+
+

सिन्धु र नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते २१:२५

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाहीमा निरन्तरता दिएको केन्द्रीय बैंकले सिन्धु विकास बैंकलाई पनि शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

नारायणीले ११ असार २०८१ मा पठाएको वित्तीय विवरण सुपरीवेक्षकीय समायोजनपछि संस्थाको न्यूनतम पूँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको जनाएको छ ।

उसको पूँजीकोष अनुपात ६.७१ मात्रै रहेकाले केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको हो । त्यस्तै बैंक अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैरजिम्मेवारपूर्ण तर्क पेस गरेको तथा संस्था सुधारका लागि पटक–पटक दिइएका निर्देशन पालना नगरेकोले संस्था सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही तथा सचेत गराएको हो ।

राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागको कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । फाइनान्स कम्पनीमा बेस्ट फाइनान्स, रिलायन्स फाइनास, र प्रोग्रेसिभ फाइनान्स कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेपछि कर्णाली विकास बैंकलाई २ हजार ५ सय ४६ रुपैयाँ जरिवाना गरेको छ । नारायणी डेभलपमेन्ट बैंकलाई २१ माघ २०८० मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको हो ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स र रिलायबल फाइनान्सलाई वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेस गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीका लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको भन्दै कारबाही गरेको हो ।

उनीहरूले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी प्रोग्रसिभ फाइनान्सले तोकिएको समयमा वाह्य लेखापरीक्षण सम्पन्न गरी वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधराणसभा २०८०/८१ मा मात्रै सम्पन्न गरेको छ ।

आव २०७९/८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशित गर्न सहमतिका लागि अझै पनि राष्ट्र बैंकमा पेस गरेको छैन । सोही कारण फाइनान्स सञ्चालक समिति प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?