+

उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

२०८१ साउन  १ गते ११:२७ २०८१ साउन १ गते ११:२७
उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

उच्च रक्तचाप हुनुका पछाडि विभिन्न कारण हुन्छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार खानपानलाई पनि मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले पनि ‘ड्यास डाइट’ डाइट प्लान सुझाएको छ । जसले खानपानको मद्दतबाट कसरी उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने सुझाव दिन्छ ।

‘ड्यास डाइट’ले सम्पूर्ण अन्न, रंगीन फलफूल र तरकारी खान सल्लाह दिन्छ, किनकि त्यसमा प्रशस्त  मात्रामा एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्स हुन्छ ।

पछिल्लो समय खानपानका कारण उच्च रक्तचापको समस्या बढेको चिकित्सकहरू पनि बताउने गर्छन् । हामीले खाने कतिपय खानेकुरा यस्ता छन्, जसले रक्तचाप बढाउँछ । तर मात्रा र सन्तुलन मिलाएर खाएमा समस्यालाई नियन्त्रण पनि गर्न सकिन्छ । यसरी खानुपर्छ, जसले पोषण प्राप्त होस् विकार होइन । यस्तोमा उच्च रक्तचाप बढाउन र नियन्त्रण राख्नमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ ।

रक्तचाप बढ्नुमा यी खानपानको हुन्छ भूमिका

म्याग्नेसियमको कमीले उच्च रक्तचापको जोखिम बढाउँछ । म्याग्नेसियमको कमी हुने बित्तिकै क्याल्सियममा वृद्धि आई रक्तनलीहरूलाई साँघुरो बनाएर रक्तचाप बढाउँछ ।

बढी नुन प्रयोग गरियो भने यसमा पाइने सोडियमले उच्च रक्तचाप र मुटुको रोगको जोखिम बढाउँछ । सामान्य रूपमा बुझ्दा रगतमा जति बढी सोडियम भयो त्यति नै बढी पानी यसले रक्त धमनीमा तान्छ ।

यसले रक्तचाप बढाउँछ र त्यसपछि हृदयघात र मस्तिष्कघातको खतरा पनि बढाउँछ । अत्यधिक चिल्लो, तारेको–भुटेको खानेकुरा पनि मोटोपन र उच्च रक्तचापको कारण बन्न सक्छ । रक्सी, चुरोट, प्याकेट बन्द खानेकुराले पनि उच्च रक्तचापको जोखिम बढाउँछ ।

उच्च रक्तचाप बढ्नुमा मोटोपन पनि एउटा कारण हुनसक्छ । मोटोपन भनेको शरीरमा बोसो बढ्नु हो, जब शरीरमा बोसो बढ्छ, त्यसले रक्तप्रवाह गर्ने नसा साँघुरो बनाइदिन्छ । यसरी नसा साँघुरो भएपछि मुटुको कार्य सञ्चालन कठिन हुन्छ । नतिजा, रक्तचाप बढ्न सक्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने खानेकुरा

पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानुपर्छ । दूध, दही र मोहीमा क्याल्सियम हुन्छ जसले रक्तचापलाई  नियन्त्रण गर्न मद्दत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन्, जुन गलत हो । उच्च रक्तचाप भएकाहरूमा पनि नुन आवश्यक हुने भएकाले नुन खानुपर्छ तर यसको मात्रा घटाउनुपर्छ ।

म्याग्नेसियमको कमीले रक्तचापको समस्या निम्तिने भएको म्याग्नेसियमयुक्त खानेकुराको सेवन गरेर रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । हामीले म्याग्नेसियम खानेकुरा मार्फत पाउँछौं । केरा, ब्रोकाउली, सिमी काजु,  बदाम, एभोकाडो, माछा, ओक्खर, हरियो सागपात, गेडागुडी, फर्सीको बीउ, भटमास, तिल, तोफु लगायत खानेकुरा म्याग्नेसियमका प्रमुख स्रोत हुन् ।

ग्रिन टी, करेला जस्ता तीतो खानेकुराले पनि रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयका लागि मात्र हुन्छ । त्यस्तै, म्याग्नेसियमले रगतको नसालाई लचिलो र फराकिलो बनाउँछ र चाप कम गराउँछ । तर खानुअघि चिकित्सकको सल्लाह भने लिनुपर्छ ।

चिकित्सकले औषधि खान सुझाएका छन् भने त्यो नियमित रुपमा खानुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिंडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ ।

अनुश्री आचार्य उच्च रक्तचाप खानपान
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?