+
+

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते ७:५४

३ साउन, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ ।

केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् ।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’

कांग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउन सक्ने उत्तिकै सम्भावना रहेको तर्क गरे ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौं पुगेर पार्टी सभापति देउवालगायत नेता भेटेका छन् ।

यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताए ।

लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनेछन् ।

यता अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले पनि कांग्रेस एमालेबीच नै पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुंगिएको आफूले राजीनामा नदिएको बताएका छन् ।

मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै आफूले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्ने मुख्यमन्त्री महराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?