+

काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

२०८१ साउन  २ गते ११:३६ २०८१ साउन २ गते ११:३६
काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित

२ साउन, माले । पहिलोपटक काभा यु-२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आइपुगेको नेपाली यु-२० महिला टोली प्रतियोगिताका लागि उत्साहित छन् ।

बिहीबारदेखि माल्दिभ्सको राजधानी मालेका हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि नेपाल, श्रीलंका र कीर्गिस्तानको टोली मंगलबार नै माले आइपुगिसकेको छ ।

नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन् । ‘हामी सबै खेलाडी एकदमै उत्साहित छौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका छौं,’ कप्तान जेनिशा विश्वकर्माले भनिन् ।

यस्तै नेपालमा महिला भलिबल खेलाडी उत्पादन गर्दै आएका दुई प्रशिक्षक कुमार राई र अर्जुन घिमिरे नेपाली टोलीको प्रशिक्षकमा छन् । राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन गर्दै आएका छन् ।

हाल १२ सदस्यीय नेपाली टोलीमा न्यु डायमण्डका ६ र एभरेष्टका ४ खेलाडी छन् । यस्तै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबाट खेल्ने एक-एक खेलाडी छन् । उनीहरू सबै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् र त्यो पनि विदेशी भूमिमा खेल्दैछन् । जसले गर्दा खेलाडीमा अझ धेरै उत्साह छ ।

नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ । जसले गर्दा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा त्यो अनुभवलाई सदुपयोग गर्ने योजनामा छन् ।

‘मेरो दुई दशक लामो करियरमा पहिलोपटक राष्ट्रिय टिम लिएर विदेश आएको छु । हामी सबै जना एकदमै उत्सहित छौं,’ मुख्य प्रशिक्षक कुमार राईले भने, ‘हामी यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’

यस्तै प्रशिक्षक अर्जुन घिमिरेले पनि प्रतियोगितालाई लिएर उत्सहित भएको बताए । खेलाडीहरु सबै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित छन् । उनले भने, ‘उमेर समूहको खेलाडीका लागि यो राम्रो अवसर हो । यसबाटै अन्तर्राष्ट्रिय अनुभव लिन पाउनेछ र भविष्यमा राष्ट्रिय टिमसम्मको यात्रा तय गर्ने अवसर पाउनेछन् ।’

नेपालको महिला भलिबल टिमले सिनियर स्तरमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले दुईपटक सेन्ट्रल जोनको उपाधि जितिसकेको छ भने गत वर्ष नेपालमै भएको काभा च्यालेन्स कप वुमन्स भलिबलमा तेस्रो हुँदै कांस्य जितेको थियो ।

यस्तै २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत जितेको थियो ।

सिनियर टिमले गरेको प्रदर्शन र उपलब्धिबाट जुनियर खेलाडीहरु पनि प्रेरित छन् । ‘सिनियर दिदिहरूले राम्रो प्रदर्शन गर्नुभएको छ । हामी पनि आफ्नो शतप्रतिशत प्रदर्शन दिएर खेल्नेछौं,’ कप्तान जेनिशाले भनिन् ।

यस्तै टिमका अन्य खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

नेपाली प्रशिक्षक र कप्तान र खेलाडीहरु सबैले एउटै लक्ष्य स्वर्ण पदक जित्ने रहेको बताएका छन् । ‘हामी तयारीका साथ आएका छौं । टिम कम्बिनेसन पनि राम्रो छ । हाम्रो एक मात्र लक्ष्य स्वर्ण पदक जितेर सबै नेपाललाई खुशी दिने हो,’ प्रशिक्षक र खेलाडीले एक स्वरमा भने ।

नेपालले पहिलो खेलमा बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै दोस्रो खेल शुक्रबार कीर्गिस्तान तथा तेस्रो खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि सेमिफाइनल हुनेछ । जहाँ लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपालले पहिलो पटक उमेर समूहको काभा यु-२० च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघले पनि अब ग्रासरुट र उमेर समूह देखि नै भलिबललाई विकास गर्ने लक्ष्य राखेको छ ।

केही समयअघि भलिबल संघले सहाना प्रधान स्मृति फाउण्डेसनसँगको सहकार्यमा प्रथम सहाना प्रधान स्मृति यू१९ राष्ट्रिय महिला र पुरुष भलिबल प्रतियोगिता आयोजजा गरेको थियो । त्यसमा गरेको प्रदर्शनका आधारमा यु-२० टोली छनोट गरिएको हो ।

काभा यु-२० महिला च्याम्पियनसिप पछि नेपालले काभा यु-२० पुरुष च्याम्पियनसिपमा पनि सहभागिता जनाउनेछ ।

नेपाली टोली

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक : कुमार राई

प्रशिक्षक : अर्जुन घिमिरे

व्यवस्थापक : जुनु पुन

 

काभा यु-२० महिला भलिबल महिला भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय