+
+

नागरिक लगानी कोषले थप १.२५ प्रतिशत प्रतिफल दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १४:५२

१ साउन, काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई नियमित ब्याजका अलवा आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने कम्पनीले जनाएको छ ।

यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागी लाभान्वित हुनेछन् । कोषका अनुसार करिब १ अर्ब ६६ करोड रुपैयाँ थप लाभांश प्रदान हुनेछ ।

कोषको ब्याजदर परिवर्तन, कुन योजनाको कति ?

कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको १ साउनदेखि ब्याजदर परिवर्तन भएको छ ।

परिवर्तित ब्याजदर अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर ८. ५ प्रतिशत थियो ।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकास कोष योजनामा ५.५०, नार्क बीमा कोषमा ६ र राष्ट्र सेवक जीवन बीमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ ।

यसअघि शैक्षिक कर्जामा ९.५०, आवास कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरूलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रैमासमा पुनरावलोकन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?