+
+

मन्त्री बन्ने सूचीबाट कसले काट्यो जीवन परियारको नाम ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते २०:१५

२ साउन, काठमाडौं । नवगठित मन्त्रिपरिषद्‍मा दलित समुदायको प्रतिनिधित्व नगराएको भनेर सरकारको आलोचना भएको छ । सत्तारुढ कांग्रेस र एमालेमा पनि असन्तुष्टि देखिन्छ । यद्यपि नेताहरु खुलेर बोलेका छैनन् ।

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेसँगै कांग्रेसमा सहमहामन्त्री जीवन परियार र एमालेमा सचिव छविलाल विश्वकर्मा मन्त्री हुने पक्का जस्तै थियो ।

कांग्रेसका उपल्लो तहबाट उपसभापति र महामन्त्री सरकारमा नजाने भएसँगै पदाधिकारीबाट जीवन परियार मन्त्री हुने निश्चित रहेको नेताहरुले दाबी गर्दै आएका थिए । शनिबार कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा शीर्ष तहका एक नेताले चार जनाको नाम निश्चित रहेको बताएका थिए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री जीवन परियार, नेताहरु रमेश लेखक र आरजु राणाको नाममा थप छलफलको आवश्यकता नहरेको दाबी गरेका थिए ।

परियार कांग्रेसभित्र शेखर–गगन समूहमा छन् । कांग्रेसले पाएको १० मन्त्रालयमध्ये ४ वटा यो समूहले पाएको थियो, त्यसमा तेजुलाल चौधरीलाई पठाउनुपर्ने शर्त पनि थियो ।

बाँकी रहेको तीन मन्त्रीका लागि आकांक्षी धेरै थिए । तर सहमहामन्त्री परियार निर्विकल्प जस्तै थिए । शेखर कोइरालाले उनलाई सरकारमा पठाउने वचन दिएका थिए, महामन्त्री गगनकुमार थापा पनि उनलाई रोक्ने पक्षमा थिएनन् ।

तर जब मन्त्री सिफारिस गर्नुपर्ने भयो, महामन्त्री गगनले प्रदीप पौडेलको नाम लिए । डा. शेखरले जीवनको नाम ल्याउँछन् भन्ने उनको अनुमान थियो । तर शेखरले हृदयराम थानी र रामनाथ अधिकारीको नाम अगाडि सारे ।

त्यो दिन निर्णय भएन । बरु सभापतिसँग तेजुलाल चौधरी बाहेक ४ मन्त्रीका लागि माग गर्ने सहमति भयो । तर देउवा मन्त्रालयको संख्या थप्न तयार भएनन् ।

सोमबार विहान फेरि शेखर–गगन समूहको बैठक बस्यो । संस्थापन समूहबाट मन्त्री बन्नेहरुको नाम टुंगिसकेको थियो, जसमा पदाधिकारी कोही थिएनन् । त्यसपछि महामन्त्री गगन थापाले एक जना सहमहामन्त्री पठाउनुपर्ने मत राखे । यो समूहबाट सहमहामन्त्री परियार र बद्री पाण्डे छन् ।

छलफलका क्रममा मापदण्ड बन्यो, पहिला सरकारमा नगएका र प्रत्यक्ष चुनाव जितेकालाई पठाउने । त्यही मापदण्डका आधारमा सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य प्रदीप पौडेल र रामनाथ अधिकारीको नाम सिफारिस भएको एक नेताले बताए ।

पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बने । प्रदीप स्वास्थ्य तथा जनसंख्या र अधिकारी कृषिमन्त्री भए । पक्का भनिएका समानुपातिक सांसद जीवन परियार भने छुटे ।

शेखर–गगन समूहका एक नेताका अनुसार सहमहामन्त्री पाण्डे मन्त्री नभएको भए पनि परियार पर्ने सम्भावना थिएन ।

बद्री पाण्डेका कारण जीवन परियार मन्त्री बन्न नपाएको प्रचार गलत भएको भन्दै ती नेताले भने ‘मापदण्ड नबनाएको भए बद्रीको ठाउँमा जीवन होइन, हृदयराम थानी वा चन्द्र भण्डारी मन्त्री हुने थिए ।’

लामो समयदेखि कोइराला समूहमा रहेका परियारले पार्टी नेताहरुसँग आफ्नो समूहको मूल नेतृत्वले धोका दिएको गुनासो गर्ने गरेका छन् ।

परियारले आफू निकट नेताहरुसँग भन्ने गरेका छन्, ‘म त समूह परिवर्तन गरेको आयातित पनि होइन । सधैं कोइराला पक्षमै छु । अरुलाई के भन्नु र ?’

परियारले यसअघि संसदीय समितिको सभापति समेत अस्वीकार गरेका थिए । कांग्रेसको भागमा परेको चार सभापतिमध्ये संसदीय सुनुवाइ समिति शेखर–गगन पक्षलाई छुट्याइएको थियो । तर उनले समिति सभापति पद अस्वीकार गरे ।

मन्त्री हुन नपाएपछि चन्द्र भण्डारी पनि असन्तुष्ट बनेका छन् । असन्तुष्ट भण्डारीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कतिपय घटनाहरु आनन्ददायी र शिक्षाप्रद हुन्छन् । धेरै दुःखी र खुसी हुनुपर्दैन । उपयुक्त समयको प्रतीक्षा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?