+
+

मानवीरलाई ओलीको ‘हेभी सरप्राइज’

सइन्द्र राई सइन्द्र राई
२०८१ असार ३१ गते २१:०४

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा मानवीर राईले रक्षा मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

राईले सम्हालेको मन्त्रालयलाई हेभीवेट मन्त्रालय मानिन्छ । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो मन्त्रालयको नेतृत्व अपवादबाहेक सिनियर नेताहरुलाई दिने गरिएको छ । एमालेमै पनि विद्या भण्डारी, ईश्वर पोखरेल लगायत सिनियर नेताहरुले यो मन्त्रालय सम्हालेका थिए ।

तर सोमबार मन्त्रिपरिषद विस्तार हुँदा राष्ट्रिय राजनीति र एमालेभित्र समेत धेरै फराकिलो परिचय नभएका राईलाई प्रधानमन्त्री ओलीले रक्षा मन्त्री बनाए । यो निर्णय राष्ट्रिय राजनीतिलाई मात्र नभएर पहिलोपटक सोलुखम्बुबाट चुनाव जितेर आएका राईलाई समेत सरप्राइज बन्यो ।

‘सांसद भएकाले अलिअलि आश त हुने नै भयो । तर हिजो साँझसम्म मन्त्री बन्नै कुरै थिएन’, उनी निकट स्रोतले भन्यो । राईलाई मन्त्री बन्नेमा आश नहुनुको कारण सार्वजनिक प्रचार मुख्य थियो । पार्टी पदाधिकारीहरु नै मन्त्री हुनसक्ने प्रचार भइरहेको थियो ।

पार्टी सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुबीर महासेठ सांसद भएकाले मन्त्री हुन सक्थे । भर्खरै उपप्रधानमन्त्री भएकाले महासेठ नहुँदा पनि अरु सचिवहरु स्वभाविक दाबेदार थिए । अझ योगेश र छबिलालको पक्कापक्की भएको सूचना आइरहेको थियो ।

स्थायी कमिटी र पोलिटब्यूरोमै रहेका धेरै सांसदहरु मन्त्रीको आकांक्षी थिए । ‘ठूलो पार्टी भएकाले मन्त्री बन्न सजिलो छैन । तर एकजना भलादमी र इमान्दार कार्यकर्तालाई पार्टी अध्यक्षले मन्त्री बनाउनुभयो’, सोलुखम्बुकै नेता बुद्धिकुमार राजभण्डारी भन्छन् ।

एमालेभित्र नेताहरुको पंक्ति हेर्दा पनि राईलाई कार्यकर्ता नै मान्न सकिन्छ । भलै उनी एमाले केन्द्रीय सदस्य हुन् । तर झण्डै साढे तीन सय पुग्न लागेको केन्द्रीय कमिटीमा राईलाई धेरैले नचिन्नु पनि स्वभाविक हो ।

किनकि उनले अहिलेसम्म राष्ट्रिय राजनीतिले चिन्नुपर्ने गरी कुनै जिम्मेवारी लिएका थिएनन् । त्यसैले मन्त्री बन्ने आशा पनि बलियो थिएन ।

‘बिहान साढे ८ बजेतिर प्रधानमन्त्रीको फोन आयो, खुल्ने दौरा सुरुवाल लगाएर शितल निवास आउनु भन्नुभयो’, राईको सचिवालय स्रोतले भन्यो, ‘पार्टी अध्यक्षले फोनमा यति भनेपछि मन्त्री भइन्छ भन्ने ढुक्क भयो । तर कुन मन्त्रालय भन्ने तोकिएको थिएन ।’

उनका अनुसार प्रधानमन्त्रीको फोन आएपछि समाचारहरुमा राईले आफ्नो नाम रक्षा मन्त्रीमा देखेका थिए । ‘पहिला त होइन जस्तो लागेको थियो । किनकि मन्त्री बनाइदिनुपर्‍यो भनेर कसैलाई भनेको थिएन । अझ रक्षा नै भनेपछि ठूलै सरप्राइज भयो’, राईको सचिवालय स्रोतले भन्यो ।

राईले छिचोलिरहेको प्रतिकुलता

कोशी प्रदेशसभा सदस्य रहेका राजभण्डारी, मानबीर राई रक्षा मन्त्री बन्दा सोलुखम्बुका एमालेहरुमा ठूलो खुशी आएको बताउँछन् ।

‘पुतलीसडकबाट सिंहदरबार कता पर्छ भन्ने थाहा नपाउने एमालेलाई भोट नहाल्नु भनेर बलबहादुर केसीले भन्थे, आज सिंहदरबारभित्रै महत्वपूर्ण मन्त्रालयको नेतृत्व एउटा जनताको छोराले लिएको छ’, राजभण्डारी भन्छन् ।

सोलुखम्बु (ख) का प्रदेशसभा सदस्य राजभण्डारीले यस्तो प्रतिक्रिया जनाउनुसँग नवनियुक्त मन्त्री राईको पृष्ठभूमिसमेत प्रष्ट हुन्छ । किनकि सोलुखम्बुमा सधैं कांग्रेससँग र बलबहादुर केसीसँग एमाले उम्मेदवार पराजित हुने गरेको थियो । तर २०७९ को चुनावमा केसीलाई नै हराएर मानवीर राई प्रतिनिधि सभा सदस्य निर्वाचित थिए ।

अझ कांग्रेस नेता केसीलाई माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनको समर्थन रहँदा राईले एमालेबाट जिते । १९ हजार ३२४ मत ल्याएर राईले जित्दा केसीले १६ हजार ५४५ मत मात्र ल्याएका थिए । यो नतिजा आफैंमा सरप्राइज थियो ।

किनकि सोलुखम्बुमा कांग्रेसपछि चुनाव जितेको इतिहास माओवादीसँग थियो । दश वर्षे सशस्त्र संघर्षपछि संसदीय राजनीतिमा आएको माओवादीबाट २०६४ सालमा गोपाल किराँती र २०७४ मा हेमराज राईले चुनाव जितेका थिए ।

गोपाल किराँतीले माओवादीको लहर चल्दा जितेका थिए भने एमालेसँग गठबन्धन गर्दा २०७४ मा हेमराजले जितेका थिए । तर २०४८ साल यताका कुनैपनि संसदीय चुनाव एमालेले जितेको थिएन ।

कतिसम्म भने सोलुखम्बुमा एमाले राजनीति गरेर कसैले पनि ‘संसद् भवन र सिंहदरबार नदेख्ने’ टिप्पणी समेत हुने गरेको थियो । संभावना नेदेखेरै कतिपयले एमाले छोडेर अरु पार्टी रोजिसकेका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य चुनावमा एमालेबाट सोलुखम्बुमा उम्मेदवार बनेका आङनिमा लामाले समेत पार्टी छोडेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा उम्मेदवार बनेका बुद्धिकुमार राजभण्डारी २०७४ सालपछि प्रदेशसभामा झरेका थिए । अझ २०७९ को चुनाव लड्न एमाले उम्मेदवारलाई सजिलो थिएन । एमाले फुटेर बनेको एकीकृत समाजवादी सहित पाँच दलीय गठबन्धनविरुद्ध छिमेकी जिल्लाहरु भोजपुर, खोटाङ, ओखलढुंगा लगायत जिल्लामा एमाले उम्मेदवार पराजित भएका थिए । तर यस्तो प्रतिकुल पृष्ठभूमिमा सोलुबाट मानवीरले प्रतिनिधि सभा सदस्य जिते, त्यो पनि पटकपटक मन्त्री भएका बलबहादुर केसीविरुद्ध ।

‘धेरै पेढेपढेका मान्छे होइनन्, तर इमान्दार र प्रतिबद्ध मान्छे हो । आज त्यसैको सफलता मिल्यो’, उनलाई नजिकबाट चिन्ने अर्का एक नेता भन्छन् ।

राईको पृष्ठभूमि पनि औसत देखिन्छ । माप्य दूधकोशी गाउँपालिका–२, राईले पञ्चायतबाटै एमालेको राजनीति थालेका थिए । २०४८ सालमा अनेरास्ववियु सोलुखम्बुका उपसचिव बनेका राई २०५४ सालमा जिविस सदस्य निर्वाचित भएका थिए । जननिर्वाचित भएको यो नै उनको पहिलो पद थियो ।

त्यसपछि भएका चुनाव उनले लडेनन् । नेताहरुका अनुसार, पाएकै अवसर पनि राईले छोडेका थिए । जस्तो– माओवादीसँग गठबन्धन भएको २०७४ मा सोलुखम्बु (क) बाट राई उम्मेदवार बन्न सक्थे । तर उनले उत्तम बस्नेतलाई छोडे, र बस्नेतले जिते पनि ।

तर पार्टीमा लागिरहे । जिल्ला कमिटी सदस्य हुँदै २०७० मा कार्यबाहक जिल्ला अध्यक्ष भए । तत्कालीन जिल्ला अध्यक्ष आङनिमा लामा सांसदको उम्मेदवार भएपछि राई कार्यबाहक अध्यक्ष भएका थिए ।

यसको चार वर्षपछि पार्टी अध्यक्ष भए । २०७८ को दशौं राष्ट्रिय महाधिवेशनबाट राई केन्द्रीय सदस्य भए । अहिले उनलाई सोलुखम्बु इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पार्टीले लगातार ठूलो जिम्मेवारी दिइरहनुमा उनी नेतृत्वको सोलु एमालेले निकालेको सफलता पनि कारण देखिन्छ । देशभर एमाले अप्ठ्यारोमा पर्दा सोलुका एमाले नेता सोनाम गेल्जेन शेर्पाले अढाइ वर्ष अगाडि राष्ट्रिय सभा सदस्य जितेका थिए ।

प्रदेश सभा सदस्य र पालिका पदाधिकारीले मत हाल्ने राष्ट्रिय सभा चुनावमा शेर्पाले एमालेका जनप्रतिनिनिधि बाहेकका समेत मत पाएर जितेका थिए । यसपछि आमचुनावमा मानवीर राईले प्रदेश सभा सदस्य जित्दा सोलुखम्बु (ख) बाट बुद्धिकुमार राजभण्डारीले दोस्रोपटक प्रदेश सभा सदस्य जितेका छन् । तर अर्को क्षेत्रबाट उत्तम बस्नेत पराजित भएका थिए ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?