+
+

फर्किने तयारीमा रहेका राजदूत शर्मा दिल्लीमै रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १७:२८

२ साउन, काठमाडौं । अघिल्लो प्रचण्ड सरकारको निर्णयसँगै काठमाडौं फर्किने तयारीमा लागेका भारतका लागि राजदूत डा. शंकर शर्मा तत्काललाई रोकिएका छन् ।

नेपालमा गठबन्धन फेरिएसँगै कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच छलफल भएपछि शर्मा दिल्लीमै रोकिएको उच्च स्रोतले बतायो ।

‘विकसित परिस्थितिमा भारतमा राजदूत पद खाली राख्न नहुने सल्लाह उहाँहरुबीच भएको बुझियो’, स्रोतले भन्यो, ‘अहिले १५ दिनलाई थमौती भनिएको छ । डा. शर्माको कार्यअवधि लम्बिन सक्ने सम्भावना बढ्ता छ ।’

दिल्लीस्थित दूतावास स्रोतका अनुसार राजदूत शर्माले फिर्ता हुन पाएको निर्देशनसँगै झोला, गुन्टा सबै काठमाडौं पठाउन तयार पारिसकेका थिए । तर काठमाडौंबाट पाएको नयाँ सूचनासँगै उनी रोकिएका छन् ।

‘सम्भवतः राजदूतज्यू यतै रहनसक्ने बुझेका छौं, उहाँले पठाउन लागेका सामान सबै रोक्नुभयो’, दूतावासका एक अधिकारीले भने ।

डा. शर्मा यसअघि कांग्रेस–माओवादी गठबन्धनको सरकार हुँदा कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेर एमालेसँग सत्ता सहकार्य गरेपछि मन्त्रिपरिषदले भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो ।

डा. शर्मा पनि फिर्ता हुने सूचीमै थिए । तर फेरि एमालेसँग सत्ता समीकरणसँगै कांग्रेस पनि सरकारमा सहभागी भएपछि नयाँ परिस्थिति सिर्जना हुनसक्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?