+
+

वीर अस्पतालमा दुई दिन अपरेसन ठप्प

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ साउन १ गते २०:१९

१ साउन, काठमाडौं । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकले दुई दिन अपरेसन रोकेका छन् ।

जोखिम भत्ता नपाएको विषय उठाएर एनेस्थेसिया चिकित्सकहरु आइतबार र सोमबार अपरेशन थियटरमा काम गर्न गएनन्, जसले ८० वटा शल्यक्रिया रोकिएको छ ।

‘आकस्मिक रुपमा हुने केही शल्यक्रिया भयो, तर एनेस्थेसिया विभागले सेवा अवरुद्ध गर्दा योजना बनाइएका कुनै पनि अप्रेशन हुन सकेन’, एक वरिष्ठ शल्यचिकित्सक अनलाइनखबरसँग भने ।

अस्पताल प्रशासनलाई जानकारी समेत नदिएर अपरेसन रोकेको वीरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । ‘अस्पताल प्रशासनलाई जोखिम भत्ताको विषयमा कुनै लिखित जानकारी थिएन । एकाएक आइतबार बिहान सेवा अवरुद्ध भएको सूचना प्राप्त भयो’, डा. पौडेलले भने, ‘चिकित्सकको पेसागत मर्यादालाई कायम राख्न सक्नुभएन ।’ जोखिम भत्ताको मागबारे आइतबार दिँउसो छलफल गर्ने गरी सेवा सञ्चालन गर्न अनुरोध गर्दा नमानेको उनको गुनासो छ ।

सरकारले एनेस्थेसिया चिकित्सकको सेवा सुविधा कम भएको भन्दै प्रोत्साहन स्वरुप १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँदै आएको थियो । करारमा भएको चिकित्सकलाई भने अस्पताल प्रशासनले आन्तरिक स्रोतबाट भत्ता दिँदै आएको थियो । पछिल्लो समय त्यो भत्ता कटौती भएको थियो ।

त्यसको विरोधमा एनेस्थेसिया चिकित्सक अपरेसन थिएटरमै नगएका हुन् । शल्यक्रियाका लागि लामो समयदेखि बिरामीले पालो लिएर बसेका छन् । एकाएक अपरेसन स्थगित हुँदा उनीहरु निकै मर्कामा परेका छन् ।

अस्पताल प्रशासनले पनि एनेस्थेसिया विभागीय प्रमुख डा. रबिराम श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । बिना जानकारी अपरेसनजस्तो संवेदनशील स्वास्थ्य सेवाहरु अवरुद्ध गरेको भन्दै डा. श्रेष्ठलाई सोमबार नै लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

नेपाल संविधानले सुनिश्चित गरेको अत्यावश्यक स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई हनन गरेको र कानूनले बर्जित गरेको –(नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ६२) को गतिविधिमा संलग्न भएकोले कानुन अनुसार किन कारबाही गर्न भन्दै निर्देशकले पत्र काटेका थिए ।

‘के कति कारणले उक्त गतिविधिमा संलग्न हुनुभएको हो ? यहाँहरुलाई कानून अनुसार कारवाही किन नगर्ने ? स्पष्ट खुलाई आज (सोमबार) कार्यालय समय भित्र लिखित जवाफ पेश गर्नुहुन जानकारी गराइन्छ,’ अस्पताल निर्देशक डा. सन्तोष पौडेलले पत्रमा भनेका छन् ।

अस्पताल प्रमुखले कारबाहीका लागि पत्र काटेपछि एनेस्थेसिया विभागका चिकित्सकहरु सम्वादमा आएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, अस्पताल निर्देशक डा. सन्तोष पौडेल, एनेस्थेसिया विभागका चिकित्सक सोमबार साँझ छलफलमा बसेका थिए । अस्पताल प्रशासनले यही हप्ता जोखिम भत्ता पठाउने बताएपछि मंगलबारबाट सेवा सञ्चालन भएको छ ।

‘उहाँहरुले जोखिम भत्तालाई लिएर सेवा अवरुद्ध गर्नुभएको रहेछ । छलफलबाट अहिलेको लागि सेवा सञ्चालन गर्न वातावरण बनाएका छौं,’ डा. बस्नेतले भने ।

एनेस्थेसिया विभागीय प्रमुख डा. रबिराम श्रेष्ठले भने यसबारे केही बताउन चाहेनन् । ‘के जानकारी लिनुपर्ने हो अस्पताल प्रशासनबाट लिनुहोला’, डा. श्रेष्ठले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?