+

खानालाई ‘जंक’ भन्नु ठीक हो त ?

२०८१ साउन  ३ गते १६:४३ २०८१ साउन ३ गते १६:४३
खानालाई ‘जंक’ भन्नु ठीक हो त ?

अहिले ‘जंक फुड’, ‘पत्रु खाना’ जस्ता शब्द निकै प्रचलनमा छन् । विशेषगरी आफूलाई पोषणविद् भन्ने र खाद्य पदार्थको सम्बन्धमा धेरथोर सतही ज्ञान भएका व्यक्तिहरुले यो शब्द निकै प्रयोग गर्ने गरेको पाइन्छ । सामान्य उपभोक्ता समेत यो शब्द प्रयोग गर्न अभ्यस्त भइसकेको अवस्था रहेको छ अहिले | के खानालाई ‘जंक’ भन्नु उपयुक्त हो त ? के खानालाई असल र खराब भनेर छुट्याउनु सही हो त ?

‘जंक फुड’ शब्दको कुनै आधिकारिक वा कानुनी परिभाषा छैन । यो सामान्यतया अस्वस्थकर, कम पोषण भएको र धेरै मात्रामा प्रशोधित, चिल्लो, चिनी वा नुन धेरै भएको खाद्य पदार्थलाई जनाउन प्रयोग गरिन्छ । प्रायः ती खाद्य पदार्थ जो क्यालोरीमा धनी र पोषणमा कमजोर हुन्छन् । त्यसकारण स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन् । ‘जंक फुड’को अवधारणालाई धेरैजसो मानिसले चिन्ने भएपनि यसलाई स्पष्ट कानुनी परिभाषा दिन कठिन छ । विभिन्न स्वास्थ्य संगठन र पोषण विशेषज्ञहरूले यसको व्याख्या विभिन्न तरिकाले गर्ने गरेका छन्, तर सामान्यतया यसले हानिकारक वा अस्वस्थकर खाद्य पदार्थ भन्ने जनाउँछ ।

सबैभन्दा पहिले शब्दमै जाऔं | कोलिन्स शब्दकोषका अनुसार खाना भनेको कुनै पनि पदार्थ हो, जसले जीवलाई पोषण र ऊर्जा प्रदान गर्छ । ‘जंक’ भनेको बेकार, काम नलाग्ने वा न्यून मूल्यको वस्तु भन्ने अर्थमा प्रयोग गरिन्छ । त्यसैले नैतिक दृष्टिकोणले हेर्दा खानालाई ‘जंक’ भन्नु उपयुक्त हुँदैन, किनकि यसले कुनै न कुनै रूपमा पोषण प्रदान गर्छ र पोषण प्रदान गर्ने वस्तु बेकार हुँदैन | कि त कुनै वस्तु खाना हुन्छ कि त ‘जंक’ हुन्छ, ‘जंक फुड’ हुन सक्दैन | उदाहरणको रूपमा कुनै व्यक्ति बदमास हुनसक्छ वा सज्जन हुनसक्छ ‘बदमास सज्जन’ हुन सक्दैन |

दोस्रो कुरा, खानालाई जंक भन्नु भनेको कुनै खाद्य पदार्थलाई पूर्णतः नकारात्मक दृष्टिले हेर्नु हो । यस्तो दृष्टिकोणले खाद्य पदार्थको सम्पूर्ण पोषण मूल्यलाई नजरअन्दाज गर्न सक्छ । त्यसैले हामीले यसरी खाद्य पदार्थलाई वर्गीकृत गर्दा यसको पूर्ण सन्दर्भलाई ध्यान दिन आवश्यक छ । प्रत्येक व्यक्तिको जीवनशैली, शारीरिक गतिविधि र पोषण आवश्यकता फरक-फरक हुन्छन् । कुनै व्यक्तिका लागि एक विशेष खाद्य पदार्थ असल हु सक्छ भने अर्को व्यक्तिका लागि त्यही खाद्य पदार्थ हानिकारक हुनसक्छ । उदाहरणका लागि उच्च क्यालोरीयुक्त खाद्य पदार्थ एक जना खेलाडीका लागि ऊर्जा प्रदान गर्न सहायक हुनसक्छ । तर सोही खाद्य पदार्थ दिनभरि कुर्सीमा बसेर काम गर्ने व्यक्तिका लागि स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

त्यसैगरी एक हिसाबले खाद्य पदार्थलाई जंक भन्नु भनेको हाम्रो खाद्य छनोटमा संयमता र सन्तुलनको अभावलाई समेत इंगित गर्छ । संयमित रूपमा कुनै पनि खाद्य पदार्थको सेवन गर्दा त्यसको नकारात्मक प्रभाव न्यून रहन्छ । उदाहरणका लागि कहिलेकाहीं पिज्जा, बर्गर वा चाउचाउ खानु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छैन, तर दिनहुँ यस्तो खाद्य पदार्थको अत्यधिक सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुनसक्छन् ।

हामीले के पनि बुझ्न जरुरी छ भने खाना केवल खाना हो, खानाको आफ्नै कुनै नैतिक मूल्य हुँदैन | त्यसैगरी खानाको आनन्द लिंदा वा त्यसबाट टाढा बस्दा त्यसले तपाईंको नैतिक मूल्य निर्धारण हुँदैन । तपाईंको खानाको छनोटले तपाईंलाई राम्रो वा नराम्रो व्यक्ति बनाउँदैन ।

समयअनुसार फरक-फरक खाना मनपर्नु सामान्य हो, चाहे तपाईं परम्परागत पिज्जा, बर्गर, चाउमिन रोज्नुहोस् वा स्वस्थ विकल्पहरू जस्तै कोदोको रोटी, उसिनेको गेडागुडी, फलफूल, अण्डा । दुवै छनोट पूर्ण रूपमा मान्य छन् र महत्त्वपूर्ण कुरा भनेको तपाईंको निर्णय पछाडि रहेको मानसिकता हो । खाना आफैंमा असल वा खराब हुँदैन | खाना ‘न्युट्रल’ हुन्छ |

नेपालकै सन्दर्भमा हेर्ने हो भने सम्पन्न र खान-लाउन पुग्ने समाजमा जंक फुड अस्वस्थकर खानाको प्रतीकको रूपमा हेरिन्छ र स्वास्थ्य जोखिमका कारण अस्वीकार गरिन्छ । तर नेपालमा जहाँ धेरै बच्चा कुपोषित छन्, यी प्रशोधित (जस्तै- चाउचाउ, बिस्कुट आदि), उच्च बोसो र उच्च क्यालोरी भएका खानाले उनीहरूको आहारमा अभाव भएका आवश्यक पोषक तत्व र ऊर्जा प्रदान गर्न सक्छन् । यो भन्दा महत्वपूर्ण त भोक मेटाउँछन् । दैनिक छाक समेत टार्न समस्या भएका यस्ता वर्गलाई उत्पादक र सन्तोषजनक जीवनको सम्भावना दिन सक्ने यस्ता खानालाई चाहे त्यो प्रशोधित, उच्च बोसो र उच्च क्यालोरी भएको नै किन नहोस् जंक भन्न उपयुक्त होला त ?

सामान्य उपभोक्ताले जंक फुडको सतही ज्ञानभन्दा गहिराइमा गएर खाद्य पदार्थको पोषण मूल्यलाई बुझ्नुपर्छ । खानालाई असल र खराब भनेर छुट्याउँदा हामीले त्यसको सम्पूर्ण सन्दर्भ समेतलाई हेर्नु आवश्यक हुन्छ । यसरी मात्र हामी स्वस्थ जीवनशैली अपनाउन सक्छौं र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं । हाम्रा आहार चयनहरूमा सचेत भएर, सन्तुलन र संयमको साथमा पोषणलाई महत्व दिने हो भने हामी दीर्घकालीन स्वास्थ्यलाभ प्राप्त गर्न सक्छौं । यसले हामीलाई सही निर्णय गर्न मद्दत गर्छ र हामीले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तरलाई सुधार्न सक्छ । स्वस्थ जीवनशैली अपनाउनका लागि हामीले विभिन्न खाद्य पदार्थलाई सन्तुलित रूपमा उपभोग गर्नुपर्छ, जहाँ फलफूल, तरकारी, सम्पूर्ण अन्न, प्रोटिन र स्वस्थ बोसोहरूको मिश्रण समावेश हुन्छ ।

अन्त्यमा, सम्भव भएसम्म हाम्रो खाद्य छनोटमा हामीले जंक फुड शब्दको प्रयोगलाई कम गर्नुपर्छ, बरु स्वस्थकर आहारलाई प्रोत्साहित गर्नुपर्छ । खानालाई असल र खराब भनेर छुट्याउँदा हामीले त्यसको सम्पूर्ण सन्दर्भलाई हेर्नु आवश्यक हुन्छ । वैकल्पिक दृष्टिकोणका रूपमा खराब, जंक वा पत्रु जस्ता शब्दहरूको सट्टा खानेकुराको उपभोगको आवृत्तिलाई वर्णन गर्ने तटस्थ शब्द प्रयोग गर्नुपर्छ ।

उदाहरणका लागि ‘पोषक तत्वयुक्त’ र ‘कम पोषक तत्वयुक्त’, वा ‘दैनिक खानेकुरा’ र ‘कहिलेकाहीं खानेकुरा’ भन्न सकिन्छ । खानेकुराको पोषण मूल्य र तिनीहरू कसरी सन्तुलित आहारमा फिट हुन्छन् भन्ने कुरामा शिक्षा दिनु पनि महत्त्वपूर्ण छ । स्वस्थ, संयमित र सन्तुलित आहारको माध्यमबाट मात्र हामी पूर्ण स्वस्थ जीवन जिउन सक्छौं न कि खानालाई जंक, पत्रु, राम्रो वा नराम्रो भनेर ।

खानेकुरा जंक फुड प्रतीक जोशी
प्रतीक जोशी
लेखक
प्रतीक जोशी
खाद्य अनुसन्धान अधिकृत

जोशी खाद्य अनुसन्धान अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय