+

भाँचिएको हड्डी जोडिने प्रक्रिया के हुन्छ ?

२०८१ साउन  २ गते १२:४६ २०८१ साउन २ गते १२:४६
भाँचिएको हड्डी जोडिने प्रक्रिया के हुन्छ ?

काठमाडौं । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिने गर्छ ।

भाँचिएको हड्डीको उपचार भनेको प्लास्टर र शल्यक्रिया जस्ता दुई विधिबाट गर्न सकिन्छ । यस्तोमा हड्डी भाँचिएमा कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ? हड्डी जोडिन कति समय लाग्छ ? लगायत विषयमा अर्थोपेडिक तथा स्पाइन सर्जन डा. विनोद बिजुक्छेसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

हड्डी भाँच्चिने कारणहरु केके हुन् ?

शरीरभित्रका हड्डी विभिन्न कारणले भाँचिन सक्छन् । अक्सर चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिने गर्छ । जसलाई ‘ट्रमाटिक फ्याक्चर’ भनिन्छ ।

हड्डीको टिभी, ट्युमर, क्यान्सर, ‘अस्टियोपरोसिस’ हड्डीमा क्याल्सियमको मात्रा कम भएर हड्डी मक्किने हुन्छ र साधारण चोटपटकमा पनि भाँचिन्छ, त्यसलाई ‘प्याथोलोजिकल फ्याक्चर’ भनिन्छ ।

शरीरमा भएको कुल क्याल्सियमको ९९ प्रतिशत क्याल्सियम हड्डीमा हुन्छ । एक प्रतिशत मात्र रगतमा हुन्छ । हड्डीमा ९९ प्रतिशत क्याल्सियम भएको कारणले नै यो बलियो हुन्छ । यस्तोमा हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै गयो भने हड्डी मक्किएर सामान्य चोटपटकमा पनि भाँचिने हुन्छ । यस्तो समस्या विशेषगरी महिलामा महिनावारी सुकेपछि हुन्छ । ६० वर्ष कटिसकेपछि पनि हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै जान्छ र यस्तो समस्या निम्तिन्छ ।

मेरुदण्डको हड्डी भाँच्चिने कारण चाहि के होला ?

मेरुदण्डको हड्डी भाँच्चिने कारण पनि चोटपटक नै हो । नेपालको सन्दर्भमा भीरबाट लडेर, रुखबाट लडेर, छतबाट खसेर वा सडक दुर्घटनाको कारण मेरुदण्डको हड्डी भाँच्चिने गर्छ ।

भाँचिएको हड्डी आफै जोडिन्छ ?

शरीरमा हड्डी मात्र यस्तो कुरा हो, जुन भाँचिएपछि आफैं जोडिन्छ र कुनै दाग पनि बस्दैन । छालामा तथा मांसपेशी घाउ भयो भने घाउ निको भएपनि दाग रहन्छ ।

हड्डीको ‘रिमोडलिङ प्रोसेस’ हुन्छ । हड्डी भाँचिएर नपुगेको ठाउँमा शरीरले थप्दै जान्छ र बढी भएको ठाउँमा आफैं शरीरले आफैं निश्चित आकारमा मिलाउँदै जान्छ । यो प्रोसेसले हड्डीलाई एकदमै राम्रो तरिकाले जोड्छ ।

भाँच्चिएको सबै हड्डीहरू जोडिन्छन् तर कसैको अलि ढिलो जोडिन्छ भने कसैको चाँडो जोडिन्छ । कसैको भने हड्डी जोडनको लागि अन्य प्रक्रियाको मद्दत पनि चाहिन्छ ।

हड्डी भाँच्चिंदा शरीरमा रगतको ढिक्का जम्मा हुन सुरु हुन्छ, जुन क्रमशः हड्डीको नजिक एकत्रित हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा हिमेटोमा भन्ने गरिन्छ । हिमेटोमा थोरै समयको लागि हुन्छ र प्रोटिनसरह काम गर्छ ताकि भाँच्चिएको हड्डी छिट्टै जोड्न सकियोस् ।

भाँचिएको हड्डी जोडिन कति समय लाग्छ ?

भाँचिएको हड्डी जोडिने समय बालबालिकामा र वयस्कमा फरक हुन्छ । तर भाँचिएको हड्डी औसतमा ६ हप्तामा जोडिन थाल्छ । ६ हप्तामा दुखाइ कम हुने, भाँचिएको ठाउँ नहल्लिने हुन्छ, त्यसलाई ‘क्लिनिकल युनियन’ भनिन्छ । एक्स-रे हेर्दा त्यसमा हड्डी जोडिएको देखिन्छ भने त्यसलाई ‘रेडियोलोजिकल युनियन’ भनिन्छ ।

सबैको हड्डी ६ हप्तामै जोडिन्छ भन्ने हुँदैन, कसैमा तीन महिना, ६ महिना पनि लाग्न सक्छ, त्यसलाई ‘डिले युनियन’ भनिन्छ । कसैकसैमा भने हड्डी नजोडिने पनि हुन्छ त्यसलाई ‘नन युनियन’ भनिन्छ । हड्डी भाँच्चिंदा घाउ पनि भएको छ भने संक्रमण हुने, ढिलो जोडिने र नजोडिने समेत हुनसक्छ । ६ महिनासम्म पनि हड्डी जोडिएन भने हड्डीलाई जोड्नका लागि ‘बोन ग्राफ्ट’ अन्य ठाउँको हड्डी खुर्केर ल्याएर नजुटेको ठाउँमा भरेर जोडिन्छ ।

सामान्य चोटपटकका कारण हड्डी भाँचिएको छ भने त्यो छिटो जोडिन सक्छ । तर सडक दुर्घटनामा एकदमै गहिरो चोट लागेर हड्डी भाँचिएको छ भने ढिलो जोडिन सक्छ । चुरोट खाने मानिसको हड्डी ढिलो जोडिने वा नजोडिने हुन्छ । मधुमेह, मिर्गौलाको समस्या जस्तो दीर्घरोग छ भने पनि हड्डी ढिलो जोडिन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?

जुन हड्डीले हाम्रो दैनिक क्रियाकलापलाई खासै असर गर्दैन र अलिकति बाङ्गो भएर जोडिए पनि खासै फरक पर्दैन भने त्यसको हड्डीलाई शल्यक्रिया विना नै उपचार गर्न सकिन्छ  । जस्तै ‘क्लाभिकल’ घाँटी नजिकको हड्डीलाई शल्यक्रिया नगरी उपचार गर्न सकिन्छ ।

हातको हड्डी भाँचिएको छ र बाङ्गिएर जोडिने सम्भावना छैन भने शल्यक्रिया नगरी पनि उपचार गर्न सकिन्छ । तर हातखुट्टाको हड्डी बाङ्गो भएर जोडिन सक्छ । जसले गर्दा हात खुट्टाले दैनिक गर्नुपर्ने  काममा असर पर्न सक्छ । यस्तोमा हातको हड्डी बाङ्गो भएर नजोडियोस् र पहिले जसरी काम गर्न मिलोस् भनेर शल्यक्रिया गर्नुपर्छ । शल्यक्रिया गर्नुको उद्देश्य हड्डी जोड्नु भन्दा पनि त्यसलाई मिलाएर जोड्ने हो ।

साना बालबालिकाको हड्डी भाँचिएको छ भने उनीहरूमा पनि शल्यक्रिया गर्नुपर्दैन । किनकि बालबालिकामा हड्डी बन्ने प्रक्रिया छिटो हुन्छ । हड्डीको ‘रिमोडलिङ’ सिधा भएर जोडिने प्रक्रिया पनि हुन्छ । तर एकदमै बाङ्गो छ र छोटो छ भने शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ ।

वयस्कहरूमा हड्डी बन्ने प्रक्रिया ढिलो हुन्छ र ‘रिमोडलिङ’ पनि कम हुन्छ । त्यसैले बढ्ने उमेरमा बच्चामा शल्यक्रिया गर्नुपर्दैन र वयस्कमा गर्नुपर्ने हुनसक्छ । खुट्टा, हात, हिप र तिघ्राको हड्डी भाँचिएको अवस्थामा धेरै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

मेरुदण्डको हड्डी भाँचिएको खण्डमा भने यदि ‘स्टेबल फ्र्याक्चर’ हड्डी छुट्टिएको छैन भने शल्यक्रिया गर्नु पर्दैन । तर ‘अनस्टेबल फ्र्याक्चर’ भाँचिएको हड्डी बाङ्गो हुने र कुप्रो पर्ने सम्भावना छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शल्यक्रिया गरिएन भने पछि ढाड बाङ्गो हुने र मेरुदण्डको नसा तन्किंदै  गएर हातखुट्टामा समस्या निम्तिन सक्छ ।

काम्रो बाँधेर लेप लगाएर भाँचिएको हड्डी जोडिन्छ ?

भाँचिएको ठाउँमा काम्रो बाँध्नु हड्डीलाई सपोर्ट दिने राम्रो उपाय हो । यसले हड्डीलाई ठाउँमा राख्छ, सर्नबाट बचाउँछ । तर काम्रो मात्र बाँध्दा अन्य उपचार गरिएन भने त्यो हड्डी बाङ्गो भएर जोडिन सक्छ । बाङ्गो भएर जोडियो भने त फेरि शल्यक्रिया गरेर सिधा बनाउनुपर्छ । त्यसैले काम्रो बान्नेसँगै चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।

कतिपयले भाँचिएको ठाउँमा काम्रो बान्दा एकदमै टाइट गरेर बान्ने गर्छन् । जसले गर्दा रगतको सञ्चालन राम्ररी हुन पाउँदैन । रगतको सञ्चालन नभएपछि मासु मरेर जान सक्छ । यस्तो अवस्थामा कसैकसैको हात नै काटेर फाल्नुपर्ने समेत हुन्छ । त्यसैले काम्रो बानेर सर्पोट त गर्ने तर हातमा रगतको सञ्चालन भएको छ कि छैन, औंला राम्ररी चलेको छ कि छैन, एकदमै धेरै दुखाइ छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । केही समस्या भए चिकित्सकको परामर्श लिनुपर्छ ।

भाँचिएर जोडिएको ठाउँ चिसो मौसममा दुख्छ भनेको सुनिन्छ नि ?

भाँचिएर जोडिएको ठाउँ चिसोले दुख्ने होइन त्यो मनोवैज्ञानिक समस्या हो । जुन हड्डी भाँचिएर जोडिएको हुन्छ त्यो हड्डी अझै बलियो हुन्छ । त्यो ठाउँमा नयाँ हड्डी बनेको हुनाले अझै बढी बलियो हुन्छ । जोर्नीको हड्डी भाँचिएको छ भने हड्डी खिइने प्रक्रिया भने अन्य सामान्य व्यक्तिको भन्दा छिटो हुन्छ । हड्डी खिइने प्रक्रिया त सबैमा हुन्छ, यो कपाल फुलेको जस्तै प्राकृतिक प्रक्रिया हो तर जोर्नीको हड्डी भाँचिएको व्यक्तिमा अलि छिटो हुन्छ ।

शल्यक्रिया गर्दा हातमा राखिएको रड निकाल्नुपर्छ कि पर्दैन ?

भाँचिएको हड्डीलाई जोड्न शल्यक्रिया गरेर राखिएको रड निकाल्नु जरुरी हुँदैन । कसैलाई शरीरमा मेटल भएको मन पर्दैन भने उहाँहरूले भने निकाल्ने गर्छन् । अन्यथा त्यसलाई जीवनभर नै राख्न सकिन्छ यसले कुनै असर गर्दैन । यसले क्यान्सर पो गराउँछ कि भन्ने प्रश्न पनि धेरैको हुन्छ तर रड बिग्रिने हुँदैन र असर गर्दैन ।

पहिले स्टिलको रड राखिन्थ्यो अहिले त टाइटेनियम राखिन्छ । स्टिल राख्दा एमआरआई गर्न अलि अप्ठेरो हुनसक्छ तर टाइटेनियमको छ भने एमआरआई पनि गर्न मिल्छ । त्यसैले रड राख्दा केही असर पो हुन्छ कि भनेर डराउनु पर्दैन ।

युवाहरूमा रड राखिएको छ भने उनीहरूलाई चाहिं निकाल्ने सल्लाह दिइन्छ, अझ विशेषगरी खुट्टाको । युवाहरू धेरै सक्रिय हुन्छन् । धेरै उफ्रिदा दौडिंदा फेरि हड्डी भाँचियो भने रड पनि भाँच्चियो भने उपचार गर्न गाह्रो हुन्छ, त्यसैले निकाल्ने सल्लाह दिइने हो ।

रडलाई निकाल्नुपर्ने अवस्थामा हड्डी पूर्ण रुपमा जोडिएपछि १५ महिनादेखि दुई वर्षभित्रमा निकाल्नुपर्छ । धेरै ढिला भयो भने निकाल्न गाह्रो हुन्छ त्यसैले दुई वर्षभित्र निकाल्नुपर्छ ।

डा. विनोद बिजुक्छे भाँचिएको हड्डी हाडजोर्नी
डा. विनोद बिजुक्छे
लेखक
डा. विनोद बिजुक्छे
अर्थोपेडिक तथा स्पाइन सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३८९ अध्ययन : एमबीबीएस, एमएस (अर्थोपेडिक्स), एओ फेलोसिप (स्पाइन सर्जरी) हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको निर्देशक तथा अर्थोपेडिक्स विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?