+
+

दिनेश डीसीदेखि करिश्मासम्म चलचित्र विकास बोर्ड अध्यक्षका आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १२:३५

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल साउन ८ मा सकिंदैछ । कार्यकाल सकिन एक साता बाँकी रहँदा अध्यक्ष पदलाई लिएर सत्तारुढ एमाले निकट फिल्मकर्मी आकांक्षी देखिएका छन् ।

कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको र चलचित्र विकास बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एमालेकै मन्त्री भएकाले एमाले निकट फिल्मकर्मी आकांक्षीको रुपमा बढी देखिएका छन् ।

गत महिना प्रचण्ड नेतृत्वको सरकार छँदा माओवादी निकट फिल्मकर्मीले अध्यक्ष बन्न लबिङ तीव्र पारेका थिए । परिस्थिति फेरिएपछि एमाले निकट फिल्मकर्मीले अध्यक्षका लागि सक्रियता बढाएका छन् ।

यो दौडमा सबैभन्दा चर्चामा सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी छन् । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहेका डीसी मुख्य आकांक्षी हुन् । स्रोतका अनुसार पार्टीले समेत डीसीलाई अध्यक्षको लागि सिफारिस गरेको छ । तर यसबारे उनले बोल्न चाहेनन् । एमालेको साधारण सदस्य समेत रहेका डीसीले अघिल्ला अध्यक्षहरु केशव भट्टराई र दयाराम दाहाललाई सिफारिस गराउन पनि भूमिका खेलेका थिए ।

‘पार्टीले जिम्मा दियो भने खुसीसाथ जान्छु । पार्टीले जे काम गराउँछ, त्यो काम गर्छु,’ डीसीले अनलाइनखबरसँग भने । यतिबेला बक्स अफिस, फिल्म नीति, बजार व्यवस्थापनसहितका ज्वलन्त मुद्दा समाधान गर्न सक्ने व्यक्ति बोर्ड नेतृत्वको रुपमा जानुपर्ने उनको धारणा छ । ‘जागिर खाने मान्छे त्यहाँ जानुहुँदैन,’ उनले भने ।

अभिनेत्री करिश्मा मानन्धरले पनि अध्यक्षका लागि आफू पनि इच्छुक रहेको बताइन् । ‘मैले लबिङ त गरेकी छैन तर पार्टीले जिम्मा दियो भने काम गर्न तयार छु,’ उनले भनिन्, ‘चलचित्रकर्मीको नाताले म इच्छुक छु ।’

जो नेतृत्वमा गएपनि बोर्डमा महिलामैत्री नियम बन्न जरुरी रहेको अभिनेत्री मानन्धरको भनाइ छ । बोर्ड अध्यक्षको आकांक्षीमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, संघका पूर्वसदस्य तथा फिल्म निर्माता अर्जुन कुमार, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापाको नाम पनि चर्चामा छ । यसअघि बोर्ड सदस्य भइसकेका केही कलाकारले पनि आकांक्षा राखेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?