+
+

ओलीलाई चेक दिने प्रचण्ड प्रयत्न

उपेन्द्र यादव फकाउँदैछन्, अरु वाम तथा प्रगतिशील शक्ति जोड्ने तयारी छ

एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग मिलेका नयाँ प्रधानमन्त्री केपी ओलीलाई समाजवादी मोर्चामार्फत् चेक दिने प्रचण्डको तयारी छ । तर उपेन्द्र यादवलाई आफूतिर ल्याउने प्रचण्डको चाहना पूरा नहुने देखिएको छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ साउन ३ गते २१:०२

३ साउन, काठमाडौं । दुई दिनअघि समाजवादी मोर्चाको बैठकमा उपेन्द्र यादव त गएनन्, तर उनका लागि भनेर एउटा कुर्सी खाली नै राखियो । जसपा नेपाल अध्यक्ष यादवलाई पर्खिरहेको जनाउ दिन मंगलबार नेकपा एकीकृत समाजवादीको आलोकनगर मूख्यालयस्थित बैठकस्थलमा राखिएको उक्त कुर्सीको किस्सा रोचक छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला उनकै मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादवको कुर्सी गुमेको थियो । त्यो कुर्सी कसका कारणले किन गुम्न पुगेको थियो भन्नेबारे दुई थरि दाबीहरु छन् ।

एकथरिले २१ फागुनमा बनेको माओवादी–एमाले गठबन्धनमा साझेदार बनेको जसपाले सत्ता–गठबन्धन तोड्न प्रयास गरिरहेको भन्दै उनलाई विफल तुल्याउन उनकै दल फोड्नु परेको दाबी गर्ने गरेका छन् ।

अर्काथरि चाहिँ यादवको एकांगी कार्यशैलीका कारण जसपा नेपालमा बस्नै नसकिने अवस्था उत्पन्न भएपछि अशोक राई समूहले उनी नेपालबाहिर रहेको मौका छोपेर दल फुटाउनुपरेको जिकिर गर्ने गरेका छन् ।

यादव अमेरिका भ्रमण छोट्याएर हतार–हतार नेपाल आए । तर १२ सांसद रहेको जसपाबाट ७ सांसदलाई रोक्न ढिला भइसकेको थियो । अशोक राईसहित ७ सांसदले २३ वैशाखमा जसपा नामक अर्को दल बनाएका थिए ।

खासमा  जसपा नेपाल के कति कारणले फुटेको हो भन्ने अन्योलको निरुपण हुन नपाउँदै तत्कालीन प्रधानमन्त्री प्रचण्ड स्वयंले सिन्धुलीको सुनकोशी गाउँपालिका पुगेर हौसिँदै बोल्न पुगे, ‘अनेक गरिन्छ, तर सरकारलाई पूरै अवधि लगिन्छ । तपाईंहरुले केही दिनअघिका गतिविधि पनि देखिहाल्नुभयो होला ।’

दर्शकमा हाँसोको फोहरा छुट्यो । सुनकोशी मरिन डाइभर्सन छिचोलेर फर्कदा गाउँपालिकाको कार्यक्रममा हल्काफुल्का टिप्पणी गर्ने हुँदा प्रचण्डले आफ्नै क्याबिनेटका उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई टाढा पुर्‍याउन पुगे ।

सत्ता गुमेपछि प्रचण्ड तिनै यादवलाई फकाउन कस्सिएका छन् । अनि आफू एमालेसँग चार महिनाअघि मिल्न गएसँगै अलपत्र परेको समाजवादी मोर्चालाई फेरि क्रियाशील गराउन लागेका छन् ।

एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग मिलेका नयाँ प्रधानमन्त्री केपी ओलीलाई समाजवादी मोर्चामार्फत् चेक दिने प्रचण्डको तयारी छ । जसपा फुटका बेला आफूसँग बिच्किए पनि उपेन्द्र यादव एक महत्वपूर्ण साझेदार हुन सक्छन् भन्ने उनले बुझेका छन् ।

महिन्द्र राय यादव, प्रचण्ड, माधवकुमार नेपाल, विप्लव रहेको लहरमा उपेन्द्र यादवका लागि खाली राखिएको कुर्सी ।

यसबीचमा प्रचण्ड आफैंले पनि यादवसँग कुरा गरिसकेको बुझिएको छ । दोस्रो तहका माओवादी नेताहरुले पनि यादवसँग कुरा चलाइरहेका छन् ।

हुन त संसदमा अब यादवसँग केवल पाँच सिट छ । ०६३ को मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा जबर्जस्त उदाएका यादव आफ्नो राजनीतिक करिअरकै अप्ठेरो मोड सामना गरिरहेका छन् । तैपनि उनको ऐतिहासिक महत्व प्रचण्डजत्तिका चलाख नेताले नबुझ्ने कुरै भएन । किनभने यादव जोडिँदा मधेश आन्दोलनको विरासत प्रचण्डसँग जोडिन पुग्छ ।

यी सबै कारण र पृष्ठभूमिबाट खुल्न आउँछ– समाजवादी मोर्चा बैठकमा यादवका लागि भनेर छुट्याइएको खाली कुर्सी प्रचण्ड–चाहनाकै परिणाम थियो ।

‘उपेन्द्रजीसँग कुरा भइरहेको छ, उहाँले आफ्नो पार्टी विभाजनको वास्तविक कारण के थियो र को थियो भन्ने बुझ्न थाल्नुभएको छ’, प्रचण्डले बिहीबार अनलाइनखबरसँग भने, ‘हामी उहाँसहितको समाजवादी मोर्चालाई अझै बलियोसँग अघि बढाउँछौं । संविधान र यसले ग्यारेन्टी गरेको संघीयता, समावेशीता, समानुपातिक प्रणालीको सारतत्वलाई अझै प्रगतिशील ढंगले अघि बढाउँछौं ।’

तर परिस्थिति प्रचण्डले सोचेजस्तो सहज छैन, किनभने यादवले ओलीलाई समर्थनमात्रै गरेका छैनन्, अब आइतबार संसदमा विश्वासको मत समेत दिने तयारीमा छन् । प्रचण्डले यादव फर्किने आत्मविश्वास देखाए पनि स्वयं यादव मोर्चाको औचित्यबारे उति सकारात्मक छैनन् ।

ओली सरकारलाई यादवले समर्थन दिए पनि उनका मन्त्री परेका छैनन्, जबकि उनीबाट फुटेको अशोक राईको सातसिटे जसपाले दुई मन्त्री पठाउन सफल रह्यो ।

तैपनि यादव वैशाखमा प्रचण्ड–क्याबिनेटको कुर्सी गुमेको पीडामा यति धेरै परेका छन् कि, पाँच दिनअघि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा उनले निशर्त समर्थन गरिदिए ।

हाल जनकपुरमा रहेका यादव ओलीलाई विश्वासको मत दिनकै लागि शनिबार काठमाडौं आउने छन् । आइतबार ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

माओवादी पंक्ति भने यादवलाई उनको पार्टी खासमा ओलीका कारण फुट्न पुगेको भन्दै नजिक्याउन प्रयास गरिरहेको छ । ओलीले जसपा नेपाल फुटाएर आफ्नो गठबन्धन तत्काललाई चुनौतीरहित, अनि दीर्घकालीन रुपमा चाहिँ आफू अनुकुल बनाउन चाहेको माओवादी पंक्तिको दाबी छ । तर यादव ओलीलाई नै साथ दिएर जानेमा दुविधारहित छन् ।

‘प्रचण्डजीको सत्ताले हामीलाई समाप्त पार्ने खेल गरेपछि विपक्षमा मतदान गरेका थियौं, अहिले प्रतिपक्षमा आएपछि उहाँहरुलाई हाम्रो आवश्यकता परेको हुन सक्छ’, यादवले जनकपुरबाट फोनमा भने, ‘तर हामी दुईटा डुंगामा खुट्टा राख्दैनौं । ओलीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन्छौं ।’

आफूहरुले मन्त्री वा कुनै नियुक्ति मागेर नयाँ सरकारलाई समर्थन नगरेको यादवले बताए । आफू मोर्चाप्रति धेरै नकारात्मक नरहे पनि पूरै सकारात्मक मान्न नसकिने उनले सुनाए । ‘सरकारलाई समर्थन छ, काम हेरेर बाँकी मूल्यांकन गर्छौं’, यादवले भने, ‘अहिलेसम्म त मोर्चालाई कम्युनिस्ट मोर्चा भन्दिए हुने अवस्था छ, बाँकी पछिको सम्भावनाबारे अहिले धेरै नभनौं ।’

समाजवादी मोर्चा गठनपछिको पहिलो बैठक ।

पोहोर असारमा गठन भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जसपा नेपाल, विप्लव नेतृत्वको नेकपा सामेल थिए । ८९ सिटसहित संसदको सबैभन्दा ठूलो दल कांग्रेससँग सहकार्यमा रहेको माओवादी केन्द्रलाई आफ्नो ३२ सिटले मात्रै बलशाली बन्न सम्भव भइरहेको थिएन ।

त्यसैले एकीकृत समाजवादीको १०, तत्कालीन जसपाको १२ समेत जोडेर ५४ सिटसहित उनी कांग्रेससामू गन्न मिल्ने शक्तिकै नेता दरिनसमेत मोर्चालाई प्रयोग गर्न सफल भएका थिए । प्रचण्डले काँध फेरेसँगै मोर्चा निष्क्रियप्रायः बन्न पुगेको थियो । माओवादी केन्द्र असार २८ पछि प्रतिपक्षमा आएसँगै महेन्द्र यादवको नेसपा समेत जोडेर मोर्चा फेरि पुनःगठित गर्न खोजिएको छ ।

मोर्चाले वैशाखअघिसम्म तोकेका देशव्यापी कार्यक्रम, भेला, बुद्धिजीवीसँग विमर्श लगायत कुनै पनि अभियान कार्यसूचीबमोजिम अघि बढ्न सकेनन् । त्यसका पछाडि मोर्चाका सहयात्री त्यागेर एमालेसँग जोडिने प्रचण्ड रणनीतिले काम गरेको थियो ।

तर अब प्रचण्डले मोर्चालाई नछाड्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको बैठकमा उनले त्यसै अनुसार कुरा राखे । माधव नेपाल लगायत नेताले विगतमा मोर्चा एक हदसम्म उपेक्षित बन्न पुगेको भन्दै प्रचण्डको आलोचना गरेका थिए । प्रचण्डले पनि सत्ता सञ्चालनको सिलसिलामा मोर्चाको भूमिका ओझेल पर्न गएजस्तो देखिएको स्वीकार गरेका थिए । अब सँगसँगै मिलेर जाउँ भन्नका लागि आफू नेकपा एसकै अफिसमा आएको समेत उनले बताउँदा माधव नेपाल पुलकित थिए ।

प्रचण्डले कांग्रेस–एमाले संविधानका अग्रगामी भावनाविरुद्ध सक्रिय हुन खोजेको आरोप लगाएका छन् । जनताका अधिकार पुनप्राप्ति गर्नका लागि एउटा मात्रै दल नभई थुप्रै मोर्चा, नागरिक समाजहरु मिल्नुपर्ने उनको धारणा छ । आफू कुनै सत्ता परिवर्तनका प्रयासहरुमा नलाग्ने भन्दै हाल पार्टी संगठन निर्माण र विस्तारमै अग्रसर हुने उनले संकेत दिएका छन् ।

उसो त प्रचण्डले जुनसुकै मोर्चा निर्माण गरे पनि नागरिक तहमा वैचारिक ध्रुवीकरणका लागि त्यो सहायक बन्ला, संसदीय शक्ति परीक्षणमा भने त्यसको निर्णायक महत्व हुने छैन । ठूला दुई दल कांग्रेस र एमालेको गठजोड हुँदासम्म प्रचण्ड हाललाई अंकगणितमा तलै पर्नेछन् । उनले ओलीलाई चेक दिन खोजे पनि तत्काललाई कुनै परिणाम आउने छैन ।

यस्तो अवस्थामा समाजवादी मोर्चा सक्रिय हुनुले के अर्थ राख्ला ? ‘नयाँ सरकारले आफ्नो हिसाबले काम गर्ला, हामी पार्टी काममा केन्द्रित हुन्छौं’, प्रचण्डले भने, ‘तर परिवर्तनले ल्याएका उपलब्धि उल्टाउन खोजियो भने त जनतामा जानेबाहेक के विकल्प हुन्छ र ? समाजवादी मोर्चा लगायत वैचारिक फोरमहरु त्यसका लागि महत्वपूर्ण हुन्छन् ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?