+
+

सहकारी सञ्चालकहरुसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १९:५२

१ साउन, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

समिति सभापति सूर्यबहादुर थापाका अनुसार देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमुलक छलफल गर्न लागिएको हो ।

‘राम्रा सहकारीहरु पनि छन् । उनीहरुसँग प्रतिनिधिमुलक रुपमा छलफल गर्न लागिएको छ’ सभापति थापाले भने ।

उनका अनुसार देशभरीबाट राम्रो सहकारी संचालन गरिरहेकाहरुलाई बोलाउने तय भएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाएको छ ।

मंगलबार बसेको समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ ।

समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ ।

विभिन्न निकायहरूसँग क्रस डिस्कसन मिटिङ र सहकारी संसथाहरूका लेखापरीक्षकहरूको अनुभवमा आधारित छलफल गर्ने निर्णय समेत भएको सभापति थापाले जानकारी दिए ।

गत जेठ १५ गते प्रतिनिधि सभाले थापाको नेतृत्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन गरेको थियो ।

समितिमा एमालेबाट सभापति थापा र सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिका सदस्य बद्री पाण्डे सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भए । यो सँगै समितिमा एक सदस्य रिक्त भएको छ । यसमा अर्को सांसदलाई पठाउने कांग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?