+
+
व्यक्तिवृत्त :

मदन पुरस्कार विजेता प्रथम उपन्यासकार लीलाध्वज थापा

गोविन्द गिरी 'प्रेरणा' गोविन्द गिरी 'प्रेरणा'
२०८१ साउन २ गते ७:२५

नेपाली वाङ्मयजगतमा सबैजसो साहित्यकारले पाउन लालायित पुरस्कार हो– मदन पुरस्कार। २०१३ सालदेखि वितरण गर्न थालिएको यो पुरस्कार २०१४ सालमा ‘मन’ उपन्यासले प्राप्त गरेको थियो। साथै मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यासको रूपमा दर्ता पनि भयो। यसका उपन्यासकार लीलाध्वज थापालाई ‘मदन पुरस्कार विजेता प्रथम उपन्यासकार’को गौरव प्राप्त भयो। एउटा रमाइलो र रोचक संयोग मान्नुपर्छ, मैले जीवनमा पहिलोपल्ट पढेको कुनै उपन्यास यही ‘मन’ नै थियो।

यसको लागि म मेरो स्कुले जीवनमै फर्कनुपर्ने हुन्छ। म हेटौंडामा भुटनदेवी हाईस्कुलमा पढ्दै थिएँ। मेरो जेठो दाजु शम्भुराज गिरी काठमाडौंमा बस्नुहुन्थ्यो र बेलाबखत हेटौंडा मूलघर आइरहनुहुन्थ्यो। यस्तो बेलामा उहाँ नियमित गोरखापत्र किनेर घरमा ल्याउनुहुन्थ्यो। कहिले किताब पनि ल्याउनुहुन्थ्यो र पढ्नुहुन्थ्यो।

एकपल्ट उहाँले यौटा मोटै आकारको किताब ल्याउनुभयो र पढिरहनुभएको थियो। प्रायः पढिसकेपछि ती पुस्तक साथमै काठमाडौं लिएर जानुहुन्थ्यो। तर यसपल्ट त्यो किताब लिएर जान बिर्सनुभएछ। उहाँले छाडेको त्यो किताबमा गोरखापत्रकै जिल्दा हालिएको थियो। मैले त्यो किताबको जिल्दा खोलेर हेरें, त्यो किताब रहेछ ‘मन’ उपन्यास। लेखकको नाम लीलाध्वज थापा।

यसरी मैले साहित्य के हो चाल नपाउँदै, भाषा साहित्यको बारेमा केही जानकारी नभएको बेला ‘मन’ उपन्यास पुस्तकसँग मेरो साक्षात्कार भयो। अनि उपन्यासका लेखक लीलाध्वज थापाको नामसँग परिचय भयो। त्यतिवेलाको फुच्चे मलाई कुनै दिन यिनै लेखकसँग भेट होला, साक्षात्कार होला भन्ने के पत्तो!

किताब हेरें। तर पढेको थिइनँ। स्कुलका मोटा अक्षरका पाठ्यपुस्तक पढ्ने मलाई त्यति सानो अक्षरको त्यति मोटो पुस्तक पढ्ने कुनै आँट थिएन। त्यसमाथि कोर्सको किताब वा उपन्यास पढ्ने कल्पनै गर्न नसकिने बेला थियो। त्यो एक प्रकारको बाल अपराधै मानिने वेला थियो। मैले त्यो किताबको जिल्दा जस्ताको तस्तै हालेर दराजमा थन्क्याएँ। घरका अरू कसैले पनि त्यसमा चासो लिएको पाइनँ।

तर कुन दिन के सुर चल्यो र मैले त्यो किताब पढ्न थालें, मन उपन्यास। चाख लाग्दै गयो। मैले सो उपन्यास लुकीलुकी पढेको थिएँ। कति दिनमा मैले सो उपन्यास सकें सम्झना छैन, तर उपन्यास सकिएपछि मलाई त्यसले निकै दिन रन्थन्याएको अहिले पनि सम्झन्छु। मनको बिहेको लागि जन्ती आउँदा मन भागेकी र मनको साटो उनकी बहिनीलाई बिहे गरिदिएको घटना र रत्यौली खेलेको वर्णन मेरो मानसपटलबाट हराएन होइन, धेरैपछिसम्म झल्झली आइरह्यो। मूल घरको पछिल्तिरको ढोकाबाट मकै बारीबाट सर्याक–सर्याक आवाज निकाल्दै मन भागेकी थिइन्। आफू पनि मकै बारीमा घाँसपातका लागि जाँदा आउने त्यस्तो आवाज मैले उपन्यासको पानामा शब्दमा पाएको थिएँ र मलाई त्यसले प्रभावित तुल्याएको थियो, केटौले मानसिकतामा।

पछि काठमाडौंबाट दाजु फेरि आउनुभएपछि त्यो उपन्यासको खोजी गर्नुभयो। तर मैले पटकपटक पढेर त्यसलाई धुजाधुजा पारिसकेको थिएँ र पानाहरू खुस्किएर किताबको सग्लो रूप बाँकी थिएन। कारण मैले त्यसमा रत्यौली खेलेको वर्णन अनगिन्ती पटक दोहोर्याएर पढें हुँला।

आज यसो याद गर्छु, नेपाली आख्यानमा रत्यौलीको बयान ‘मन’ मा जति जीवन्त रूपमा आएको छ, शायद अरु दृष्टान्त भेट्न मुस्किल होला। हुनत अहिले रत्यौली शब्द नै नयाँ पुस्ताका लागि अनौठो लाग्न सक्छ। बिहेमा रत्यौली खेल्ने परम्परा नै निख्रिंदै गएको छ। बिहेका लागि साँझ बेहुलीको घर पुग्ने र रातभरि बेहुलीको घरमा जन्तीले रमाइलो गर्ने। उता बेहुलाको घरमा रातभरि महिलाहरूले रत्यौली खेल्ने कुरा नै गाउँघरमा कताकतै अल्प रूपमा शेष भए पनि लगभग हराइसकेको छ। तर कालान्तरसम्म ‘मन’ उपन्यासमा भने त्यो रत्यौली संस्कृतिको बयान जीवन्त रहिरहने ठान्दछु।

०००

हेटौंडाबाट एसएलसी सकेर उच्च अध्ययनका लागि काठमाडौं गएपछि र साहित्यमा बामे सर्न थालेपछि नयाँसडकको पीपलबोटको साहित्यिक चौतारीमा पुग्ने एक पात्र बनें म। त्रिपुरेश्वरमा तत्कालीन बेलामा अवस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको आर्थिक प्रशासन महाशाखाको लेखापाल पदमा जागिरे भएपछि त साँझ कामबाट छुटेपछि नयाँसडकमा टहलिन जान सहज भयो। त्यहाँ भेटिने साहित्यकारहरूसँग भेटघाट, कुराकानी, चियापान, पत्रपत्रिकामा रचना दिने, पत्रपत्रिका नि:शुल्क प्राप्त गर्ने थलोको रूप लियो नयाँसडकको पीपल बोटले।

कविता महोत्सवमा सुनाउन लीलाध्वज थापाले पनि कविता लेखिसकेका रहेछन्। हामीलाई उनले सो कविता सुनाए। कवितामा “यो नियोगको…” लगायत शब्दावली थिए र उनी फूर्तिका साथ त्यसलाई “योनी योगको…” भन्दै सुनाइरहेका थिए

हो, यसै ताक दुई साहित्यकारहरूको दर्शन र चर्चा निकै अविस्मरणीय रह्यो। एक थिए, बालकृष्ण सम। उनी आफ्नो निवास ज्ञानेश्वरबाट रिक्सामा चढेर आफ्नै खालको उनको विशेष पहिरनमा आउँथे। त्यो पहिरन थियो, कमिज र दौराको मिश्रित रूप। उनी राम्रोसँग सिंगारपटार गरेर चिल्लो अनुहार लिएर नयाँसडकमा देखिन्थे बेलाबखत। उनलाई त्यसरी आएको, कसैकसैले अभिवादन गरेको देख्दथें। तर म त एकदम अपरिचित भएकाले टाढैबाट दर्शन गरिन्थ्यो। अर्का व्यक्तित्व थिए लीलाध्वज थापा। उनी पनि पूरा सिंगारपटार गरेर निकै ओजिलो व्यक्तित्वका साथ साइकल चढेर टिनटिन घण्टी बजाउँदै नयाँसडक हुँदै इन्द्रचोकतिर लाग्थे। उनी चाहिं दौरा–सुरुवाल, कोट, टोपी, टलक्क टल्किने कालो जुत्ता र कालो चश्माका साथ देखिन्थे। सुनिन्थ्यो, उनी जुत्तामा दाग लागे, धुलो परे पुछ्न बेग्लै रुमाल पनि साथमै बोक्थे रे! उनको व्यक्तित्व पनि भव्य देखिन्थ्यो। अनि म सम्झन्थें, हेटौंडामा ‘मन’ उपन्यास पढेको।

पछि मैले काठमाडौंमा फेरि ‘मन’ उपन्यास पढें। साथै पढें उनका अरू उपन्यासहरू शान्ति र पूर्व स्मृतिहरू पनि। एकाधपल्ट मैले उनलाई अभिवादन पनि गरें। उनले मुस्कुराउँदै अभिवादन फर्काए। तर खास कुराकानी हुन पाएन। के कुरा गर्नु, मसँग उनीसँग गर्ने कुनै कुरै थिएन त्यतिबेला।

तर केहीपल्ट अन्य साहित्यकारहरूसँग उनको वार्तालाप भने सुन्ने अवसर पाएको थिएँ। ती वार्तालापबाट थाहा पाएँ, यौटा अनौठो र चामत्कारिक गुण वा क्षमता उनमा भएको पाएँ, हरेक कुरालाई यौनिक रङ्ग दिन खप्पिस। भनौं हरेक कुरालाई अश्लील बनाउन सक्ने खूबी, जुन हम्मेसी कसैमा पाइन्न।

जस्तो कतैबाट यज्ञनिधि दाहाल आउँदै थिए, उनले भनिहाले, “द हाल आउँदै छन् !” कसैले भगवानको कुरा निकाल्यो। उनले भने, “भग को वान !” भगलाई योनीको अर्थमा लिइन्छ भन्ने कुरा मैले त्यसैवेला थाहा पाएँ। उनको यो खूबीलाई यसरी नजिकैबाट हेर्न, सुन्न, बुझ्न पाएको थिएँ मैले। साक्षी हुन पाएको थिएँ। उनी साँच्चै सरल र सहज ढङ्गबाट यस्ता कुरा मुसुमुसु हाँस्दै अभिव्यक्त गर्न सक्थे।

०००

२०४० सालपछिको कुनै दिनको कुरा हो। मैले बिहे गरिसकेको थिएँ। अनि कालोपुल छेउ कुनै साहित्यिक कार्यक्रममा श्रीमतीसँगै गएको थिएँ। त्यो कार्यक्रम लीलाध्वज थापाकै प्रमुख आतिथ्यमा भएको थियो। त्यहीं मैले भेटें, ज्योति भण्डारी। उनी पद्मकन्या क्याम्पसमा पढ्दै गर्दा अशेष मल्लको नाटक त्यहीं रिहर्सल हुन्थ्यो र म पनि त्यसमा सहभागी हुन्थें। एकदिन नाटकको रिहर्सल लम्बिएर ढिलो भयो। त्यो रिहर्सल हेर्ने धुनमा ज्योतिलाई पनि घर फर्कन ढिलो भयो। उनी एक्लै जान असहज स्थिति भएपछि कालीमाटी डेरामा जानुपर्ने मैले ज्ञानेश्वर उनको निवासमा पुर्याउन गएको थिएँ। त्यसै क्रममा बाटोभरि कुराकानी भएपछि उनी र म दाजु–बहिनी भयौं। त्यो नाता अहिलेसम्म पनि यथावत् छ।

त्यो साहित्यिक कार्यक्रम सकिएपछि ज्योतिले आफ्नो निवासमा म र मेरी श्रीमतीलाई निम्त्याइन्। उनी त्यतै कतै बस्थिन्, उनको बिहे भइसकेको थियो। त्यही क्रममा ज्योतिले भनिन्, लीलाध्वज थापासँग उनको नाता पर्छ। तर कति टाढा वा नजिकको हो थाहा भएन।

त्यसको केही समयपछि लीलाध्वज थापा अस्वस्थ भएर वीर अस्पतालमा भर्ना भएको थाहा भयो। अनि भेट्न गएँ म। त्यहाँ अरूहरू पनि भेट्न गएका थिए ज्योति सहित। लीलाध्वज थापा बिरामी भएर अस्पतालमा भर्ना भएको भए पनि निकै फूर्तिका साथ गफमा मस्त थिए।

उनले बताए, नजिकैको बेडको एक बिरामीलाई नर्सले राम्रो व्यवहार नगरेको देखेपछि ती नर्सलाई नजिक बोलाएर झापड हानिदिए। आजको समय हुँदो हो त नर्सहरूले काम बन्द गर्दा हुन्। हड्ताल गर्दा हुन्। त्यो घटना त्यत्तिकै सामसुम भएछ।

यो वैशाख वा जेठ महिनाको कुरा हुनुपर्छ। किनभने त्यतिबेला कविता महोत्सवका लागि राजाले वैशाख १ गते शीर्षक दिइसकेका थिए। कविहरूले प्रज्ञा प्रतिष्ठानमा धमाधम कविता पठाउन थालिसकेका थिए। त्यहीं अस्पतालमै थाहा भो, सो कविता महोत्सवमा सुनाउन लीलाध्वज थापाले पनि कविता लेखिसकेका रहेछन्। उनले त्यहाँ उनलाई भेट्न आउनेहरूलाई त्यो कविता सुनाउँदै गर्ने गरेका रहेछन्। हामीलाई पनि उनले सो कविता सुनाए। कवितामा “यो नियोगको…” लगायत शब्दावली थिए र उनी फूर्तिका साथ त्यसलाई “योनी योगको…” भन्दै सुनाइरहेका थिए र ज्योति लगायत त्यहाँ भएका महिलाहरू मुन्टो निहुराएर सुनिरहेका थिए। तर लीलाध्वज थापा भने त्यसलाई सहज रूपमै लिइरहेका थिए।

पछि उनी अस्पतालबाट डिस्चार्ज भएको थाहा भयो। अनि त्यस वर्ष २०४१ सालको कविता महोत्सवमा भाग लिन असार ९ गते प्रज्ञा भवनमा पुग्दा लीलाध्वज थापालाई प्रज्ञाको मूल प्रेक्षालयको अघिल्लो पङ्तिमा बसेको देखें। हामी त केटौले कवि हुनाले अघिल्लो पङ्तिमा बस्न न आँट थियो, न त्यहाँ पुग्नै दिइन्थ्यो। अघिल्ला ३–४ लहरका सिटको पछाडि पालेहरू बाटो छेक्न बसेका हुन्थे।

कविता वाचन सकियो। तर लीलाध्वज थापालाई कविता वाचनका लागि बोलाइएन। अनि उनले उठेर कविता पढ्न किन नबोलाएको भनेर प्रश्न उठाए। शायद कविता वाचन गर्न मिल्दैन वा त्यस्तै केही भने उद्घोषकले। सम्भवतः तिनै शब्दावलीला कारण वा त्यस कविताको बारेमा कसैले पहिल्यै कुरा पुर्याइसकेको हुन पनि सक्थ्यो, उनलाई कविता वाचन गर्न दिइएन। त्यसपछि उनले प्रज्ञाका पदाधिकारीहरूलाई गाली गर्दै रिसाउँदै प्रेक्षालयबाट बाहिर निस्किए।

खासमा त्यो कविता पढ्न दिंदैमा प्रज्ञा प्रतिष्ठानको केही बिग्रिहाल्ने पनि थिएन। त्यो कविता पढ्न नपाउँदैमा लीलाध्वज थापा जस्तो वरिष्ठ साहित्यकारले गाली नै गर्न जरूरी पनि थिएन ! प्रेक्षा गृहमा यस्तै खासखास खुसखुस चलेको थियो।

मैले लीलाध्वज थापालाई प्रत्यक्ष भेटेको अन्तिम पटक त्यही नै थियो। त्यसपछि त उनी त्यसै साल असोजमा परलोक गइहाले।

०००

लीलाध्वज थापा नेपाली साहित्यमा उपन्यासकारको रूपमा उच्च सम्मानका साथ लिइने नाम हो। विसं १९७८ असार ११ गते जन्मेर २०४१ साल असोज १४ गते दिवङ्गत भएका उनको विषयमा अनलाइनमा खोजी गर्दा उनको न जीवनी पाइयो, न उनको कृतिगत विवेचना पाइयो, न उनीसँग लिइएका कुनै अन्तर्वार्ता पाइयो। कताकता लाग्यो, के नेपाली साहित्यमा लीलाध्वज थापाको सान्दर्भिकता सकिएको हो! उनको लेखनको सन्दर्भ डिजिटल संसारका पाठकलाई रुचिको विषय होइन ? यो त हुनै नसक्ने कुरा हो। उनको उपन्यासको सान्दर्भिकता सकिने वा कम हुने प्रश्नै उठ्दैन। नेपाली साहित्यको नोवेल पुरस्कार मानिने मदन पुरस्कार पाउने प्रथम उपन्यासकार पो हुन् उनी। अझ २००४ सालमै नेपाल भाषा प्रकाशिनी समितिले आयोजना गरेको उपन्यास प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त उपन्यासकार हुन्।

उनको प्रथम कृति “अमर माया” नाटक २००२ सालमै प्रकाशित भएको थियो। उनका “दाह्री” (निबन्ध- २००९) तथा “श्री ५ महेन्द्र शुभराज्याभिषेक” (खण्डकाव्य-२०१३) कृतिहरू समेत प्रकाशित छन्। साथै उनको सम्पादनमा “सबैका लागि” (२०१६) तथा “सधैंको लागि” (२०२७) जस्ता कृतिहरू पनि प्रकाशित छन्।

तर मूल रूपमा उनका तीन उपन्यासले नेपालको तत्कालीन समाजको सामाजिक, आर्थिक र राजनैतिक पक्षहरूलाई जीवन्तताका साथ प्रस्तुत गरेका छन् र तिनमा नेपालको सांस्कृतिक पक्षहरू पनि सहज ढङ्गले आएका छन्। उपन्यासकार थापा आफ्ना उपन्यासमा चिरकालसम्मका लागि जीवन्त हुनेछन्।

-फल्स चर्च, भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?