+

एन्फा महिला लिग भदौ अन्तिममा

२०८१ साउन  २ गते १७:०२ २०८१ साउन २ गते १७:०२
एन्फा महिला लिग भदौ अन्तिममा

२ साउन, काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग भदौ अन्तिम साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको बैठकले महिला लिग गर्ने निर्णय र बजेट पारित गरेको हो । एन्फा राष्ट्रिय महिला लिगका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रतियोगिता गर्ने स्थान भने तय भएको छैन । स्थानका लागि लागि प्रदेशबाट सिफारिस भएमा काठमाडौं बाहिर र नभएको अवस्थामा काठमाडौंमै गर्ने एन्फाले जनाएको छ ।

आजको बैठकले तय गरेको बजेट फिफामा पेस गर्नुपर्ने भएकाले आकस्मिक रूपमा बस्दा एन्फा बोर्ड सदस्यमध्ये ८ जनाले भर्चुअल बैठक बहिष्कार गरेका थिए । २१ मध्ये १३ सदस्य बसी बहुमतका हिसाबले बैठकले निर्णय गरेको एन्फा महासचिव किरण राईले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले महिला लिगको बजेट र नियमावली पास गर्ने एजेन्डा लिएर बैठक बसेका थियौं, पास भयो,’ उनले भने, ‘८ जना सदस्यले उपस्थिति जनाउन नसक्ने भन्नुभएको हो । यसलाई बहिष्कार भन्न मिल्दैन । फिफामा बजेट पेस गर्नुपर्ने भएकाले आकस्मिक रूपमा बैठक बस्नु परेको हो ।’

महिला लिगमा १० टिम सहभागी हुनेछन् । जसमा महिला लिग छनोटबाट शीर्ष तीनमा परेको कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहनेछन् ।

तीन विभागीय क्लब, दुईवटा ए, बी र सी डिभिजन क्लब, जसबाट संकटा क्लब र बागमती युथ क्लब तथा दुईवटा नगरपालिकाका टिम रहनेछन् ।

जसमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाको टिम रहनेछ । १० टिमबीच सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ ।

जसबाट उत्कृष्ट ५ टिमबीच भने डबल राउन्ड रोबिनको आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगको ४ शीर्ष टिमले क्वालिफायर, एलिमिनेटर र फाइनल गरी ४ खेल खेल्नेछन् । यो प्रतियोगितामा कूल ६९ खेल हुनेछ ।

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय