+

३०० दिनमा पूरा होला त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट ?

२०८१ साउन  १ गते २०:०७ २०८१ साउन १ गते २०:०७
३०० दिनमा पूरा होला त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट ?

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले सोमबार त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सक्ने निर्णय गर्‍यो । तर फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषदले गरेको बोलपत्र भने तेस्रो पटक पनि रद्द हुने अवस्थामा पुगेको छ ।

पछिल्लो पटक राखेपले ११ वैशाख २०८१ मा पहिलो पटक बोलपत्र आह्वान गरेको थियो । राखेपको पूर्वाधार शाखामा आरसीपीएल– एसएमएस जेभी, सूर्योदय –बुद्धिराज जेभी, एमएसआईपीएल–एएससी पावर जेभी र वानी इन्फोटेक– कार्की बन्धु जेभीले राखेपमा निवेदन पेश गरेका थिए । तर सबै कम्पनी अयोग्य ठहरिएको स्रोतको दाबी छ ।

‘चार कम्पनीमध्ये कुनैले पनि हामीले दिएको मापदण्ड पूरा गर्न नसक्दा यो टेन्डर पुनः अयोग्य भएकाले यसमा पुनरावलोकन समिति गठन गरेर छानबिन हुनेछ’, राखेप पूर्वाधार शाखाका एक अधिकारीले बताए ।

यसअघि पनि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भइसकेका छन् ।

पहिलो पटक ४ वैशाख २०८० मा राखेपले आह्वान गरेको बोलपत्रमा ५ वटा कम्पनीले निवेदन दिएका थिए । तर मूल्यांकन समितिले सबैलाई अयोग्य ठहर्‍याएको थियो ।

दोस्रो पटक साउन २०८० मा पनि बोलपत्र आह्वान गरियो । ५ वटा कम्पनीले निवेदन दिएकामा २१ कात्तिक २०८० मा एमएसआइपीएल–एएससी पावर जेभी फ्लडलाइट निर्माणका लागि छनोट भयो । तर उक्त बोलपत्रमा छनोट नभएका ४ कम्पनीले पूर्वाग्रह राखेर कम्पनी छनोट गरिएको भन्दै पुस २०८० मा सार्वजनिक खरिद अनुगमन कार्यलयमा निवेदन दिएका थिए ।

त्यसपछि कार्यालयले पुनः मूल्याङ्कन गर्न निर्देशन दिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त निर्देशनविरुद्ध टेण्डर पाएको कम्पनी एमएसआइपीएल–एएससी पावर जेभीले १९ पुस २०८० मा उच्च अदालतमा रिट दिएको थियो । १६ फागुन २०८० मा उच्च अदालतले टेण्डर रद्द गर्न आदेश दिएपछि दोस्रो पटकको टेण्डरबाट पनि कुनै कम्पनी छानिएनन् ।

१३ वैशाख २०८१ मा बोलपत्र आह्वान गरिएको डिजिटल स्कोर बोर्डको काम भने धमाधम भइरहेको छ । डिजिटल स्कोर बोर्ड निर्माणको जिम्मा पञ्चकन्या/हिमालयन जेभीले पाएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ अहिलेको बोलपत्र रद्द भएमा पुनः अर्को बोलपत्र आह्वान गर्ने बताउँछन् । ‘यो टेन्डर रद्ध भए हामी अर्को टेन्डर आह्वान गर्छौं, अब टेण्डर गर्दा २१ दिनको समयसीमा हुनेछ’, उनले भने ।

मन्त्रिपरिषदले ३०० दिनभित्र फ्लडलाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरे पनि यो चुनौतीपूर्ण छ । किनकी प्यारापिट निर्माणका लागि बजेटको बन्दोबस्त भएको छैन र बोलपत्र आह्वान गरिएको छैन ।

राखेप सदस्य सचिव घिसिङ प्रधानमन्त्रीले चाहेमा बन्न सक्ने बताउँछन् । ‘फ्लड लाइट र स्कोर बोर्ड बन्छ । प्यारापिटको लागि अहिलेसम्म बजेट तोकिएको छैन । त्यसकारण भन्न सकिँदैन । तर सम्माननीयज्यूले भनिसकेपछि बजेट पनि अवश्य हुनेछ’, उनले भने ।

घिसिङका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले अलग अलग ब्लक बनाएर सम्झौता गर्ने प्रस्ताव ल्याएको थियो । ‘त्यसो भएको खण्डमा ३०० दिनमा काम पूरा हुन सक्छ’, उनले अनलाइनखबरसँग भने ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

क्रिकेट त्रिवि क्रिकेट मैदान फ्लडलाइट

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय