+
+

‘सरफिरा’ बन्यो अक्षय कुमारको लगातार नवौं फ्लप फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १३:०९

काठमाडौं । शुक्रबार अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सरफिरा’ रिलिज भयो । ठूलो बजेट र स्टार कास्टका बाबजुद पनि फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन ।

फिल्मले पहिलो दिन २.५ करोड, शनिबार ४.२५ करोड र आइतबार ५.२५ करोड भारु कमायो । सप्ताहन्तको अन्त्यसम्ममा कुल १२ करोड भारु कलेक्सन गरेको छ ।

अक्षय जस्ता स्टारका लागि यो दयनीय कमाइ हो । पछिल्लो समय अक्षयका सबै फिल्म लगातार असफल भइरहेका छन् । कमाइ हेर्दा ‘सरफिरा’लाई उनको नवौं फ्लप मान्न सकिन्छ ।

गत वर्ष अक्षय ‘ओएमजी २’ मा छोटो भूमिकामा देखिएका थिए, जुन हिट पनि भयो । तर यो फिल्मको मुख्य भूमिका पंकज त्रिपाठीले निर्वाह गरेका थिए । यसबाहेक अक्षयका सबै फिल्म बक्स अफिसमा असफल भएका छन् ।

सन् २०२१ मा अक्षयको फिल्म ‘सूर्यवंशी’ निकै हिट भयो । तैपनि अतरंगी रे, बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, कट्पुतल्ली (ओटीटीमा रिलिज), राम सेतु, सेल्फी, ओएमजी २, मिसन रानीगञ्ज, बडे मियाँ छोटे मियाँ, अब सरफिरा जस्ता फिल्म फ्लप भएका छन् ।

ओटीटीमा रिलिज भएका ‘कट्पुतल्ली’ र ‘ओएमजी २’ बाहेक ‘सरफिरा’ पछिल्ला चार वर्षमा अक्षयको नवौं फ्लप फिल्म हो ।

वरिष्ठ पत्रकार भारती दुबे भन्छिन्, ‘अक्षयले गरिरहेका धेरैजसो फिल्म कोभिड–१९ महामारी अघि वा त्यस समयमा साइन गरिएका थिए । हामी सबैलाई थाहा छ, कोभिडपछि फिल्म र दर्शकको रुचि परिवर्तन भएको छ ।’

उनी अगाडि भन्छिन्, ‘अक्षयले धेरै फिल्ममा राम्रो अभिनय गरेपनि ती फिल्मले राम्रो कमाइ गर्न सकेका छैनन् । दोस्रो, मलाई लाग्छ अक्षयले रिमेकबाट बच्नुपर्छ किनभने तिनीहरूको मौलिक संस्करण ओटीटी वा युट्युबमा रिलिज भइसकेका छन् र दर्शकले हेरिसकेका छन् । भाषा जुनसुकै भएपछि यसले रिमेक फिल्मलाई असर गर्छ ।’

फिल्म ट्रेडविज्ञ गिरीश वानखेडे फिल्म असफल हुनुको तीन कारण बताउँछन् । उनी भन्छन्, ‘ओटीटीमा आइसकेका फिल्ममा दर्शकले किन चासो राख्छन् ? दोस्रो– फिल्मको मार्केटिङ र प्रचार एकदमै कमजोर रह्यो । अक्षयसँग कुनै अन्तर्वार्ता वा प्रेस सम्मेलन थिएन र फिल्मको बारेमा कुनै चर्चा थिएन । यदि अक्षय कुमारको फिल्मको पहिलो दिनको कलेक्सन मात्र २.५ करोड भारु मात्र हुन्छ भने यसले उनको स्टार पावरमाथि प्रश्न उठाउँछ ।’

अगस्ट १५ मा अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ रिलिज हुँदैछ । तर, यो फिल्मको चर्चा पनि छैन । सोही दिन जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ पनि एकै दिन रिलिज हुँदैछ, जसले फिल्मको ब्यापारलाई प्रभावित तुल्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?