+
+
पुस्तक समीक्षा :

तिख्खर कविताको स्वाद : त्यसरी त कहिल्यै सोचिएन

प्रदीप सापकोटा प्रदीप सापकोटा
२०८१ साउन ३ गते ९:४७

भनिन्छ, कविता साधना निरन्तरताले पर्गेल्छ । यस्तै कविता साधनामा निरन्तर तल्लीन वर्तमान नयाँ पुस्ताका थुप्रै नाममध्येबाट लिनुपर्ने विशेष नाम हो, निर्भीकजंग रायमाझी ।

पाठकको आँखाले जहिले पनि फरकपना हेर्नु र कविताका पारखीले नयाँ स्वाद खोज्नु अस्वभाविक होइन । यही नयाँ स्वाद दिन अग्रसर कविले नेपाली समाजको सम्पूर्णतामा उनको क्षमताको प्रतिनिधित्व गर्ने कविता कृति ‘त्यसरी त कहिल्यै सोचिएन’ लिएर उनी नेपाली कविताको क्षेत्रमा देखा परेका छन् ।

शब्द खिप्न सक्नेले अक्षरसँग खेल्ने त हो । अक्षरको समुद्रमा डुब्न त अक्षरसँगै पौडन जान्नुपर्दछ । शब्दहरूको चाङ लगाएर मात्र कविता राम्रो हुने होइन । स्वादिला पनि हुनुपर्छ, गुलिया पनि हुनुपर्छ अनि सन्देश प्रवाह गर्न सक्ने, भावलाई अथ्र्याउन सक्ने भएपछि मात्र सुन्दर कविता जन्मिन्छ । जहाँ अक्षरहरूको गोडमेल राम्ररी हुन्छ त्यहाँ सुन्दर कविताले स्थान जमाउँछ । यही लाइनमा छन् निर्भीक ।

नेपाली कविताको संसारमा थुप्रै कृतिहरू जन्मिएका छन् र न्वारान पनि गरिएका छन् । सबै कविताकृति उत्कृष्टताको कसीमा नघोटिन पनि सक्छन् । तर रायमाझीको यो कृतिले पाठकको मन जित्नेमा कुनै शंका छैन् । कविताले पाठकको मन खिच्छ र उनीप्रति प्रशंसा गर्न पाठकको मन जाग्छ ।

उनको पहिलो कवितासङ्ग्रह हो यो । सामान्य भन्दा सामान्य कुराले पारेको प्रभावमा गडेर बलशाली कविता रच्न सक्नु कविको उत्कृष्टता हो । मान्छेका चाह, मान्छेका रहर, मान्छेकै जिजीविषाहरू उतार्ने इमानदार प्रयासको फेहरिस्त हुन् कविता ।

मनको भावलाई शिल्पकारीताको सुन्दर शब्दहरू बनाएर कुँद्नु कम्ति गाह्रो कुरा होइन । उनी यहि गाह्रो यात्रा तय गरेर निस्केका थिए र सफल पनि देखिए । अझ गजब त शब्दमा मितव्ययिता र बिम्बात्मकताले भरिपूर्ण स्वादिला कविताहरू कोर्ने कुरा त्यति सजिलो हैन र त्यस्तै कविताहरू कोर्न सफल छन् निर्भीक ।

हँसिलो स्वभाव, दमदार अभिव्यक्ति र तार्किक मनका साथ प्रस्तुत हुन रूचाउने उनी अनुभूतिको अन्तर्यमा पुगेर सृजना कर्म गर्न रूचाउँछन् । जीवनका भोगाइहरू यथार्थपरक रूपमा कवितामा प्रस्तुत सक्षम निर्भिक घनिभूत आयतनका कविता लेख्ने सामथ्र्य राख्छन् भन्ने कुराको प्रासाङ्गिकता त्यसरी त कहिल्यै सोचिएन भित्रका कविताले प्रष्ट्याउँछन् ।

प्रस्तुत कृतिमा विभिन्न खण्डमा विभाजित पचासवटा कविताहरू उनिएको माला हो, त्यसरी त कहिल्यै सोचिएन । यी कविताहरूमा पनि पाँच विविध शिर्षकृत गरिएर छु्ट्याइएको छ । सबैमा दश–दश थान कविता छन् । ‘सानो भएपनि दुनियाँ चियाउन सकिने सामथ्र्य आँखीझ्यालमा हुन्छ’ भन्ने भावजनित कविता छन्, यसमा ।

शीर्ष कविता ‘त्यसरी त कहिल्यै सोचिएन’मा कोपिलारूपी मान्छे फक्रिँदै, डुल्दै, आत्मियता साट्दै, धेरैसँग भेट्दै अनि छुट्टिदैँ, विगतसँग पछुताउँदै सामान्य कुराहरूमा पनि शक्ति हुने कुरा कहिल्यै नसोचिएको बताएका छन् । यसमा उनका मनले बुझ्ने विविध सम्बन्धका आयामहरू स्मरण गरेका छन् । ‘लकडाउनको एक साँझ’ नामक कवितामा कोरोनाकालको यथार्थलाई सत्यापन गरेका छन् ।

जीवनका सरल र कठिन दुबै उच्छ्वासहरूले कविता भरिएका छन् । आशा, निराशा, उत्साह, अभाव, पीडा सबैमाथि सुन्दर शब्दहरू कोरेर अभिव्यक्त गर्ने कौशलता कविमा देखिएको छ ।

कुनै पनि कविता बिम्ब र प्रतिकको व्यापकता हुँदैमा राम्रो मानिने तर्कसँग म सहमत छैन । केवल आवश्यकता र औचित्यको आधारमा बिम्ब प्रतिकहरू प्रयुक्त गरिनुपर्दछ । निर्भीकका कवितामा पनि आवश्यकतालाई ध्यान दिएर बिम्ब प्रतीकहरू प्रयोग गरिएका छन् ।

‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासङ्ग्रह पढिसकेपछि छरिता, बान्की परेका, सरल भाषा र बिम्ब प्रयुक्त, भावले ओजपूर्ण, मझ्यौला कदका यी कविताहरू सौन्दर्यशास्त्रीय दृष्टिले अब्बल, कलाका दृष्टिले उच्चकोटीका लाग्छन् ।

शीर्षक चयनमा पनि उनी सचेत देखिएका छन् । प्राकृतिक चेतनाको बिम्ब, भाव एवं उद्देश्यगत प्रवृत्तिसंग टाँसिएका कविताहरू, प्रकृतिचेतका कविता, जागरणवोधयुक्त, राजनीतिक चेतयुक्त कविताहरू समावेश गरिएको छ । यसैगरी आर्दशबादी कविता पनि परेका छन् । केही कविताहरू दार्शनिकचेतले भरिएका छन् ।

शृंगारिक चेत मायाप्रेम अनुभूति भएका अनि जीवनवोधको गहिराइ भएका कविताहरू पनि पढ्न पाइन्छ । एउटा राजनीतिको बर्तमान विकृत रूपप्रतिको कटाक्ष भएको कविताको कवितांश हेरौं :

देहातको खलिहानमा जस्तै
मान्छे डढाउने गर्मी छ
शीतल निवासमा
(नेपालगञ्ज, वीरगञ्ज र अमलेखगञ्जतिर
बरू खुब ठण्डा छ मौसम
तर महाराजगञ्जको शीतल निवासचाहिँ सधैंं रापमा छ)
–शीतल निवासको गर्मी

माथिको कवितांशले रायमाझीको राजनीतिक र वैचारिक चिन्तन र राजनीतिको वर्तमान विद्रुप चरित्रमाथि तिख्खर रूपमा चित्रण गरेको देखिन्छ । मलाई लाग्छ स्तरीय कविता लेख्नु त्यति सजिलो हुँदैन् । झनै रूप विधानमाथि चढेर सुन्दर बिम्बहरूको बुट्टा भर्नु गाह्रो छ । उनले यहि गाह्रो कर्म रोजेर सफलता पाएका छन् । भन्न सकिन्छ उनका कविता हृदयले लेखिएका छन् ।

उनका कविताले पाठकको मन प्रफुल्लित गराउँछन् कहिले त कहिले उद्देलित पार्छन् । यस्तै–यस्तै भावहरूले उनले कवितामार्फत सञ्चार गरेका छन् । विचार, चिन्तन, भाव र अनुभूतिको बेजोड समिश्रण निर्भिकका कविताको विशेषता हुन् ।

उनमा देशप्रेमको भाव पनि उतिक्कै देखिन्छ । सामाजिक यथार्थतामा उतिक्कै गतिशिल प्रवाहमा कलकल बग्ने नदीजस्ता कविता यहाँ परेका छन् । मनका भावनाहरू पनि छताछुल्ल भएर पोख्छन् । मानवीय संवेदनाका कवितामा समेत मनको भाव प्रकटीकरण भएर आएका कविता पनि छन् ।

साधारण अभिव्यक्तिमा बेजोड अर्थ दिने कविता लेख्न खप्पिस कवि निर्भीक पाठकमय कविता लेख्छन् । शब्द चयनमा सचेत र संवेदनशील कवि श्यामल, विमल निभाजस्ता अग्रज कविहरूकै लाइनमा लामबद्ध, कवितामा नविनतम मानक सृजना गर्ने यत्न गर्ने कवि निर्भीकका कविताहरूले काव्यिक चेतको उचाइ चुम्न सक्छन् मैले ठोकुवा गरें । उनका भाव गाम्भीर्य कविताले त हाम्रो पनि मन झनझनाउँछ ।

‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासङ्ग्रह पढिसकेपछि छरिता, बान्की परेका, सरल भाषा र बिम्ब प्रयुक्त, भावले ओजपूर्ण, मझ्यौला कदका यी कविताहरू सौन्दर्यशास्त्रीय दृष्टिले अब्बल, कलाका दृष्टिले उच्चकोटीका लाग्छन् ।

कवितामा सपाट कोरा नारा र वर्णन किमार्थ छैन । काव्यिक विशिष्टताले भरिपूर्ण उनका सृजनाले अरूलाई सजिलै पछाडि छोड्न सक्छन् । भन्न सकिन्छ, उनका कविता आफ्ना अनुभव, अनुभूतिसहित मनका विशिष्ट भावनात्मक सोचाइका परिणामस्वरूप जन्मेका हुन् । यति भएपछि निर्भीकको कवित्व चेतमाथि कसैले प्रश्न उठाउला र ?

विधा : कविता
प्रकाशक : कलम प्रकाशन, काठमाडौं
मूल्य : ३ सय ७५ रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?