
४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नयाँ सरकार मुलुकको अभिभावक बन्ने कोसिस गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु रहेता पनि सरकार सबैको हुनुपर्ने बताए ।
‘आजको सरकार साझा सरकार हो । प्रतिपक्षमा बस्नेको पनि सरकार हो । सत्तापक्षको पनि सरकार हो । यसले कसैलाई पनि काखा र पाखा बनाउनुपर्ने आवश्यकता छैन’ उनले भने ।
विगतमा सत्तामा बस्नेको अभिमान, ठूलो स्वर सुनिने गरेको भन्दै उनले थपे, ‘नयाँ सरकारले यो मुलुकको अभिभावक बन्ने कोसिस गरोस् ।’ प्रतिपक्षमा रहने दलहरुलाई निन्याउरो अनुहार नलगाउन पनि उनले आग्रह गरे ।
‘आज प्रतिपक्षमा बस्ने साथीहरुले निन्याउरो मुख लगाउनुपर्ने कुनै आवश्यकता छ भन्ने लाग्दैन्’ उनले भने । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसर पाएको भनेर सोही अनुसार भूमिका खेल्न उनले प्रतिपक्षमा रहेका दलहरुलाई आग्रह गरे ।
प्रतिशोधमा नलाग्न सुझाव
प्रतिशोधको ज्वालाले सबै दलहरुलाई त्रसित बनाएको उनले बताए । ‘यहाँ प्रतिशोधको ज्वालाले सबै पार्टीहरु डराएको छ’ उनले महाभारतको कथा सम्झिंदै भने । महाभारतमा प्रतिशोधले आफ्नै वंश नाश भएका कथाहरु रहेको उल्लेख गर्दै उनले त्यही नियत्ति भोग्ने अवस्था बन्नेतिर दलहरु अग्रसर हुन नहुने सुझाए ।
‘अब प्रतिशोधको ज्वालामा हिजोका पुराना कुराहरु, पुराना कामकारबाहीलाई मात्रै उखेलेर त्यसलाई प्रतिशोध गर्ने होइन । आफूले पनि केही नयाँ काम गर्ने वातावरण देखाउन सक्यो भने नयाँ सरकारले केही गरेको देखिन्छ’ उनले सुझाए ।
केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले थपे, ‘उहाँ पनि निर्विवाद व्यक्तित्व होइन । यो हामीले भन्नैपर्छ । अब कम विवादित भएर मुलुक निर्माणमा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहोस् । यसतर्फ शुभकामना व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया 4