+

एमआरआई के हो, किन गरिन्छ ?

२०८१ असार  ३१ गते १६:४३ २०८१ असार ३१ गते १६:४३
एमआरआई के हो, किन गरिन्छ ?

हाम्रो शरीरमा कुनै घाउ वा कुनै कारणवश हड्डी भाँचियो भने हेरेर समस्याको अनुमान गर्न सक्छौं । किनकि यी कुरा हाम्रो आँखाको अगाडि हुन्छ । तर जब हाम्रो शरीरभित्र कुनै अंग खराब हुन्छ । तब कतिपय रोग शरीरभित्र लुकिरहेको अवस्थामा हुनसक्छ ।

यस्तोमा आँखाले देख्न नसक्ने समस्या कसरी पत्ता लाग्छ ?

यस्ता लुकेको रोग पत्ता लगाउन एमआरआई जस्ता मेडिकल उपकरणको आविष्कार गरिएको हो ।

एमआरआई कस्तो मेडिकल उपकरण हो ?

एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो । एमआरआईको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो ।

कस्तो अवस्थामा प्रयोग हुन्छ ?

शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग हुन्छ ।

– मेरुदण्ड, जोर्नी र हड्डीसँग सम्बन्धित रोग स्पष्ट रुपमा पहिचान गर्न

– मुटुसँग सम्बन्धित रोगहरू पहिचान गर्न

– स्तन क्यान्सरको जोखिम पत्ता लगाउन

– मस्तिष्क समस्याहरू (पक्षघातपछि रगत नपुगेर क्षति पुगेको स्थानहरु हेर्न, छारेरोग, लगातार टाउको दुखाइ कारण) पत्ता लगाउन

– पाठेघर र कलेजोको क्यान्सर निदान गर्न

– बाँझोपन उपचार गराइरहेका महिलाको गर्भाशय असामान्यता पत्ता लगाउन

– एन्डोमेटियोसिसका महिलामा दुखाइको कारण मूल्यांकन गर्न

– शरीरका विभिन्न भागमा अल्सर, ट्युमर वा अन्य रोगको निदान गर्न

एमआरआईको परीक्षण प्राविधिकको निगरानीमा हुन्छ । जसलाई पछि रेडियोलोजिस्टले रिपोर्टिङ गर्छन् ।

एमआरआई गर्नुअघि

एमआरआई एक ओपीडी प्रक्रिया हो । त्यसैले हतार गर्न आवश्यक हुँदैन । परीक्षण सुरु गर्नुअघि पहिला नै सबै निर्देशन दिइन्छ । जस्तै, एकै पोजिसनमा नहल्ली बस्न सल्लाह दिइन्छ । किनकि अलिकति हल्लिंदा तस्वीर धमिलो आउन सक्छ ।

बिरामीलाई स्थिर राख्न कहिलेकाहीं हातमा पट्टी पनि लगाउन सकिन्छ । लामो समयसम्म स्थिर रहन नसक्नेलाई बेहोस बनाएर पनि एमआरआई गरिन्छ ।

कुनै क्रम कैयौं मिनेटसम्म चल्न सक्छ र हरेक चरणमा अलग-अलग आवाज मेसिनको आउँछ । यी कुरा पहिल्यै बताइन्छ ।

यो प्रक्रिया सुरु गर्नुअघि लुगा परिवर्तन गरी अस्पतालको गाउन लगाउनुपर्छ । धातुबाट बनेको वस्तुहरु लगाएका भए निकाल्नुपर्छ ।

एमआरआई गर्दा

सबैभन्दा पहिला बिरामीलाई टेबलमा सुताइन्छ । बिस्तारै टेबल गोलो आकारको म्याग्नेटको ट्युबतर्फ जान्छ । एमआरआईको उपकरणभित्रै आवश्यक तस्वीर निकाल्ने समयसम्म नहल्ली बस्नुपर्छ ।

यो अवधिमा प्राविधिक सुरक्षित दूरीमै बस्छन् । कम्प्युटर मा एमआरआईले देखाएको विवरण हेर्ने र संकलन गर्ने कार्य हुन्छ । बिरामीले माइक्रोफोनको मद्दतले भित्रबाटै कुराकानी पनि गर्न सक्छन् । एकपटक परीक्षण पूरा भएपछि प्राविधिकले एमआरआईबाट आएको छवि हेरेर थप आवश्यक छ कि छैन भनेर सुनिश्चित गर्छन् ।

गर्भवस्थामा एमआरआई गर्नुपर्ने अवस्था छ भने विशेष सावधानी अपनाएर मात्र गर्नुपर्ने हुन्छ ।

कति लामो प्रक्रिया हुन्छ ? कतिको सहज हुन्छ ?

यो प्रक्रिया समस्या अनुसारको समय लाग्न सक्छ । न्यूनतम १५ मिनेटदेखि अधिकतम ५० मिनेटसम्म लामो प्रक्रिया पनि लाग्न सक्छ । यस्तोमा धैर्य गर्न कतिपयलाई कठिन हुनसक्छ ।

कसरी काम गर्छ ?

मानव शरीरको अधिकांश भाग पानीले बनेको हुन्छ । शरीरभित्र रहेको यही पानी, चुम्बक, रेडियोवेभ, ग्रेडियन्टबीच प्रतिक्रिया गरेर एमआरआईले काम गर्छ । प्रत्येक हाइड्रोजन (शरीरभित्र हुने पानी) एटमको केही भागले चुम्बक जसरी काम गर्छ ।

मेसिनमा सुत्दा चुम्बकीय क्षेत्रले अस्थायी रुपमा शरीरको पानीको अणुहरुलाई पुन: व्यविस्थत गर्छ । यो बेला चुम्बकीय क्षेत्र सक्रिय हुन्छ । रेडियो तरंगले यी व्यवस्थित भएका परमाणुबाट संकेत पाउँछ । यो चुम्बकीय क्षेत्र ग्रेडियन्टको मद्दतले निश्चित फ्रिक्वेन्सीमा पठाइन्छ ।

जसको उपयोगबाट मेसिनमा जडान भएको कम्प्युटरको सहायताले एमआरआई स्क्यानका तस्वीर बनाउँछ । सही तस्वीरका लागि अनिवार्य एक सीमित अवधिसम्म मेसिनमै रहनुपर्छ ।

एमआरआई रिपोर्टको विश्लेषण कसले गर्छ ?

एक प्रशिक्षित रेडियोलोजिस्ट वा चिकित्सकले मात्र स्वास्थ्य अवस्थाको मूल्यांकन गरी उपचार प्रक्रिया अघि बढाउन एमआरआई रिपोर्टको विश्लेषण गर्न सक्छन् ।

आजभोलि सानो समस्या हुँदा पनि हचुवाको भरमा एमआरआई गराउनेहरु पनि हुन्छन् । सबै समस्यामा एमआरआई मात्र सुरक्षित विकल्प नहुन सक्छ । कतिपय केसमा एमआरआई भन्दा सिटी स्क्यान प्रभावकारी हुनसक्छ ।

यस्तोमा कुनै प्रकारका अप्रत्यासित समस्याबाट सुरक्षित हुन सधैं दक्ष चिकित्सकसँग परामर्श लिनुपर्छ ।

फाइदा

एमआरआई स्क्यान एक पीडारहित इमेजिङ प्रविधि हो । यसमा हानिकारक विकिरणको जोखिम हुँदैन । शरीरको नरम तन्तुको संरचना जस्तै- मस्तिष्क, मेरुदण्ड, जोर्नीहरू, क्यान्सर, मुटु, कलेजो र अन्य धेरै अंग अन्य विधिबाट भन्दा एमआरआई छवि मार्फत थप स्पष्ट रूपमा पहिचान हुनसक्छ ।

सिटी स्क्यान र एमआरआईमा के फरक छ ?

यी दुवैले शरीरभित्रको छविलाई देखाउँछ । यी दुईबीच फरक छ भने एमआरआईले हाम्रो शरीरभित्र तस्वीर लिन चुम्बकीय र रेडियो तरंग प्रयोग गर्छ, जसमा रेडियसन हुँदैन । सिटी स्क्यानले समेत देखाउन नसकेको नरम तन्तुहरुको अवस्था स्पष्ट रुपमा एमआरआईले देखाउन सक्छ । एमआरआई गर्दा समय धेरै लाग्छ ।

जबकि सिटी स्क्यानमा एक्स-रेको सहायताले काम गर्छ । यसमा रेडियसनको मद्दतबाट शरीरको अवस्था देख्न सकिन्छ । छोटो अवधिमै यो प्रक्रिया पूरा हुन्छ र एमआरआई भन्दा कम खर्चिलो छ ।

बेफाइदा

शरीरभित्र धातु जडान गरिएको छ भने एमआरआई गर्न मिल्दैन । स्क्यान गर्ने क्रममा आउने आवाजले भित्र हुँदा एक किसिमको डर पैदा हुनसक्छ । गुफामा छिरेको जस्तो भएर कतिपयलाई आत्तिने र निस्सासिएको जस्तो अनुभव गर्ने हुनसक्छ ।

एमआरआको नतिजा कति समयमा आउँछ ?

एमआरआईको नतिजामा स्वास्थ्य समस्या कति सामान्य वा जटिल छ भन्नेमा भर पर्छ । परीक्षणपछि नतिजा सामान्य आयो र कुनै समस्या देखिएन भने २४ घण्टामा एमआरआईको रिपोर्ट दिइन्छ ।

यदि कुनै समस्या छ, अझ झटिल देखियो भने अन्य चिकित्सकसँग सल्लाहपछि मात्र नतिजा आउँछ । यस्तोमा समय लाग्न सक्छ । त्यस्तै दक्ष चिकित्सकहरुको उपलब्धता बढी भएका निजी अस्पतालमा केही समयमै पनि रिपोर्ट आउन सक्छ ।

कति खर्च लाग्छ ?

एमआरआई मेसिन नै महंगो उपकरण हो । त्यसैले परीक्षणको शुल्क पनि स्वभाविक रुपमा महंगो नै पर्न जान्छ । यमा सरकारी र निजी अस्पतालले आ-आफ्नै ढंगले शुल्क तोकेका हुन्छन् । त्रिवि शिक्षण अस्पतालमा एमआरआई परीक्षण शुल्क आठ हजारदेखि सुरु हुन्छ ।

एमआरआर्ई गर्न नहुने अवस्था

– प्रत्यारोपित पेसमेकर राखिएको अवस्थामा

– कोक्लियर प्रत्यारोपण

– कुनै पनि अन्य प्रकारको फलाममा आधारित धातु प्रत्यारोपण

एमआरआई उपकरण नेपालमा कहिले भित्रियो ?

नेपालमा २०४६ सालमा एमआरआई उपकरण भित्रिएको हो, जुन सबैभन्दा पहिला आर्मी अस्पतालले सेवा सुरु गर्‍यो । त्यसबेला कम गुणस्तरको मेसिन आएको थियो । विस्तारै निजी अस्पतालले एमआरआई सहितको सेवा सञ्चालनमा आए । त्रिवि शिक्षण अस्पतालमा भने २०५८ सालमा एमआरआई भित्रिएको थियो ।

त्यस्तै, विश्वमा पहिलो पटक सन् १९७३ मा यसको आविष्कार भएको थियो । यसको आविष्कारक पौल लौटबर, पेटर मान्सफिल्ड र रायमण्ड डामाडियनले हुन् ।

सन् १९७३ मा पौलले एमआर इमेज बनाएका थिए । त्यतिबेला उनले जनावरमा परीक्षण गरेका थिए । जसलाई थप सुधार गरेर सन् १९७७ मा पेटर मान्सफिल्डले मानिसको एउटा औंलाको एमआरआई गरेर नतिजा निकालिएको थियो ।

त्यसपछि रायमण्डले मानव भित्र देखिने क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउने गरी एमआरआई प्रयोगमा ल्याएका थिए ।

एमआरआई डा. शर्मा पौडेल मेडिकल उपकरण
डा. शर्मा पौडेल
लेखक
डा. शर्मा पौडेल
एसोसिएट प्रोफेसर तथा रेडियोलोजिस्ट

डा. शर्मा पौडेल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा काम गर्छन् । रेडियोलोजीमा एमडी गरेका उनको नेपाल काउन्सिल दर्ता नम्बर ४३७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?