+
+
नेपाली वैज्ञानिक समेत संलग्न रहेको अनुसन्धान भन्छ :

जलवायु परिवर्तनले दिन लामो हुने क्रम बढायो 

 

जलवायु परिवर्तनको प्रभाव सशक्त बन्दै जाँदा त्यसले समयलाई समेत प्रभावित गर्न थालेको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ। 

 

मणि दाहाल मणि दाहाल
२०८१ साउन ३ गते १९:३०

‘प्रोसिडिङ्स अफ नेसनल एकेडेमी अफ साइन्स (पिनास)’ मा सोमबार प्रकाशित अनुसन्धान अनुसार जलवायु परिवर्तनले पृथ्वीको परिक्रमा प्रक्रियालाई सुस्त बनाउने क्रम बढेको छ। जसको कारण दिन लम्बिने प्रक्रिया अझै बढेको छ।

नेपाली वैज्ञानिक समेत संलग्न रहेको सो अनुसन्धानले पृथ्वीको तापमान बढ्दा ध्रुवीय क्षेत्रको हिउँ पग्लिएर पृथ्वीको भार भूमध्यरेखाको क्षेत्रतर्फ सर्न थालेको छ।

‘द इन्क्रिजिङली डोमिनेन्ट रोल अफ क्लाइमेट चेन्ज अन लेन्थ अफ डे फेरिएस’ शीर्षकको अनुसन्धानमा मानव सिर्जन जलवायु परिवर्तनले दिन लम्बिने प्राकृतिक प्रक्रियालाई पनि जित्ने अवस्थामा पुगेको उल्लेख छ।

अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्टेसन (नासा)का वैज्ञानिक सुरेन्द्र अधिकारी सहितको टोलीले गरेको अध्ययन अनुसार जलवायु परिवर्तनको कारण २१औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको दिन २.६ मिलिसेकेन्डले लम्बिनेछ।

‘यो अनुसन्धानले जलवायु परिवर्तनको पृथ्वीमा कतिको धेरै प्रभाव पार्न थालेको देखाउँछ। आफ्नो गतिमा भइरहेको भौगर्भिक घटनालाई समेत यसले प्रभावित गर्न थालेको देखाउँछ’ अधिकारीले भने ‘जलवायु परिवर्तन अवस्था यस्तै रहने हो, हरितगृह ग्याँसको उत्सर्जन अझै बढ्ने हो भने प्रत्येक शताब्दीमा दिन २.६ मिलिसेकेन्डले लम्बिनेछ। तर अहिलेसम्म १.२ मिलिसेकेन्डमै रहेको छ।’

प्राकृतिक कारणले पृथ्वीले एक शताब्दी अर्थात् सय वर्षमा १.७ मिलिसेकेन्ड दिन लम्बिन्छ। हजार मिलिसेकेन्डको १ सेकेन्ड हुन्छ। पृथ्वीले ८६ हजार ४०० सेकेन्डमा एक पटक फन्को लगाउँछ।

अधिकारीका अनुसार मिलिसेकेन्ड भन्दा थोरै भन्ने लाग्न सक्छ तर पृथ्वीको उत्पत्ति देखिको समय हेर्ने हो भने जलवायु परिवर्तन भर्खरै सुरु भएको घटना हो।

जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध औद्योगिक क्रान्तिसँग छ। औद्योगिक क्रान्ति अठारौं शताब्दीको अन्त्यतिरबाट शुरु भएको हो। अधिकारीले १९०० यताको तथ्यांक विश्लेषण गर्दा पछिल्लो दुई दशकमा दिन लम्बिने गतिमा पहिलेको तुलनामा झनै बढेको देखिने बताए।

‘औद्योगिक क्रान्तिपछिको समयको अध्ययन गर्दा पछिल्लो दुई दशकमा यो क्रम झनै बढ्दै गएको देखिन्छ’ अधिकारले भने, ‘यो प्रत्येक दशकमा बढ्दै गएको छ।’

अनुसन्धानले २०औं शताब्दीमा जलवायु परिवर्तनको कारण भएको समुद्र सतहको वृद्धिको कारण ०.३ देखि १ मिलिसेकेन्ड बीचमा दिनमा वृद्धि भएको उल्लेख छ। पछिल्लो दुई दशकमा जुन दरमा वृद्धि भएको छ त्यसले एक शताब्दीमै जलवायुको कारणले १.३३ मिलिसेकेन्ड बढ्नेछ। ‘यो २०औं शताब्दी भन्दा निकै बढी हो’ अनुसन्धानको निष्कर्षमा भनिएको छ।

अधिकारीका अनुसार,  करिब साढे ४ अर्ब वर्ष पहिले चन्द्रमा बन्नुअघिसम्म पृथ्वीले ६ देखि ८ घण्टामा एक पटक परिक्रमा गर्ने गरेको थियो। चार अर्ब वर्ष पहिले १२ घण्टा रहेको थियो। चन्द्रमा र पृथ्वीबीचको गुरुत्वाकर्षण क्रिया र अन्तरक्रिया सहितको विषयले पृथ्वीको परिक्रमा सुस्त हुँदै गएर २४ घण्टा पुगेको हो। पृथ्वीको उत्पत्ति करिब ४.६ अर्ब वर्षअघि भएको मानिन्छ।

नासाका वैज्ञानिक सुरेन्द्र अधिकारी

पृथ्वीको परिक्रमाको गतिलाई सुस्त बनाउने प्राकृतिक कारणमा चन्द्रमाको  गुरुत्वाकर्षणको समुद्रमा उत्पन्न हुने ज्वारभाटा सहितका गतिविधिहरू रहेका थिए।

चन्द्रमाको कारणले समुद्रमा उत्पन्न हुने ज्वाराभाटा सहितका प्रक्रियालाई पृथ्वीको परिक्रमाको दरलाई सुस्त बनाउँछ। हामीले समय भनेर गणना गर्ने घण्टा, मिनेट र सेकेन्ड पृथ्वीको एक दिनको परिक्रमासँग सम्बन्धित छ।

विभिन्न प्राचीन सभ्यताहरूमा राखिएको ग्रहण सहितको खगोलीय घटनाहरूको विवरणको अध्ययन गर्दा पनि पृथ्वीको परिक्रमाको गतिलाई सुस्त बनाउँदै लगेको देखाउँछ। ‘त्यस समयमा जलवायुको प्रभाव नहुँदा पनि आफ्नै ढंगले परिक्रमाको घटना लम्बिने कार्य भइरहेको थियो’, अधिकारीले भने।

उनले भिन्नभिन्न कालखण्डमा फरक–फरक सभ्यताहरूले ग्रहण सहितको खगोलीय घटना सम्बन्धी राखेको विवरणसँग अहिलेको समयमा बसेर गर्ने गरेको गणना नमिल्ने घटनाले पनि पृथ्वीको परिक्रमा सुस्त भएको विषयसँग सम्बन्धित रहेको बताए।

‘अहिले बसेर गणना गर्दा एउटा कुनै समयमा लागेको भन्दा अर्कै स्थान र समयमा लागेको भेटिन्छ’ उनले भने, ‘ग्रहण सम्बन्धी जानकारी ३ हजार वर्षदेखिको भेट्न सकिन्छ। त्यो प्राकृतिक रूपमा पृथ्वीको दिन बढ्दै जाँदा आएको फरकपनाको कारण भएको हो।’

पृथ्वीको औसत तापक्रममा वृद्धि भएसँगै ध्रुवीय क्षेत्रमा रहेका ठूल्ठूला हिमखण्डहरू पग्लिंदै गएका छन्।

‘जलवायु परिवर्तनमा मुख्य प्रभाव भनेको हिमनदी र जमेको हिउँ पग्लिने हो। उत्तरी ध्रुव र अन्टार्टिकामा हिउँ पग्लिंदा समुद्र सतह बढ्ने भन्ने हो’ अधिकारीले भने, ‘यसरी पग्लिंदा पृथ्वीको भार भूमध्यरेखातर्फ सरेको छ। पृथ्वीमा बीच भागमा जुन थेप्चिएको छ त्यसलाई झनै बढाएको छ।’

२०२३ विश्वको सबैभन्दा गर्मी वर्ष थियो। मानव सिर्जित जलवायु परिवर्तन र प्राकृतिक रूपमा महासागरको पानीको सहतलाई तातो बनाउने मौसमी घटना ‘एल निनो’लाई कीर्तिमानी गर्मीको कारण मानिएको छ।

यो अनुसन्धानमा अधिकारी सहित अमेरिकी, क्यानाडेली र स्वीस वैज्ञानिकको संलग्नता छ।

यसैगरी अधिकारी संलग्न रहेको पोलर मोसन सम्बन्धी अनुसन्धान अर्को प्रतिष्ठित साइन्स जर्नल ‘नेचर जिओसाइन्स’मा गत शुक्रबार प्रकाशित भएको छ। सो अनुसन्धानले पृथ्वीको उत्तरी ध्रुवमा भइरहने परिवर्तन यसको केन्द्रभाग, सतह र जलवायुमा आउने परिवर्तनसँग सम्बन्धी जटिल प्रक्रियामा आधारित हुने देखाएको छ।

वर्षभरि नै पृथ्वीको ध्रुव निरन्तर रूपमा सानो परिणाम यताउति सरिरहन्छ। दुई शताब्दी पहिले नै ध्रुवको चाल स्थिर नरहेको पत्ता लागे पनि त्यसको कारण भने रहस्यमै रहेको थियो। प्रत्येक वर्ष उत्तरी ध्रुव पश्चिमतर्फ अर्थात् क्यानाडातिर सर्ने गरेको छ। यसरी ध्रुव सर्ने कार्यलाई ‘पोल मोसन’ भनिन्छ।

‘नेचर जिओसाइन्स’मा  गत शुक्रबार प्रकाशित अनुसन्धानले ‘पोल मोसन’ पृथ्वीको कोर (केन्द्र भाग), मान्टल (केन्द्र भाग र सतहबीचको भाग), सतहमा हुने प्राकृतिक र मानव गतिविधि र जलवायुमा आउने परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख छ।

अनुसन्धानले १२० वर्षको विभिन्न स्रोतहरूबाट डेटा र अध्ययनको नयाँ विधि प्रयोग गरेर पोल मोसनमा पृथ्वीका विभिन्न भागमा हुने परिवर्तनको भूमिका बारेमा पत्ता लगाएको हो।

यो अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता स्विट्जरल्यान्डको जुरिचस्थित इन्स्टिच्युट अफ जिओडेसी एन्ड फोटोग्रामेट्रीका मुस्तफा किआनी शाहभान्दी छन्। ‘मुस्तफाले २ वर्षभन्दा अघि इमेल गर्दै मिलेर अनुसन्धान गर्न आग्रह  गरेका थिए’ अधिकारीले भने, ‘यो अनुसन्धान मेरो परिकल्पनामा आधारित हो।’ अनुसन्धानमा विभिन्न विधाका प्रमुख विषयका विज्ञ समेटिएको छ।

अधिकारीले सुझाएको अवधारणामा आधारित भएर मुस्तफाले अनुसन्धान गरेका हुन्। अधिकारी रिसर्चको सेकेन्ड राइटर हुन्।  ‘कन्ट्रिब्युसन अफ कोर, मान्टल र एन्ड क्लाइटोलोजिकल प्रोसेस टु अर्थ्स पोलार मोसन’ शीर्षकको अनुसन्धान प्रकाशित भएको छ।

लमजुङका अधिकारी अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को जेट प्रोपल्सन ल्याब्रोटरीमा वैज्ञानिकको रूपमा कार्यरत छन्। सो ल्याब्रोटरी क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक)ले नासाका लागि व्यवस्थापन गर्छ। यसअघि अधिकारीले उत्तरी ध्रुव सर्ने प्रक्रिया पृथ्वीमा भारको स्थान परिवर्तनसँग सम्बन्धित रहेको बताएका थिए। जसमा ग्रिनल्यान्डमा हिउँ पल्गिनेदेखि दक्षिणएशियामा हुने खडेरी र ठूला बाँध निर्माणको विषय रहेको जनाएका थिए।

‘मेरो सुरुको पेपर पछिल्लो १५ वर्षको कालखण्ड हेरेर तयार पारिएको थियो। अहिले यसमा १२० वर्षको डेटा छ। मेरो पेपरमा भएका भन्दा थप विषयहरूको प्रक्रियाहरूको अध्ययन भएको छ’, अधिकारीले भने। दुई वर्ष लगाएर गरिएको अनुसन्धानमा सन् १९०० देखि राखिएको डेटा, स्याटलाइट प्रविधिबाट प्राप्त जानकारीहर”को अध्ययन गरिएको छ। त्यसैगरी फिजिक्स इन्फर्म न्युरोन नेटवर्क (पिन्स)को प्रयोग गरिएको थियो।

‘पिन्स (फिजिक्स इन्फर्म न्युरोन नेटवर्क) हो। यो मेसिङ लर्निङको विधि हो यसमा भौतिक विज्ञानको सूत्र अनुकूल र उपलब्ध रहेको डेटा अनुकूल व्याख्या गर्ने गर्छ’ अधिकारीले भने ‘यसले उपलब्ध डेटाबाट त्यसको प्याटर्न हेर्छ तर त्यसको प्याटर्नलाई मात्रै हेरर भएन त्यसमा फिजिक्स इक्वेसनहरूलाई पनि हेर्छ। दुवैको उचित संयोजन  गर्दा त्यसबाट परिणाम आउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?