+
+

लम्पी स्किन : किसानले पाएनन् अर्बौंको क्षतिपूर्ति, यो वर्षको तयारी पनि कमजोर

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन ४ गते १२:०२
फाइल तस्वीर

४ साउन, काठमाडौं । गत साल लम्पी स्किनको माहामारीबाट अर्बौंको क्षति बेहोरेका किसानले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन् ।

नेपाल पशु चिकित्सा परिषद्ले महामारी भइरहेकै बेलामा गरेको अध्ययनले यो महामारीबाट किसानको करिब ९० अर्ब बराबरको क्षति हुनसक्ने प्रक्षेपण गरेको थियो ।

तर, यो महामारीबाट किसानले कति क्षति बोहोरे भन्नेबारे राज्यसँग न एकिन तथ्यांक छ, न त एक रुपैयाँ क्षतिपूर्ति बापत प्रदान गरिएको छ ।

पशु सेवा विभागका अनुसार गत वर्ष १५ लाखभन्दा धेरै गाईभैँसीमा लम्पी स्किन रोग देखा पर्‍यो, जसमध्ये ६५ हजारभन्दा धेरै मरे ।

मन्त्रालयले क्षतिको विवरण संकलन गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई जिम्मा दिएको थियो । तर, नार्कले अहिलेसम्म तथ्यांक संकलन गर्न सकेको छैन ।

‘क्षतिबारे अध्ययन रिपोट आइसकेको छैन, रिपोर्ट नआई आर्थिक क्षति यति नै भयो भनेर भन्न सकिने अवस्था छैन,’ नार्कका प्रवक्ता डा. लुमानिधि लौडरीले भने, ‘अब एक–दुई हप्तामा प्रतिवेदन आउँछ ।’

किसानले पाएनन् क्षतिपूर्ति

गोठ रित्तिएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म किसानलाई एक रुपैयाँ पनि राहत रकम उपलब्ध गराउन सरकारले सकेको छैन ।

कृषि मन्त्रालयका अनुसार पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेबारे अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

तर, अर्थ मन्त्रालयले बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान नसक्दा किसानले क्षतिपूर्ति पाउन ढिलाइ भएको कृषि मन्त्रालयको भनाइ छ ।

मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीका अनुसार किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन अर्थ मन्त्रालयले नै आवश्यक काम गर्नुपर्छ ।

‘किसानको अर्बौंको क्षति भएको छ । तर हामीले राहत उपलब्ध गराउन सकेका छैनौं । हामीबाट आवश्यक पहल भइरहेको छ,’ उनले भनिन् ।

क्षतिपूर्ति नपाउँदा कतिपय किसान पशुपालनबाट नै पलायन हुनु परेको उनी आफै स्वीकार गर्छिन् ।

किसान यति धेरै पीडामा हुँदा पनि सरकारले क्षतिपूर्ति नदिएर गैरजिम्मेवार बनेको गुनासो कृषक महासंघका अध्यक्ष उद्धव अधिकारीले गरे । यो पीडाको घडीमा पनि किसानले सरकार भएको महसुस गर्न नसकेको उनको भनाइ छ ।

‘किसान समस्यामा हुँदा सरकार साथमा छ भन्ने आभास दिन समयमै क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने हो, तर त्यस्तो हुन सकिरहेको छैन, जसका कारण कतिपय किसान विदेशिन बाध्य बनेका छन, केही किसान भने पेशाबाट नै पलायन भएका छन्,’ उनले भने ।

यो वर्ष के छ तयारी ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षभन्दा यो वर्ष लम्पी स्किनको खतरा कम रहेको छ ।

सरकारी तथ्यांक अनुसार नेपालमा यो वर्ष लम्पी स्किन रोग देखिएको छैन ।

‘गत वर्ष लम्पी स्किन लागेर ठिक भएका पशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास भइसकेको छ । पशुमा संक्रमण हुन नदिन यसपटक ठूलो मात्रामा खोपको व्यवस्था गरिसकेका छौं,’ कृषि मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र बोहोराले भने ।

२०८० असार मसान्तको तथ्यांकअनुार देशभर गाई–गोरुको संख्या ४७ लाख ५० हजार ३२९ र भैंसीराँगोको संख्या ३० लाख ८१ हजार ६२ छ । यसरी खोप लगाउनुपर्ने कुल पशुचौपायाको संख्या ७८ लाख भन्दा बढी छ ।

तर, यो वर्षका लागि संघीय सरकारले ११ लाख डोज भ्याक्सिन प्रदेशहरूमा पठाएको उनले बताए ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार चालू आवको बजेटबाट थप २६ लाख डोज भ्याक्सिन खरिद गर्ने योजना रहेको छ । यति गर्दा पनि आधाभन्दा बढी पशु चौपायालाई खोपको अभाव हुन्छ ।

तर, प्रदेश सरकारहरुले पनि आफ्नो ढंगले काम गरिरहेको उनको भनाइ छ ।

यो खोप लम्पी स्किनको संक्रमण देखा परेका र जोखिममा रहेका जिल्लाहरुमा प्राथमिकता दिएर लगाइने कारणले खोपको अभाव नहुने उनको दाबी छ ।

यसअघि पशु चौपायालाई लाग्ने रोगहरुको सूचीमा लम्पी स्किन नरहेकोमा यसलाई पनि सूचीकृत गरिएको उनले बताए ।

गत वर्षसम्म २४ वटा पशुसम्बन्धी रोग सूचीकृत भएकोमा यो वर्षदेखि लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर पनि थपिएको उनले बताए ।

बोहोराका अनुसार सूचीकृत गरिएपछि यसमा केन्द्रित भएर मन्त्रालयले जनचेतना, पूर्वतयारी लगायतको काम गर्छ ।

प्रदेश सरकारले स्थानीय तहसँग मिलेर लम्पी स्किनबारेमा जनचेतना चलाउने, बच्ने उपाय र उपचारका विषयमा काम गरिरहेको उनले बताए ।

के हो लम्पी स्किन ?

क्याप्रिपक्स भाइरसअन्तर्गत लम्पी स्किन डिजिज भाइरसका कारण गाई/गोरु/राँगा/भैंसीमा लाग्ने रोग नै लम्पी स्किन रोग हो ।

यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा, लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, संक्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सर्छ ।

छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक रहेको विभागको तर्क छ ।

कृषि मन्त्रालय अन्तर्गत पशु सेवा विभागका अनुसार लम्पी स्किन रोगको रोकथाम गर्न सकिन्छ ।

संक्रमण रोकथामका उपायहरू :

  • संक्रमित क्षेत्रभन्दा बाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेर समूहका पशुलाई उत्पादकले तोकेको मात्रामा लम्पी स्किनविरूद्ध वर्षेनि खोप लगाउने
  • गर्भिणी संक्रमित पशुबाट जन्मेका बाच्छबाच्छी/पाडापाडीलाई ४ महिनापछि खोप लगाउने
  • संक्रमणबाट निको भएका पशुलाई १ वर्ष पछाडि मात्र खोप लगाउने
  • गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने
  • गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन÷खर्क आहालमा नलैजाने संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्ने÷नगराउने
  • संक्रमित साँढे वा राँगो रोग निको नभएसम्म प्रजननको लागि प्रयोग नगर्ने÷नगराउने
  • गोठखोर सफा राखी नियमित फिनेल पानी छर्किने
  • नयाँ पशु गोठमा भित्राउँदा बथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने
  • मरेका पशु र लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने

विभागका अनुसार रोग लागिसकेपछि रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने गर्नु पर्दछ ।

रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर/गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने गर्नु पर्दछ ।

ज्वरो आएको पशुलाई आराम गराउने, जोत्ने, गाडा तान्ने काममा नलगाउने, साथै रोगको लक्षणका आधारमा उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने विभागको भनाइ छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?