+
+

सेयर कारोबारमा अब ब्रोकर कम्पनीकै ‘टीएमएस’, के हुन्छ नयाँ सुविधा ?

साउनभित्रै केही ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने तयारी गरेका छन् । अहिले सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ ।

कमल नेपाल कमल नेपाल
२०८१ साउन १ गते ९:१७

१ साउन, काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन् । त्यहीं टीएमएसमार्फत लगानीकर्ताले खरिदबिक्री गर्छन् । अब साउनभित्रै केही ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने तयारी गरेका छन् । अहिले सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ ।

‘संसारभरि नै कारोबार प्रणाली ब्रोकर कम्पनीकै हुन्छ, हामीले अस्थायी रूपमा अहिले टीएमएस दिएका हौं,’ नेप्से प्रवक्ता मुराहरि पराजुलीले भने, ‘ब्रोकर कम्पनीहरूले आफ्नै टीएमएस प्रयोग गर्नुपर्छ, त्यसो हुँदा आधुनिक प्रविधि अवलम्बनमा उनीहरूबीच प्रतिस्पर्धा पनि हुन जान्छ ।’

हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क ब्रोकर कम्पनीलाई औसतमा करिब १५ हजारजति पर्न आउँछ । यसले ब्रोकर कम्पनीलाई आर्थिक फाइदाका साथै चाहेका बेला आफैंले टीएमएस विकास गर्दै लैजान सक्छन् ।

३३ ब्रोकर कम्पनीले डीजीहब कम्पनीमार्फत नयाँ टीएमएस खरिद गर्ने तयारी गरेका छन् । यद्यपि, अरू ब्रोकर कम्पनी पनि क्रमशः जोडिँदै जाने छन् । डीजीहबले श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई पूर्णतयार गरी हस्तान्तरण गर्ने डीजीहबका एक अधिकारीले बताए ।

नयाँ टीएमएस परीक्षण कार्य करिब सकिएको र केही दिनमै नेप्सेसँग परामर्श गरी ‘लाइभ’ सञ्चालन गर्ने तयारी भएको सेक्योर्ड सेक्युरिटिज अध्यक्ष सन्तोष मैनालीले बताए । ‘साउन महिनामै नयाँ टीएमएसबाट कारोबार हुने गरी तयारी भएको छ, परीक्षण सफल भइसकेकाले अब लाइभको अनुमति लिने कार्य अघि बढ्ने छ,’ उनले भने ।

जोखिम व्यवस्थापन छिटो र सहज गर्न सकिने भएकाले नयाँ टीएमएस सेवा चुस्त दुरुस्त हुने उनले बताए । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा रहेको उनले बताए ।

मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले सेयर किनबेच गर्न सकिने उनले बताए । ‘ग्राहकलाई चलाउन सहज हुने गरी थप सुविधा सहित टीएमएस बनेको छ,’ मैनालीले भने, ‘सुरु–सुरुमा चलाउने तरिकाबारे हामीले भिडियो बनाएर सार्वजनिक गर्छौं, ग्राहकले त्यही भिडियोबाट नयाँ टीएमएस चलाउन सिक्नेछन् ।’

ग्राहकले कारोबारका लागि मात्रै टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन नपर्ने उनले स्पष्ट पारे । नयाँ टीएमएसमा चार्ट तथा डाटा सहित स्तरीय सेवा सुविधा उपलब्ध हुनेछ ।

ती सुविधा प्रयोग बापत भनेपछि ब्रोकर कम्पनीले शुल्कसमेत लिन सक्नेछन् । यद्यपि, यसबारे अहिले कुनै निर्णय भइनसकेको ब्रोकर कम्पनी बताउँछन् । धितोपत्र कारोबार नियमावलीमा कारोबार तथा त्यससम्बन्धी सेवा पुर्‍याए बापत ब्रोकर कम्पनीले शुल्क लिन पाउने व्यवस्था छ ।

त्यस्तै नासा सेक्युरिटिजसहित केही ब्रोकर कम्पनीहरूले छुट्टाछुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका छन् । नासाले छुट्टै टीएमएस एस्टेरिस्क टेक्नोलोजी मार्फत खरिद गरेको छ । भारतको डिओन ग्लोबल सोलुसनले बनाएको टीएमएस नासाले प्रयोग गर्ने प्रबन्ध सञ्चालक मदन पौडेलले बताए ।

‘अहिले सिस्टममा यूएटी (युजर एसेप्टेन्स टेस्टिङ) चरणको काम भइरहेको छ, ३० दिनको यूएटी मध्य साउनमा सकिन्छ त्यसपछि मात्रै सिस्टम लाइभमा आउने हो,’ उनले भने ।

ग्राहकलाई थप सेवा सुविधा दिन नै आफूहरूले छुट्टै टीएमएस सञ्चालन गर्न लागेको उनले बताए । छुट्छाछुट्टै टीएमएस लिँदा ब्रोकरबीच पनि आधुनिक प्रविधिमा प्रतिस्पर्धा हुन जाने र यसले समग्र बजारको विकासलाई टेवा पुग्ने ब्रोकर कम्पनी बताउँछन् ।

के–के सुविधा हुन्छ नयाँ टीएमएसमा ?

हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि धितो (कोल्याटरल) लोड त गर्न सक्छन्, तर कोल्याटरको विवरण सही रूपमा देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ । बाँकी रहेको कोल्याटरल ग्राहक आफैंले सिधै आफ्नो बैंक खातामा ट्रान्सफर पनि गर्न सक्ने व्यवस्था मिलाउन सकिने पौडेलले बताए ।

त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन÷दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

‘नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको एनलाइसिस गर्न सकिने छ, प्राविधिक विश्लेषणका विभिन्न टुल्स उपलब्ध हुनेछ,’ पौडेलले भने । त्यस्तै लगानीकर्ताले टीएमएसबाट आफ्नो पोर्टफोलियो पनि विस्तृत सही रूपमा हेर्न सक्ने उनले बताए ।

टीएमएसमा केही समस्या देखिए पनि तुरुन्तै हल गर्न सकिने ब्रोकर कम्पनी बताउँछन् । कारोबारका थप औजार विकास भए ती औजार पनि टीएमएसमा समेट्दै चाहे अनुसार ब्रोकर कम्पनीले नै स्तरोन्नति गर्दै लैजान सक्ने छन् ।

‘नयाँ टीएमएसमा चार्ट हेरेर धितोपत्र खरिद–बिक्रीको रणनीति पनि बनाउन सकिन्छ, आफ्नो कारोबार विवरण पनि हेर्न सकिन्छ,’ पौडेलले भने ।

नयाँ टीएमएसमा ब्याकअप कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिने छ । हालको टीएमएसमा दिनभरि भएको कारोबार त देखिन्छ, तर त्यो पहिलेको कारोबारसँग जोडिएको हुँदैन, एकमुष्ठ हिसाबकिताब हेर्न सकिँदैन ।

विगत लामो समयसम्म भएको कारोबार तथा हिसाबकिताब, आफ्नो पोर्टफोलियो विभिन्न चार्ट र प्राविधिक एनलाइसिसका टुल्स सही रूपमा देखिने भएपछि लगानीकर्तालाई छुट्टै एप वा वेब हेरिरहन पर्दैन ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?