष अदालत ऐनमा दर्ता भएको ६ महिनाभित्र मुद्दाको फैसला गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न कारण समयमा मुद्दाको सुनुवाइ र फैसला हुन सकेको थिएन । यसपटक भने पुराना मुद्दा समेत फर्स्योट गरी विशेष अदालतले नयाँ दर्ता भएका मुद्दासमेत उल्लेख्य रुपमा घटाएका हुन् ।

अध्यक्ष कुँवरले पत्रकार सम्मेलनमा भने, ‘हामीले ऐनमा भएको व्यवस्था लागू गर्नुपर्छ भन्ने प्रतिवद्धताका साथ काम गर्‍यौं र उपलब्धि पनि हासिल गर्‍यौं ।’ उनले छ महिना पुराना मुद्दालाई सकेसम्म बाँकी नराख्ने रणनीतिलाई आगामी दिनमा पनि कायम राख्ने बताए ।

विशेष अदालतले यो वर्ष लक्ष्यभन्दा बढी मुद्दा फैसला भएको जनाएको छ । मुद्दाको तुलनामा फर्स्योट भएको प्रतिशत १० वर्षयताकै बढी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनका अनुसार, यो वर्ष कुल मुद्दामध्ये ८८ प्रतिशत मुद्दा फैसला भएको छ । यो वर्षमा मात्रै विशेष अदालतले २ वर्ष नाघेका १९९ वटा मुद्दा फैसला गरेको छ ।

फैसला भएका ५०६ वटा मुद्दामा १५९ वटा मुद्दामा आंशिक ठहर भएका छन् । मुद्दा लागेकामध्ये सबै आरोप ठहर नभएका मुद्दालाई विशेष अदालतले आंशिक ठहर भन्ने गरेको छ । सबै आरोपितहरु दोषी ठहर भएका मुद्दा १०४ वटामात्रै छन् भने २४३ वटा मुद्दामा कुनै पनि आरोपितहरु दोषी ठहर भएनन् । विशेष अदालतमा पेश भएकामध्ये ४८ प्रतिशत मुद्दामा मात्रै आरोपितहरु दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष कुँवरले फैसला भएकामध्ये करिव ३ सय मुद्दामा पूर्णपाठ लेख्न बाँकी रहेको बताए । विशेष अदालतले अब तीन साता फैसला लेखनलाई तिब्रता दिने भएको छ । आगामी दशैं बिदा अघिसम्म अहिले फैसला भएका मुद्दाको पूर्णपाठ तयार गर्ने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?