+
+

‘अर्को वर्ष टेस्ट राष्ट्रसँग नेपालमै खेल्न चाहन्छौं’

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ साउन ३ गते २०:०८

३ साउन, काठमाडौं । पारस खड्का नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । डेढ दशकभन्दा बढी समय राष्ट्रिय जर्सीमा बिताउँदै सानदार अलराउण्ड प्रदर्शन गरेका उनी गत वर्ष असोजमा नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित हुन पुगेका थिए ।

उनको आगमनसँगै प्रधानमन्त्री कप महिला तथा पुरुष लिग फर्म्याटमा भयो भने राष्ट्रिय टिमसँग खेल्न आयरल्याण्ड ए, वेस्टइण्डिज ए जस्ता टोली नेपाल आए । अब नेपाल प्रिमियर लिग क्यान आफैंले गर्ने तयारी छ ।

क्यानको सचिवका रूपमा खड्काले गरेका अधिकांश कामको तारिफ नै भएको छ, यदाकदा प्रश्न पनि उठेका छन् । यही विषयमा अनलाइनखबरकर्मी भुपेन्द्र जिसीले खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :

टी–२० विश्वकपमा नेपालको प्रदर्शनलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

विश्वकप सधैं विशेष हुन्छ । अझ हामीले त १० वर्षपछि विश्वकपमा प्रतिनिधित्व गरेका थियौं । त्यसैले यसलाई जित्छ, उसलाई जित्छ भन्दा पनि टिमले राम्रो गरोस् भन्ने थियो । विश्वकपले हामीलाई छुट्टै एक्स्पोजर दियो । यो सबै हाम्रो लागि बोनस थियो ।

दक्षिण अफ्रिकासँग राम्रो खेल्दाखेल्दै पनि एक रनले हार्न पुग्यौं, यो हेर्न कत्तिको गाह्रो भयो ?

पक्कै पनि गाह्रो भयो । हामी जुन परिस्थितिमा थियौं, म मात्र होइन, नेपाल क्रिकेटसँग सम्बन्धित सबैलाई गाह्रो भयो । यसै पनि खेल एक रनले हारौं वा १०० रनले, नेपालले हार्दा दुःखी हुनु स्वाभाविक हो । अझै विश्वकप जस्तो स्टेजमा जितको त्यति नजिक पुगेर हार्नु पर्दा दुःख लाग्ने नै भयो ।

सबैभन्दा धेरै दुःखी खेलाडीहरू नै छन् । उहाँहरूमा राम्रो गर्न सक्छौं भन्ने आत्मविश्वास छ । जुनसुकै टोलीलाई हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ मैदान उत्रिनुहुन्छ । नभए दक्षिण अफ्रिका र बंगलादेशसँग खेलअघि नेपालको जित्ने सम्भावना कमै देखिन्थ्यो । तर नेपाली टोलीले जस्तो किसिमको प्रदर्शन गर्‍यो, त्यसले क्रिकेटमा हाम्रो क्षमता देखाउँछ ।

दुई बलमा दुई रन चाहिएको बेला चाहिं तपाईंको मनमा के चलिरहेको थियो ?

विगतमा हामीले एकदम असम्भव जस्ता खेलहरू जितेका पनि थियौं । दुर्भाग्य ! यो पटक हामीले अन्तिम लाइन क्रस गर्न सकेनौं । विश्वकप तयारीमा जुन हिसाबले लगानी गरेका थियौं, त्यो एक रनमा गएर रोकियो

यू–१९ प्रतियोगिताका लागि डडेल्धुराको एउटा गाउँमा थिएँ । त्यहाँ बसेर हेर्दा देशभरि नै विश्वकपको माहोल थियो । इच्छा थियो त्यो दुई बल पूरा होस्, तर भएन । यो पनि खेलको एक अंश हो ।

एउटा क्रिकेटरका रूपमा मैले विभिन्न परिस्थितिमा नेपाली क्रिकेटको जित वा हार नजिकबाट देखेको छु । डिभिजन फाइभमा कीर्तिपुरमा ढुंगा हान्नेदेखि डिभिजन थ्रीको मिराकलसम्म । विश्वकपदेखि ओडीआई मान्यतासम्म । अनि १२ मध्ये ११ खेलमा जित, सबै हेर्दा नेपालले अर्को फड्को मारोस् भन्ने थियो । विगतमा हामीले एकदम असम्भव जस्ता खेलहरू जितेका पनि थियौं ।

दुर्भाग्य ! यो पटक हामीले अन्तिम लाइन क्रस गर्न सकेनौं । विश्वकप तयारीमा जुन हिसाबले लगानी गरेका थियौं, त्यो एक रनमा गएर रोकियो । यद्यपि विश्वजगतले जसरी नेपाली क्रिकेटको मूल्यांकन गरेको छ, त्यो आफैंमा एकदमै प्रशंसनीय छ । नेपाली क्रिकेटको सम्भावनालाई लिएर एकदमै उत्साहित छौं । हाम्रो अहिलेको लक्ष्य भनेको टी–२० विश्वकपमा पुग्न १० वर्ष कुर्नु नपरोस् भन्ने हो ।

यो विश्वकपबाट हामीले सिकेको सबभन्दा राम्रो शिक्षा ?

अमेरिकामा जुन क्राउड (दर्शक) देखियो, पूरा रंगशालाभर नेपालको जर्सी लगाएर जसरी उहाँहरू उभिनुभयो, त्यो साँच्चिकै अद्भुत थियो । सँगसँगै कठिन ग्रुपमा हुँदा पनि हामीले हराउन सक्छौं भन्ने विश्वास त आयो नि ! त्यो विश्वास आउनु आफैंमा ठूलो उपलब्धि हो ।

जितको मात्रै हेर्ने कि समग्र प्रदर्शन भन्ने हो । यो टिमले पछिल्लो दुई वर्षमा ८८ प्रतिशत खेल जितेको छ । विश्वकपमा पनि सक्दो प्रदर्शन गरेको हो । तर यसमै चित्त बुझाएका पनि छैनौं । किनकि विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेपछि अब सन्तुष्ट मात्रै भएर भएन । संसारको आँखा हामीमाथि छ, ओडीआई साइकल (लिग–२) झनै प्रतिस्पर्धात्मक हुनेवाला छ । त्यसैले निरन्तर राम्रोभन्दा राम्रो टोलीसँग कसरी खेल्ने ? कठिन अवस्थामा पनि कसरी जित्ने भनेर यो विश्वकपबाट हामीले सिक्न सक्नुपर्छ, सक्छौं ।

विदेशी भूमिमा नेपालका ब्याटरहरूले अपेक्षा अनुसार राम्रो गर्न सकेको देखिंदैन । तपाईंहरूले खेल्दा एक्सपोजर भएन/पुगेन भन्नुहुन्थ्यो । अहिले टोलीले त एक्स्पोजर पनि राम्रो पाएको छ । तैपनि अपेक्षाकृत प्रदर्शन देखिएन नि ?

विश्वमै घरबाहिर खेल्न सजिलो छैन । त्यही भएर जतिसक्दो एक्स्पोजर दिन खोजेको हो । अब कीर्तिपुरमा क्याम्प लगाउने, बाहिरबाट टिम बोलाएर खेल्ने मात्र होइन, विदेशमा क्याम्प लगाउनुपर्ने हो कि भन्ने हामी छलफलमा छौं ।

सँगसँगै क्रिकेटमा कस्तो हुन्छ भने नतिजा आयो भने सबै राम्रो हुन्छ । हार्‍यो भने प्रश्न उठ्छ । दक्षिण अफ्रिकालाई हराएको भए सबैले राम्रो भयो भन्थे होलान् । जित–हारभन्दा अलि माथि उठेर नेपाली क्रिकेटको समीक्षा गर्नुपर्छ जस्तो लाग्छ ।

विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नुभन्दा दुई दिनअघि खेलाडी ह्याङ आउट पार्टीमा गए । अनेक कार्यक्रममा लगेर सहयोग जुटाउन प्रयोग गरियो भनेर पनि आलोचना भयो । यसलाई चाहिं कसरी हेर्नुभएको छ ?

हामीले त्यहाँको स्थानीय समुदायलाई संलग्न र आकर्षित गर्न कार्यक्रम आयोजना गरेका हौं, त्यो पार्ट अफ क्रिकेट प्रोमोसन हो । एनआरएनले विश्वकपअघि सम्मान गर्ने भनेर कार्यक्रम राखेको थियो । एनआरएनले कसरी पैसा उठायो, हामीलाई थाहा भएन । तर उहाँहरूले सल्लाह गरेरै सम्मान कार्यक्रम राख्नुभएको थियो ।

त्यहाँ पैसा उठाएर न क्यान धनी हुन्छ वा गरिब । यसलाई व्याख्या गर्ने मान्छेको आ–आफ्नो तरिका होला । तर हामीले चाहिं फ्यान फेस्टिबल भनेर एउटा माहोल बनाउन खोजेका हौं । त्यहाँ खेलाडीहरूले धेरै समय बिताएका छैनन् ।

२०१४ मा पहिलो पटक खेलेपछि पुनः विश्वकपमा पुग्न नेपाललाई १० वर्ष लाग्यो । २०२६ को टी–२० विश्वकपलाई क्रिकेट संघले कसरी हेरेको छ ?

अहिले हाम्रो प्राथमिकता लिग–२ मा राम्रो प्रदर्शन गर्नु नै हुनेछ । हामी सीधै विश्वकप छनोटमा पुग्न सक्यौं भने एक स्टेप पार गर्न सक्छौं

हामीले खेलाडी र प्रशिक्षकलाई यो विश्वकपसम्मको यात्रा पूर्ण भएको भनेका छौं । अब नयाँ सोच, भिजन र योजनाका साथ फेरि शून्यदेखि नै अघि बढ्नुपर्छ भन्ने टिममा सबैलाई अनुभूति छ । अब लिग–२ महत्वपूर्ण छ ।

आगामी दुई वर्षमा आवश्यकता जतिसक्दो एक्स्पोजरकै हो । राम्रो विपक्षी टोलीसँग कसरी खेल्ने, सकेसम्म विदेशमा खेलाडीलाई धेरै म्याचहरू खेलाउने र नेपालमा पनि राम्रो राम्रो टोली बोलाएर सिरिज खेल्ने योजना छ । खेलाडी संख्या बढाएर बढी अवसर दिने योजना छ । अनौपचारिक रूपमा २०२६ सम्मलाई तयारी गर्नु भनेर कोचहरूलाई भनिसकेका छौं ।

विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि सिरिज खेल्न ठूला टोलीहरूबाट केही प्रस्ताव आएको छ ?

त्यो खेलको तेस्रो दिन म अर्को सिजनको प्लानबारे कुराकानी गर्न बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को अफिसमा पुगेको थिएँ । बीसीसीआईको अफिसभर त्यो दिन नेपालले दक्षिण अफ्रिकालाई हराओस् भन्ने माहोल थियो रे ! त्यस्तो प्रतिक्रिया पाउँदा एकदमै खुशी लाग्यो । अरूबाट पनि नेपालले दक्षिण अफ्रिकासँग यस्तो खेल्छ भनेर अपेक्षा नगरेको भनेर धेरै म्यासेज आयो ।

जहाँसम्म सिरिजको कुरा छ, भर्खर विश्वकप सकिएकाले आधिकारिक प्रस्ताव आएको छैन । तर कुराकानी भइरहेको छ । आईसीसी अध्यक्ष ग्रेग बार्कले गत चैतमा आउँदा सबै टेस्ट टोलीहरूसँग चिनाउँदै नेपाललाई एउटा राम्रो प्लेटफर्म तयार पार्दिन्छु भन्ने आश्वासन दिनुभएको थियो ।

यही हप्ताको अन्तिममा आईसीसीको वार्षिक साधारण सभा हुँदैछ । त्यहाँ टेस्ट टोलीका प्रमुखहरूसँग पहिलो पटक औपचारिक रूपमा कुरा गर्ने वातावरण मिल्नेछ ।

टेस्ट टोली तत्काल नेपाल आउन सक्छन् ?

पूर्वाधार लगानीमा राज्यको लगानी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद् बैठकबाट ३०० दिनभित्र त्रिवि क्रिकेट मैदान बनाउने निर्णय गराउनुभएको छ । भरतपुर महानगरपालिका, चितवनले टेन्डर पूरा गरेर गौतमबुद्ध रंगशाला बन्ने अवस्थामा छ ।

नेपाली क्रिकेट अहिले उत्साहित अवस्थामा छ । त्यो सबै कुरा मिल्दा टेस्ट राष्ट्रलाई बोलाउन सकिन्छ । वेस्टइण्डिज, आयरल्यान्ड र जिम्बावे ए आएका छन् । चाँडै नै टेस्ट टोली ल्याउन हामीले समन्वय गर्दैछौं । अर्को वर्ष टेस्ट राष्ट्रलाई नेपाली समर्थकसामु नेपालमै बोलाउने सपना छ । त्यसको लागि निरन्तर प्रयास गरेका छौं ।

हामीले अहिलेसम्म एकदिवसीय विश्वकप खेलेका छैनौं, २०२७ को छनोटलाई कसरी हेरेका छौं ?

अहिलेको हाम्रो लक्ष्य एसोसिएटमा नम्बर वान बन्नेछ । त्यो मुखले भनेर मात्रै हुँदैन, यथार्थ के हो भनेर अघि बढ्नुपर्छ । हाम्रो टिममा क्षमता छ, चुनौती पनि त्यति नै छ । लिग–२ मा सबै टोलीको तयारी र खेलाडी हेर्दा कुनै पनि खेल सहज हुने देखिंदैन । त्यसैले हाम्रो लागि अहिलेको प्राथमिकता लिग–२ मा राम्रो प्रदर्शन गर्नु नै हुनेछ । हामी सीधै विश्वकप छनोटमा पुग्न सक्यौं भने एक स्टेप पार गर्न सक्छौं ।

सबैले १० वर्षमा नेपालको टेस्ट मान्यता सपना देखेका छन् । त्यो चाहिं सम्भव छ ?

टेस्ट मान्यता पाउन ५ वर्ष, १० वर्ष, १५ वा २० वर्ष जति पनि लाग्न सक्छ । किनकि टेस्ट मान्यता पाउन एसोसिएटमा नम्बर वान हुनुपर्छ, चार वर्षभित्रमा कम्तीमा तीन चारवटा टेस्ट टोलीलाई हराएको हुनुपर्छ । घरेलु पूर्वाधार राम्रो हुनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा महिला टोलीले राम्रो प्रदर्शन गरेको हुनुपर्ने लगायतका आईसीसीको गाइडलाइन्स छ ।

यो मापदण्ड तीन वर्षमै पूरा हुनसक्छ, ३० वर्ष पनि लाग्न सक्छ । त्यसैले यति वर्ष भन्न गाह्रो छ । तर हामीकहाँ एउटा दुइटा प्रतियोगितामा राम्रो गर्नासाथ विश्वलाई नै हराउन सक्छौं भन्ने सोच राख्छौं । त्यो मानसिकताबाट अलि बाहिर उठेर संरचना रूपमा गर्नुपर्ने काम धेरै छन् । ग्रासरुट क्रिकेट के कस्तो हुन्छ ? अन्तर्राष्ट्रिय क्रिकेटमा एकरूपताको साथ कति राम्रो प्रदर्शन गर्न सक्छौं ? यसमा पनि भर पर्छ । सबै कुरा सही भएमा आगामी १० वर्षमा धेरै सम्भावना छ । तर त्यो भनेको भविष्य हो, अहिलेको लक्ष्य ओडीआईमा टप एसोसिएट बन्ने हो ।

त्यसका लागि घरेलु संरचना बलियो हुनुपर्ला । पछिल्लो समय प्रतियोगिता त बढेको छ, तर अझै अपेक्षाकृत हुनसकेको छैन । किन होला ?

हामीले क्यानमा कति पैसा आएको छ र, त्यसलाई कसरी मिलाउने एउटा हिसाब गरेका थियौं । प्रधानमन्त्री कप देशको ठूलो घरेलु प्रतियोगिता भएको हुँदा बजेट थपथाप पारेर लिग फर्म्याटमा गयौं । त्यसको नतिजा राम्रो नै आयो ।

बजेट धेरै भएमा वर्षभरि तीन–चार वटा राष्ट्रिय प्रतियोगिता गर्न सक्छौं, तर लिमिटेशन छ ।

रातो बल र सेतो जर्सीमा घरेलु क्रिकेट नभएको दुई दशक हुन थाल्यो । यो फर्काउन चाहिं योजना छैन ?

रेड बल यू–१६ मा स्कुल क्रिकेटबाट सुरुवात गर्ने कि भनेर नेशनल स्कुल च्याम्पियनसिप क्यालेन्डरमा राखेका छौं । बर्खापछि गर्ने सोचमा छौं ।

प्रधानमन्त्री कपको शीर्ष चार टोलीको एलिट कप सेप्टेम्बर अन्तिममा गर्ने प्रक्रियामा छौं । टप फोर टिमले टु डे र फाइनल पुग्ने टोलीले थ्री डे खेल्छन् । जिल्लादेखि नै रेड बल ल्याउन बजेटको कमी छ ।

यसमा प्रदेश र जिल्ला संघले पनि केही गर्न सक्थ्यो होला नि ?

जिल्ला र प्रदेशको आफ्नै चुनौती छन् । एउटा सामान्य प्रतियोगिता आयोजना गर्न कम्तीमा ५०/६० लाख लाग्छ । प्रदेशमा प्रायोजक पाउन सजिलो छैन । जिल्ला, प्रदेश र केन्द्रमा क्रिकेटमा निरन्तर लाग्ने मान्छे चाहिन्छ । अहिले हामी सबैजना भोलेन्टियर हौं । भोलेन्टियर्स भएर काम गर्दा सबैको प्राथमिकता क्रिकेट शायद नपर्ला । त्यसैले हामी जति व्यावसायिक हुनुपर्ने हो, त्यति हुनसकेका छैनौं ।

तैपनि नेपाली क्रिकेटको क्रेज हेरेर काम गरौं भन्ने इच्छाशक्ति भएका धेरै जना हुनुहुन्छ । हामी पनि घरेलु क्रिकेटको पछिल्लो ६ महिनाका समीक्षा गर्दै आगामी सिजन कसरी अघि बढ्नुपर्छ भनेर योजना बनाइरहेका छौं ।

तर लामो समयसम्म यस्तै अवस्था रहँदा त खेलाडीहरूको विदेश पलायन बढ्ला नि ?

यो गम्भीर विषय हो । भविष्यमा पूर्वाधार र रंगशाला हुने, खेल्ने खेलाडी चाहिं नहुने अवस्था नआओस् । यसका लागि जिल्ला र प्रदेश संघ बलियो हुनैपर्छ ।

एउटा व्यक्तिलाई बदनाम गरेर क्रिकेटमा आफ्नो दबदबा कायम गर्न सक्छु भन्ने कसैलाई लागेको छ भने उनीहरूले बुझ्नुपर्छ, म पारस खड्का होइन, क्यान भइसकें । क्यानले जे गर्छ, त्यो नै पारस खड्का हो

अहिले हामीले पनि सात प्रदेशका ७ खेलाडीलाई इमर्जिङ प्लेयरका रूपमा सेन्ट्रल कन्ट्याक्टमा राख्न थालेका छौं । अहिलेको यथार्थ के हो भने जिल्ला र प्रदेशका खेलाडी सबैलाई कन्ट्याक्टमा राख्न सक्ने अवस्थामा छैनौं ।

तर मलाई के विश्वास छ भने राम्रो रंगशाला बन्ने हो भने हाम्रो खेलाडीहरू देशमै बसेर क्रिकेट खेलेर बस्ने वातावरण बनाउन सकिन्छ । त्यसैले पहिलो प्राथमिकता राम्रो रंगशाला बनाउनुपर्नेछ । ३०० वा ३६५ दिनमा बनोस् ।

आईसीसी/एसीसीबाट कति आर्थिक सहयोग आउँछ ?

ओडीआई टोलीको १७/१८ लाख डलर (२४ करोड रुपैयाँ) जति छ । एसीसीको ५/७ लाख डलर गर्ला लगभग वार्षिक ३० करोड रुपैयाँ जति हुन्छ । आफैंले प्रायोजक खोज्दा ५० करोडसम्म पुग्न सक्छौं कि भन्ने यो वर्ष अनुमान छ ।

तपाईंहरूले निकै प्राथमिकता दिएको नेपाल प्रिमियर लिगको तयारी चाहिं के भइरहेको छ ?

क्यान आफैंले आयोजना गर्न लागेकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट चासोहरू व्यक्त भएको छ । नेपाल प्रिमियर लिगमा टिम स्वामित्व खरिद गर्न मापदण्ड तोकेर दुई हप्तामा सार्वजनिक रुपमा आह्वान गर्दैछौं । क्रिकेटमा लगानी गर्नसक्ने क्षमता भएको मान्छे टिम मालिकका रूपमा आए राम्रो खेलाडी आउँछन् भन्ने विश्वास छ ।

आईपीएलका फ्रेन्चाइज टिमको चर्चा पनि सुनिन्छ, यसबारे केही भनिहाल्ने अवस्था छ ?

आजभोलि नेपाली क्रिकेट चर्चाको विषय भएको छ । नेपालले दक्षिण अफ्रिकासँग हार्नासाथ आईपीएलका हरेक फ्रेन्चाइज टोलीले ट्वीट गरेका थिए । सोसल मिडियामा हरेक ट्वीटले अर्थ राख्छ । एउटा स्टोरी हाल्नुभयो भने २४ घण्टा टिक्छ, एउटा ट्वीट गर्दा केही मिनेट टिक्ला । तर हरेकको अर्थ हुन्छ ।

हाम्रो बलियो पक्ष भनेको हाम्रो दर्शक हुन् । अमेरिका होस् वा नेपालको मैदानमा समर्थक भरेर देखाउन सक्छौं भने पक्कै पनि विश्व क्रिकेटमै रुचि जागेको छ ।

आशा गरौं, सबै उत्साह एकै ठाउँमा आउँदा ठूलो फ्रेन्चाइज टिमहरू क्यानमा जोडियोस् । पहल पनि भइरहेको छ । अफिसियल रूपमा जोडिएपछि सार्वजनिक गर्दा मज्जा आउनेछ, अहिलेसम्म आधिकारिक रूपमा केही भएको छैन ।

अन्तिममा, तपाईंमाथि टी–२० विश्वकपका क्रममा नक्कली जर्सी बेचेको आरोप पनि लाग्यो, यस विषयमा केही भन्न चाहनुहुन्छ ?

यो नक्कली जर्सी, सन्दीप लामिछानेको भिसा जस्ता जे–जति कुराहरू आए, क्यानभित्रको आन्तरिक राजनीतिको एउटा सानो रूप हो जस्तो लाग्छ ।

त्यसमा मलाई चाहेर नचाहेर जोड्ने नै भए । क्रिकेट छोडेपछि बोर्र्डमा आउन गाह्रो थियो । तर ममाथि बोर्डले देखाएको विश्वासलाई नतिजामा बदल्नुपर्छ भनेर अगाडि बढ्दा कति मान्छेलाई चित्त नबुझेको पनि होला । त्यसैले आरोपहरू आइरहन्छन् ।

हरेक आरोपको स्पष्टीकरण दिइराख्ने हो भने मैले हरेक दिन, घण्टापिच्छे स्टाटस लेख्नुपर्छ, अन्तर्वार्ता दिनुपर्छ ।

यति चाहिं भन्छु, पैसा मात्रै कमाउने उद्देश्य भएको भए संसारको कुनै पनि ठाउँमा आफ्नो क्रिकेटिङ क्षमता देखाएर केही गर्न सक्छु । यसका लागि नेपाल क्रिकेट संघमा आउनुपर्ने थिएन । तैपनि मैले गाह्रो बाटो रोजें ।

एउटा व्यक्तिलाई बदनाम गरेर क्रिकेटमा आफ्नो दबदबा कायम गर्न सक्छु भन्ने कसैलाई लागेको छ भने उनीहरूले बुझ्नुपर्छ, म पारस खड्का होइन, क्यान भइसकें । क्यानले जे गर्छ, त्यो नै पारस खड्का हो ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?