+
+

सुदूरपश्चिम सरकारको पत्र काठमाडौं पठायो प्रदेश प्रमुखको कार्यालयले

प्रदेश प्रमुख काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १६:०५
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।

३ साउन, धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै नफर्किएपछि सरकारले सिफारिस गरेको प्रदेश सभा अधिवेशन अन्त्यको पत्र काठमाडौं पठाइएको छ ।

प्रदेश प्रमुख मियाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका थिए । मियाँ काठमाडौं जानुअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । तर प्रदेश प्रमुखले सरकारको सिफारिस कार्यान्वयन नगरी काठमाडौं गएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौं उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको बताउँदै आएको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बिहीबार उक्त पत्र काठमाडौं पठाइएको जानकारी दिए । ‘उहाँले स्वास्थ्यमा समस्या भएकाले फर्किन समय लाग्ने भयो, यतै पठाउनुहोस् भनेपछि पठाइएको हो,’ उनले भने ।

राजनीतिक समीकरण फेरिएपछि २० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेट पारित भएको छैन । बजेट पारित नहुँदा र अध्यादेशबाट समेत आउन नसक्दा सुदूरपश्चिममा ‘बजेट होलिडे’ भएको छ ।

सरकारले पठाएको पत्र प्रदेश प्रमुखले कार्यान्वयन गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?