+
+

सुनको भाउ डेढ लाख

फेड अध्यक्ष पावेलको ब्याजदर घट्ने प्रतिक्रियाले सुन महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १०:५३

२ साउन, काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोमबार मात्रै ब्याजदर कटौतीका लागि अब मुद्रास्फिति कुर्न नपर्ने प्रतिक्रिया दिएका थिए ।

उनको यहीं भनाइका कारण अमेरिकाले ब्याजदर घटाउने विश्वास लगानीकर्तामा बढेको र त्यसले सुनको मूल्य उचाइमा पुगेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।

‘हामीलाई दोस्रो त्रैमासिक रिपोर्टले बढी आत्मविश्वास दिएको छ, मूल्यवृद्धि घट्दो छ, श्रम बजार सन्तुलित भएको छ, यी दुई पक्षका कारण अब ब्याजदर कटौतीका लागि लक्षित २ प्रतिशतको मुद्रास्फिति कुर्न पर्दैन’ सोमबार उनले वासिङटन डीसीको इकोनोमिक क्लबमा भनेका थिए ।

ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । कमोडिटी बजारमा सीमित आपूर्तिका बाबजुत माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?