+
+
प्रधानमन्त्रीलाई सुझाव पत्र :

कृषि सपार्नुस्, कार्यकाल सप्रिन्छ

दुई ठूला दलका यहाँहरू जस्ता पुराना नेता र पार्टीलाई ‘गरेर देखाउने’ यो अन्तिम अवसर छ । कम्तीमा यो कालखण्डमा तपाईंले पाएको यो ठूलो मौका हो ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८१ साउन ३ गते ९:५७

केपी शर्मा ओलीज्यू

प्रधानमन्त्री, नेपाल सरकार !

आफ्नै पालामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्ने हुटहुटीले उद्वेलित भएर अलिअलि जालझेल, छलछाम र तिकडमको सहारा लिएर, लोकतन्त्रको उपहास र निर्वाचित जनप्रतिनिधिको उपेक्षा गरेको अपजस समेत खेप्न तयार हुँदै यहाँ र नेपाली कांग्रेसका सभापतिको चोचोमोचोबाट प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन हुनुभएकोमा यहाँलाई साधुवाद ।

यहाँहरूको मध्यरातको मिलनलाई आम नेपाली, मतदाता, निर्वाचित सांसद र तपाईंका सहयात्री नेता कार्यकर्ताले अनुमोदन गरेका छन् कि छैनन्, तपाईं जस्तो खारिएको नेताले आफैं मूल्याङ्कन गर्नुभएकै होला ।

प्रचलित संविधान र कानुनको छेडखानी, छुद्र वचन र पल्टु जस्ता तपाईंका केही प्रवृत्तिले अहिले नै धेरै भरोसा गरिहाल्न सक्ने स्थिति त छैन तर दुई ठूला दलका यहाँहरू जस्ता पुराना नेता र पार्टीलाई ‘गरेर देखाउने’ यो अन्तिम अवसर छ । कम्तीमा यो कालखण्डमा तपाईंले पाएको यो ठूलो मौका हो ।

समृद्धिको लामो यात्रामा तपाइँको दुईवर्षे कार्यकालमा कायापलट त हुँदैन तर यहाँले चाहेमा, गरे हुन्छ भन्ने आश जगाउन अझै पनि सक्नुहुन्छ । सदा झैं माला र खादामा ठाटिएरै सही पद ग्रहण गरेका तपाईंका सहयात्रीले पूर्ण रूपमा साथ दिने नै छन् । यही आशयमा यो सुझाव पत्र लेखेको हुँ । यसैगरी बुझिदिनुहोला ।

अहिलेको संवैधानिक तथा कानुनी दायराभित्र रहेर नेपाल र नेपालीको भविष्य कस्तो हुने भन्ने कुरा यो पदमा आसीन हुने व्यक्ति, उसको दृष्टिकोण, अडान र मातहत निकाय र पदाधिकारीको परिचालन गर्ने नेतृत्व क्षमतामा भर पर्छ । त्यसो त यहाँले यस्तो संवैधानिक दायराभन्दा माथि रहेर काम गर्न सक्ने औकात दुईपटक संविधान विघटन गर्ने हठ गरेर र अहिले अँध्यारो बन्द कोठामा यसैको तयारीमा चोचोमोचो मिलाएर संकेत गरिसक्नुभएको छ ।

यसलाई समय सन्दर्भको संयोग मात्र मानेर, तपाईंले गरेको प्रस्ताव संविधानको कार्यान्वयनका जटिलता सम्बोधन गर्न यसको पुनरावलोकनको बहस गरी निर्णयमा पुग्ने समझदारी भन्नेसम्म अर्थ लगाएको छु । यसको निर्णय त सार्वभौम नागरिकले गर्ने होला नि ? अब्राहम लिंकनले कुनै एउटा प्रसंगमा भनेका थिए- ‘हजार जनता मूर्ख भएर देशलाई खासै फरक पर्दैन तर एउटा नेता मूर्ख भए देश बर्बाद हुन्छ ।’

म केही गर्छु भन्ने सबैलाई शंकाको लाभ दिनुपर्छ भन्ने मान्यता राख्दछु । यहाँलाई त्यो सुविधा नदिने कुरै छैन । गल्ती जानेर वा नजानेर सबैले गर्छन् र मूर्खले बाहेक सबैले आफ्ना गल्ती, कमजोरीबाट ढिलो चाँडो सिक्छन् र सच्याउँछन् भन्ने ठान्दछु ।

यहाँ किसान मुक्ति आन्दोलनको नेतृत्व गरेकै कारण निरंकुश शासकको फन्दामा परी १४ वर्ष जेल जीवन बिताउनु परेको सुनेको छु । यस्तो किसान आन्दोलनको नेता नै राज्यप्रमुख हुँदा किसानको उत्पादन र आम्दानी बढाउने तथा रोजगारीका अवसर सृजना गर्ने विषयलाई केन्द्रमा राख्नुहुनेछ भन्ने विश्वास गरेको छु

म भष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ, यहाँको योे जवाफलाई म कदापि सानो प्रतिबद्धता ठान्दिनँ । भलै, यहाँले भ्रष्ट बचाउन बेला–बेला आँखा सन्काएको आरोप छ । सँगै, नेपालको चुच्चे नक्शा बनाउन यहाँको मुख्य भूमिका रहेकाले, यो भूमि फिर्ता ल्याएर गौरव गर्ने मौका चुकाउन हुँदैन भन्ने ठान्दछु ।

यी त तपाईंप्रति केही गुनासा र गुणगानका कुरा भए । अब लागौं, सुझावतिर ।

यहाँले नीतिगत सुधार, आर्थिक सुधार र सेवा प्रवाहमा सुधारका लागि पार्टीभित्र सुझावको माग गर्नुभएछ । यो सबैसँग मागेको भए झनै राम्रो सुनिन्थ्यो । यी कुरा साँच्चै सुधार्न चाहनुहुन्छ ? त्यसो हो भने सबैभन्दा पहिले आफ्नै पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनुहोस् । भ्रष्टाचार शून्य सहनशीलताको यहाँको थेगोलाई विश्वसनीय बनाउन गिरीबन्धु, भुटानी शरणार्थी, सुन तस्करी र सहकारी ठगहरू सबैलाई कारबाहीको दायरामा ल्याएर यो शंका निवारण गरिदिनुहोस् ।

सरकार र दाताका विकास, खरिद ऐन र कर्मचारीतन्त्रको पुनरावलोकन गर्ने आँट गरेर संरचनागत परिवर्तनका स–साना पहल गर्नुहोस् । यसो गर्न बाधा पुगे संविधान नै फेर्ने प्रस्ताव ल्याउनुहोस् । यी सबै गर्ने यसपटक यहाँलाई ठूलो मौका छ । किनकि यसको विरोध गर्ने आँट तपाईं बाहेक अरू कसैले देखाउन सकेका छैनन् । बाँकी कुरा यी काम गरेपछि सँगै समीक्षा गरौंला ।

यहाँले प्रधानमन्त्री बन्ने लगभग तय भएसँगै कृषि र शिक्षा प्राथमिकतामा रहेको जिकिर गरेको पढेकोे थिएँ । त्यो पढेर खुशी हुने कि दुःखी अलमलमै छु । शिक्षा क्षेत्र सुधार गर्न अघिल्लो पटक तपाईं प्रधानमन्त्री हुँदा बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदन अहिले ६ वर्षपछि बल्ल सार्वजनिक भएको छ ।

संविधानको भावना अनुरूप शिक्षा सुधार गर्न प्रस्ताव गरिएको उक्त प्रतिवेदन सार्वजनिक गरेर यसका सुझाव मात्र ख्याल गरेको भए अहिलेसम्म धेरै कुरा सुधार भइसकेको हुनेथियो । तर यहाँकै आनाकानीले यो सार्वजनिक समेत भएन । यो गुमेको मौका ठानेर ढिलै भए पनि अहिले सार्वजनिक भएको प्रतिवेदनका उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने सुझबुझ राख्नु भए बेस होला ।

कृषि सपार्न के गर्न सक्नुहुन्छ केही सुझाव थप्ने अनुमति चाहन्छु ।

सबैभन्दा पहिले, अघिल्लो सरकारले जस्तै कृषिलाई शब्दजालमा उन्नत बनाउन खोज्नुभएको हो भने थप केही भन्नु छैन । अन्यथा कृषि नसपारेर हाम्रो समृद्धि यात्रा तय हँुदैन । यस कुरालाई बुझ्न कृषिको सन्दर्भ केही चर्चा गरौं ।

नेपालको परम्परागत खाद्य तथा कृषि प्रणाली मूलतः कृषि वन अन्तरसम्बन्धमा आधारित, स्थानीय विशेषता र किसानहरूको लामो अनुभवबाट खारिएको रैथाने स्रोत–साधन र प्रविधिहरूको अधिकतम उपयोगमा आधारित छ । ती आयामहरू कम खर्चिला, दिगो र पर्यावरणमैत्री छन् । यो किसानहरूले पुस्तौंदेखिका अनुभवको आधारमा हाम्रो भौगोलिक तथा पर्यावरणीय विशेषतामा माटो, पानी र पोषणको भण्डारण पुनरुत्पादन र संरक्षण गर्ने जस्ता कृषि संस्कृति उन्नत बनाउँदै ल्याएको मौलिक प्रणाली हो ।

विडम्बना, विगत केही दशकदेखि तपाईंले बारम्बार दोहोर्‍याउँदै गरेको आधुनिकता र विकासको नाममा आयातित औद्योगिक विकासको शिक्षा र प्रविधिको दबदबासामु यस्तो परम्परागत रैथाने ज्ञान र खेतीपाती र खाद्य संस्कृतिलाई उन्नत बनाउने कुरा निरन्तर रूपमा उपेक्षामा पर्दै गएको छ । यसले एकातिर, हाम्रो मौलिक खाद्य र कृषि संस्कृति तथा स्थानविशेषका अनुभवमा आधारित खेतीपाती सम्बन्धी बहुमूल्य ज्ञान र सीप लोप हुन सक्ने अवस्था आएको छ भने, अर्कोतर्फ, बाह्य ज्ञान, सीप र प्रविधिमा आधारित खेतीप्रणालीको प्रवद्र्धनलाई अधिक महत्व दिइएकाले प्रकृति, पर्यावरण विनाश र खाद्य सुरक्षाका चुनौती थपिएका छन् ।

अहिले आम मानिसको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने सामाजिक, आर्थिक तथा पर्यावरणीय फेरबदल तीव्र रूपले भइरहेका छन् । खासगरी, शहरीकरण, स्रोतको क्षयीकरण, खानेकुरामा परिवर्तन, विश्वव्यापीकरण र व्यापार, जलवायु परिवर्तन, बसाइँसराइ, प्रविधिको बढ्दो प्रयोग, आयआर्जनका अवसरमा विविधीकरण जस्ता विषय कृषि क्षेत्रका लागि नयाँ चुनौती बनेर खडा भएका छन् । खेतीयोग्य जमिन बाँझो रहेको छ, खेतीकर्मको महिलाकरण भएको छ ।

जैविक विविधताको विघटन, पानीको अनिश्चितता र तापक्रम बढेको छ । यिनको प्रभावले मौसमी तथा वार्षिक खेती चक्र बिथोलिएको छ । सँगै, अहिले विश्वव्यापी रूपमा नै बढ्दो कृत्रिम रसायन, विषादी, खनिज ऊर्जाको अत्यधिक दोहन र प्रयोगले ल्याएको जलवायु परिवर्तन, र यसले बढाउँदै गरेको खाद्य सङ्कट, गरिबी, कुपोषण, नसर्ने दीर्घ रोगको असर हाम्रो समाजमा विकराल बन्दै गएको छ ।

यी सबैका बीच आम जनसमुदायको पोषणयुक्त र गुणस्तरीय खाद्यमा पहुँच बढाउन कस्तो खाद्य तथा कृषि प्रणाली अवलम्बन गर्ने बहस चलिरहेको छ ?

ढाँटको मानो खाइपत्याउनु भन्ने हाम्रा पुर्खाको उखान मलाई असाध्यै घत पर्छ । यहाँले पनि उखानमा निकै दख्खल राख्ने हुँदा यहाँलाई पनि त्यस्तै लाग्छ भन्ने होला भन्ने ठान्दछु । यहाँको कार्यकाललाई त्यसरी नै हेर्ने अपेक्षा राखेको छु ।

यस्तो बहस मूलतः दुई फरक धारबाट चलिरहेको छ । एउटा कृषि क्षेत्र आर्थिक विकासका लागि प्राथमिक क्षेत्र भएकोले हरित क्रान्ति कृषि प्रणालीमा आधारित पश्चिमी शैलीको कृषि विकासको ढाँचा अवलम्बन गरी यसलाई औद्योगिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण गर्ने ।

अर्को, हाम्रो समग्र सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र पर्यावरणीय विशेषतासँग मेल खाने साना किसानमैत्री स्थानीय स्रोत साधनमा आधारित, रसायन र विषादीरहित दिगो खाद्य तथा कृषि प्रणाली अपनाउने भन्नेमा केन्द्रित छ ।

यहाँलाई थाहै छ, नेपालको कृषि प्रणाली मूलतः पहाडी भूभाग, पर्यावरण र हावापानीमा आधारित छ । यसका आफ्नै विशिष्ट सम्भावना र सीमाहरू छन् । हिमाली क्षेत्र हाम्रो मात्र हैन दक्षिणएशियाकै पानीको मुख्य स्रोत हो भने उच्चकोटिका औषधिजन्य जडीबुटीको अपार भण्डार र पशुपालनका लागि उपयुक्त क्षेत्र पनि हो ।

जैविक विविधताको भण्डार पहाड र चुरेक्षेत्र फलफूल, तरकारी, बीउ तथा उच्च मूल्यका कृषि उपजको सम्भावना बोकेको क्षेत्र हो । उपत्यका र तराईका समथर मलिला फाँटहरू अन्नबाली, तरकारी र फलफूलका लागि उपयुक्त क्षेत्र भए तापनि बढ्दो बसाइँसराइसँगै शहरीकरण र जनसङ्ख्याको उच्च चाप खेपिरहेको क्षेत्र समेत हो ।

यस्ता वास्तविकतालाई मध्यनजर गर्दै स्थानीय विशेषता अनुसारका मौलिक प्रविधि उपयोग गर्ने र स्थानीय साधन, स्रोत र सीपको उपयोग हुने पर्यावरण मैत्री कृषि प्रणालीको ढाँचा विकास गर्नु अहिलेको आवश्यकता हो । यस अर्थमा, स्थानीय स्रोत–साधनमा आधारित हाम्रो परम्परागत एकीकृत खेती प्रणालीलाई उन्नत बनाउने मार्गचित्र नै एउटा मुख्य प्रस्थानविन्दु हो ।

यसका लागि प्रकृतिसम्मत कृषि प्रणालीका मूलभूत (पर्यावरणीय सन्तुलन, सहअस्तित्वको सम्मान, प्राकृतिक पोषण चक्रको उपयोग, जनस्वास्थ्यप्रतिको सजगता, सहकार्य, समतामूलक र दिगो समृद्धि जस्ता) मार्गदर्शक सिद्धान्तहरू अवलम्बनका आधारमा स्थानीय साधन, स्रोत र प्रविधिको अधिकतम प्रयोग गरी नेपालको कृषि क्षेत्रलाई जैविक ढाँचामा रूपान्तरण गर्न आवश्यक नीतिगत र संस्थागत व्यवस्था एवं कार्ययोजना बनाउनुपर्नेछ ।

यो अवस्थामा मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्नेछ । रासायनिक मल, विषादी र अन्य कृत्रिम रसायन रहित कृषि प्रणालीबाट उत्पादित स्वस्थकर खानेकुराको उपलब्धता र पहुँच बढाउनुपर्नेछ । स्थानीय विशेषतामा आधारित एकीकृत खेती प्रणाली प्रवद्र्धन गर्नुपर्नेछ । स्रोतहरूको पुनरुत्पादनमा आधारित कम लागतको कृषि प्रणाली अपनाउनुपर्नेछ ।

आर्थिक रूपले सबल, सामाजिक न्याय र समानतामा आधारित तथा दिगो पर्यावरणका सिद्धान्तका आधारमा कृषि क्षेत्रलाई उत्पादनशील र प्रतिस्पर्धी बनाउनुपर्छ । किसान संस्कृतिको सम्मान बढाउँदै लैजाने कार्यदिशा विना यो मुलुकको जीवन पद्धति र अर्थतन्त्रको जग बलियो हुँदैन ।

दिगो कृषि पद्धति अपनाउन मुख्यतः उत्पादन र उपभोगका सबै आयामहरूको प्रवर्द्धनमा जोड दिने कुरामा यहाँको विमति हुँदैन भन्ने ठान्दछु । यहाँ किसान मुक्ति आन्दोलनको नेतृत्व गरेकै कारण निरंकुश शासकको फन्दामा परी १४ वर्ष जेल जीवन बिताउनु परेको सुनेको छु । यस्तो किसान आन्दोलनको नेता नै राज्यप्रमुख हुँदा किसानको उत्पादन र आम्दानी बढाउने तथा रोजगारीका अवसर सृजना गर्ने विषयलाई केन्द्रमा राख्नुहुनेछ भन्ने विश्वास गरेको छु ।

अन्त्यमा, ढाँटको मानो खाइपत्याउनु भन्ने हाम्रा पुर्खाको उखान मलाई असाध्यै घत पर्छ । यहाँले पनि उखानमा निकै दख्खल राख्ने हुँदा यहाँलाई पनि त्यस्तै लाग्छ भन्ने होला भन्ने ठान्दछु । यहाँको कार्यकाललाई त्यसरी नै हेर्ने अपेक्षा राखेको छु ।

धन्यवाद ।

भैंसेपाटी, काठमाडौं ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?