+
+

तेस्रो त्रैमासमा खुम्चियो आर्थिक वृद्धिदर, व्यापारसहित ६ क्षेत्र ऋणात्मक

व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा आव २०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन २ गते १५:०३

२ साउन, काठमाडौं । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २.२ प्रतिशतले मात्र हुन पुगेको देखिएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही त्रैमासको तुलनामा भएको कुल गार्हस्थ उत्पादनको वृद्धिदर हो । आव २०७९/८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २.५ प्रतिशत थियो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस अवधिमा निर्माण कार्यले गति लिन नसक्दा यी क्षेत्रहरू ऋणात्मक बन्न पुगेका छन् ।

आव २०८०/८१ को दोस्रो त्रैमासको तुलनामा समेत तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ । दोस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार ३.८ प्रतिशतले भएको कार्यालयको तथ्यांक छ । एकै आर्थिक वर्षका दुई त्रैमासको तुलना गर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा भने मात्र ०.८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिएको छ । यसमा समेत थोक तथा खुद्रा व्यापार, निर्माण, कृषि, खानी तथा उत्खनन्, यातायात तथा भण्डारणसहितका क्षेत्रमा संकुचन आएको तथ्यांकमा देखिएको छ । तेस्रो त्रैमासिकभित्र माघदेखि चैतसम्मको अवधि गणना गरिन्छ ।

निर्माणसहित कुन कुन क्षेत्र रहे ऋणात्मक ?

यस त्रैमासमा निर्माण क्षेत्र सबैभन्दा धेरैले ऋणात्मक रहन पुग्यो । यस क्षेत्रमा ११.२ प्रतिशतको संकुचन देखिएको छ । अघिल्लो वर्षको सोही त्रैमासमा निर्माण क्षेत्र ५.५ प्रतिशतले मात्र ऋणात्मक थियो । यस वर्ष होलसेल व्यापार र सवारी मर्मत क्षेत्र समेत २.७ प्रतिशतले ऋणात्मक रहेको छ ।

उत्पादनमूलक क्षेत्र समेत यो त्रैमासमा ऋणात्मक रहेको छ । यस त्रैमासमा २ प्रतिशतले ऋणात्मक रहेको यो क्षेत्र अघिल्लो वर्षको सोही त्रैमासमा १.७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

खानी तथा उत्खननमा समेत ४.८ प्रतिशतको संकुचन यस त्रैमासमा देखिएको छ । अघिल्लो वर्षको सोही त्रैमासमा यो क्षेत्रमा मात्र २.७ प्रतिशतको संकुचन थियो ।

विद्युत् र ग्याँस उद्योगमा भने उत्साह

अर्थतन्त्रका कुल १८ वटा क्षेत्रलाई वर्गीकरण गरी कार्यालयले कुल गार्हस्थ उत्पादन (जीडीपी) को गणना गर्ने गर्छ ।

चालु आवको तेस्रो त्रैमासमा १८ क्षेत्रमध्ये १४ वटा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको छ । यसमध्ये विद्युत् तथा ग्याँस उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ३७.१ प्रतिशत रहेको छ । आवास तथा भोजन सेवाको वृद्धिदर १९.१ प्रतिशत रहेको छ । यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १५ प्रतिशत रहेको छ । कला मनोरञ्जन क्षेत्रका क्रियाकलापमा ८.३ प्रतिशतको वृद्धिदर देखिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्रीय तथा बीमा सेवाको वृद्धिदर ६.१ प्रतिशत रहन पुगेको कार्यालयले जनाएको छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि दर भने ३ प्रतिशत मात्र रहने देखिएको छ । कार्यालयका अनुसार गहुँ, आलु, नगदे बाली तथा फलफूलको उत्पादनमा वृद्धि हुँदा यसको वृद्धिदर सकारात्मक रहेको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?