+
+

उपसभामुखको पत्र प्रकरण : ९ लाख फर्काएपछि रास्वपामा च्याप्टर क्लोज (टेलिफोन संवाद)

उपसभामुख रानाले अमेरिकी दूतावासलाई चिठी लेख्दै पाँच व्यक्तिको भिसा अन्तर्वार्ता मिति मिलाइदिन अनुरोध गरेको जानकारी रास्वपाले तीन महिनाअघि नै पाएर पनि गुपचुप राख्यो । अनलाइनखबरले प्राप्त गरेको अडियोमा यसको सबै विवरण खुल्छ । स्रोतको अनुरोधमा अडियो हामीले आफैंसँग राखेका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १५:५९

४ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र तीन महिनाअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जानकारीमा आएको थियो ।

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । त्यो पत्र सार्वजनिक भएपछि उपसभामुख राना गम्भिर विवादमा परेकी छन् ।

अमेरिकामा हुने  कार्यक्रममा जानका लागि समयको दबाब भएकाले उनीहरुको अन्तर्वार्ता अघि सारिदिन रानाले दूतावासलाई पत्र लेखेकी थिइन् । पत्र लेखेको रानाले स्वीकार गरिसकेकी छन् ।

यो विषय पार्टीका एक शुभेच्छुकले संगठन विभागका सचिव शंकर श्रेष्ठलाई जानकारीमा गराएका थिए । अनलाइनखबरलाई प्राप्त अडियो संवादमा पीडितका पक्षबाट एक व्यक्ति रास्वपा एक शुभेच्छुककहाँ पुगेको जानकारी हुन्छ । पीडितको पक्षबाट आएका ती व्यक्तिको कुराकानीको आधारमा पार्टी शुभेच्छुकले संगठन विभाग सचिव श्रेष्ठलाई यो प्रकरणबारे खुलाउँदै सूचना दिन्छन् ।

अमेरिका लैजानका लागि एक महिलासँग ९ लाख रुपैयाँ (चानचुन) लिएको र लान नसकेपछि उक्त रकम फिर्ता गरेको पार्टी शुभेच्छुक र श्रेष्ठको संवादमा सुनिन्छ । पैसा प्राप्त गरेपछि ‘च्याप्टर क्लोज’ भएको जानकारी पीडितका पक्षबाट सम्पर्कमा आएका व्यक्तिलाई गराएका छन् । पार्टीमा यो विषय जानकारीमा आएपछि उनीहरु अमेरिका गए/नगएको अध्यागमनमा सोधपुछ भएको श्रेष्ठले बताएका छन् ।

उपसभामुखले गलत कार्य गरेको भनी अनुसन्धान गरी कारबाही हुनुपर्ने मत पार्टी शुभेच्छुकले राखेका छन् ।

यस्तो छ टेलिफोन संवाद

पार्टीका एक शुभेच्छुकले पीडित पक्षलाई भेट्न लागेको र भेटपछि के हुन्छ भन्नेबारे श्रेष्ठलाई जानकारी गराउने बताएका छन् । उनी भन्छन्, ‘त्यो मिटिङमा के हुन्छ, कसो हुन्छ, हजुरलाई जानकारी गराउँछु नि ।’

पार्टी शुभेच्छुकले त्यसो भनिसकेपछि श्रेष्ठले उनलाई सोध्छन्, यिनीहरु कुन ठाउँको रहेछन् थाहा छ ?’ काठमाडौं बसेको धेरै भए पनि इलामतिरका भएको पार्टी कार्यकर्ताले श्रेष्ठलाई जानकारी गराउँछन् । इलाम भन्दै गर्दा सिक्किमको नाम पनि उनी लिन्छन् । ‘सिक्किम भनेको त उता भयो नि,’ श्रेष्ठले जवाफ फर्काउँछन् ।

श्रेष्ठ पीडितको पक्षबाट सम्पर्कमा आएको व्यक्तिबारे थप जिज्ञासा आफ्ना कार्यकर्तालाई राख्छन्, ‘एमालेको कुन तहको नेता रहेछन् ?’

पार्टी शुभेच्छुक : अलिकति बिजनेस (म्यान) टाइपको मान्छे हो । जताजतै सेटिङ गरेर पैसा कमाउने मान्छे ।

श्रेष्ठ : त्यस्तो खाले हो ?

पार्टी शुभेच्छुक : हजुर ।

श्रेष्ठ : जान खोजेको लेडिज हो ?

पार्टी शुभेच्छुक : हो, लेडिज र अरु ४/५ जना । अरुको भिसा लाग्यो कि लागेन । त्यो लेडिजलाई थाह भएन । त्यो बहिनीको पैसा लिएर अपोइनमेन्ट डेट गरेको । अनि भिसा चाहिँ नलागेको । त्यस्तो कुरा आयो । त्यसपछि त्यो बहिनीले मेरो चाहिँ किन भएन भन्दा अर्को युकेमा प्रोग्राम छ र यूएस अर्को नि प्रोग्राम छ । अर्को प्रोग्राममा म तिमीलाई लिएर जाउँला भनेर भन्नुभएको रहेछ । अनि आजसम्म लिएर जानु भएन । त्यो गुनासो इलामको मान्छेकहाँ पुगेछ के सर ।

श्रेष्ठ : त्यो लेटर (उपसभामुखले लेखेको) सही हो कि, गलत हो कि, के हो त ? साँच्चै हो त त्यो ?

पार्टी शुभेच्छुक : मैले पनि उसलाई त्यही प्रश्न सोधेको थिएँ । पैसा दिएको नदिएको बुझ्न खोजेको, त्यो बहिनी तपाईंहरुसँग कुरा गर्न डराउँछ । म नजिकको मान्छे भएर कुरा शेयर गरेको हो । हामी पनि तपाईंको वेलविसर हो । योभन्दा बढी डकुमेन्ट तपाईंलाई के चाहियो र भन्छ ।

त्यो डकुमेन्टमा कस्तो छ भने सर, पाँच जनाको नाम छ । उसले भने अनुसार ती पाँचै जना एनजीओका मान्छे होइनन् । यिनीहरुसँग मेडम (उपसभामुख)ले पैसा लिएर त्यसो गर्नुभएको भन्छन् सर मलाई । सही बेठीक के हो ? हामीले विश्लेषण गर्नुपर्दछ सर ।

श्रेष्ठ : त्यो मान्छेले तपाईंलाई अहिले कहाँ भेट्छ ?

पार्टी शुभेच्छुक : मेरो क्याफे छ सर । यहाँ भेट्न आउँछ ।

श्रेष्ठ : तपाईंकोमा आउँछन् उनीहरु ? एक्लै भेट्ने कि के गर्ने ?

पार्टी शुभेच्छुक : मेरोमा भेटेर कुरा गर्छु एकचोटी । हजुरहरुलाई यो कुरा भन्नुभन्दा पनि भेटेर एनालाइसिस गर्छु । यदि होइन रहेछ भने किन त्यसै सरहरुको समय बर्बाद गर्ने भनेर सर । तिमीहरुसँग के–के छ ? एकपटक बसेर कुरा गरौं न भनेर मैले बोलाएको छु सर । हावा खालको मान्छे रहेछ भने हजुरलाई म खबर गर्छु सर ।

श्रेष्ठ : त्यो पत्र अनुसन्धानमा गइसकेको छ । अध्यागमनमा सोध्नेदेखि लिएर, पासपोर्टवालाहरु कहाँकहाँ केके छन् भनेर । खोजी गर्नलाई पठाइसकेका छौं । हामीले सिरियस्ली लिएका छौं । त्यहाँ उनीहरु आउने बेलामा म पनि भेटघाट गरौं कि तपाईंले मात्रै भेटघाट गर्ने ?

पार्टी शुभेच्छुक : हजुर आउने भए त झन् राम्रो सर । मेरो क्याफे अलि खुला छ सर ।

श्रेष्ठ : उसलाई केही पनि नचिनाउने । यहीँको साथी हो । कुरा गर्दा हुन्छ भनेर बसौं कि के गरौं ?

पार्टी शुभेच्छुक : हुन्छ सर ।

(श्रेष्ठ र पार्टी शुभेच्छुकबीच उनको क्याफे कुन ठाउँमा भएको बारे कुरा हुन्छ । )

पार्टी शुभेच्छुक : उनीहरुलाई फेरि कल गरेर कति बजे भेट्ने ठ्याक्क भन्न सक्छु । हजुरलाई त्यही अनुसार कोअर्डिनेट गर्छु सर । अनि हामी बसौं न त सर । त्यो बहिनीलाई पनि लिएर आउन भनेको छु । कुरा गरी हेरौं न त ।

श्रेष्ठ : एकचोटी निश्चित गरौं । म भक्तपुर छु । त्यही अनुसार समय मिलाउँछु ।

पार्टी शुभेच्छुक : हजुरलाई पाँच मिनेटमा फोन गर्छु ।

दोस्रो अडियो संवाद

पार्टी शुभेच्छुक : यो म्याटर त तिमीले कहाँकहाँ पुर्‍याएछौ । दुई दिनमा समाधान भयो । कति पैसा भन्दा त ९ लाख मात्रै भन्छ फेरि । ९ लाख चानचुन कति चाहिँ एकाउन्टमा आयो भन्छ उसले ।

ल, त्यसो भए स्क्रिनसट पठाऊ भन्दा पठाइदिन्छु पनि भनिरहेको छ उसले । हुन त यो कुरा हिजो र अस्ति डीपी सर (उपसभापति) अनि असिम शाह (सांसद), यता अभिनास आचार्य (सभापतिका स्वकीय सचिव) लाई पनि पठाएको थिएँ । त्यस्तो पो मेसेज गर्‍यो त सर मलाई ।

भेटौं न त अरु कुराहरु रहेछ भने मिडियामा ल्याउनु भन्दा बरु म नै हेल्प गर्छु बरु भनेको छु । नराम्रोलाई त सधैं नराम्रो नै भन्ने हो । एकपटक भेटौं भनेको सोल्टी होटलमा गेष्ट आउँदैछन् त्यहाँ जानुछ बेलुका भेटौं कि अहिले नै आइहाल्नु भन्यो ।

हजुर अहिले कता हुनुहुन्छ सर ?

श्रेष्ठ : अहिले भक्तपुर छु ।

पार्टी शुभेच्छुक : हजुर पनि आउनुपर्ने । भरे–भोलि बिहान टाइम निकाल्न भनेको छु उसलाई । त्यतिबेलासम्म उसले त्यो बहिनीसँग स्क्रिनसट मागेर मलाई पठाउँछु भनेको छ ।

यो कुरा हो रहेछ भने चाहिँ इन्दिरा म्यामको तुरुन्त राजीनामा माग्नुपर्ने भयो सर । मैले हो रहेछ भने भनेको उसले तपाईं कस्तो हो रहेछ हो रहेछ भन्नुभएको भन्छ । पैसा फिर्ता आइसक्यो । दुई दिनमा स्विकार गरेर पैसा आइसक्यो । तपाईं पार्टीको मान्छे भएर उल्टै हो रहेछ भनेर नभन्नु भन्छ ।

हो रहेछ कि होइन रहेछ त मलाई के थाहा त अनि मैले भनेँ । प्रमाण छर्लङ हुने गरी हुनुपर्‍यो भन्ने कुरा गरेँ । उसले ल ठीक छ, तपाईंलाई स्क्रिनसट पठाइदिन्छु । इन्दिरा म्यामसँग भेट्नु तपाईंले आफैं पत्ता लगाउनुहुन्छ भन्छ मलाई । उसले यो म्याटर नै क्लोज भएको भन्छ । पैसा फिर्ता आयो मात्रै भन्यो । त्यो स्क्रिनसटको आधारमा पार्टीभित्र अलि अनुसन्धान गर्नुपर्ने भयो सर ।

श्रेष्ठ : ए ल । उसको थप प्रमाण पत्ता लगाम ।

पार्टी शुभेच्छुक : हस्, भरेभोलि कहिले भेट हुन्छ ऊसँग । अरु पनि केही छ भने रेडी बनाएर राख, म आउँछु भन्छु । अनि म हजुरलाई खबर गर्छु नि ।

श्रेष्ठ : ल ल ।

तेस्रो संवादमा डीपी, शिशिर र  ज्ञानेन्द्र शाहीको नाम

पार्टी शुभेच्छुकले पीडित पक्षको तर्फबाट सम्पर्कमा आएका व्यक्तिलाई भेट नपाएपछि उनले भनेका विषय संगठन विभागका सचिव श्रेष्ठलाई सुनाउँदै :

पार्टी शुभेच्छुक : दलाल होइन म । पार्टीभित्र तुरुन्त कारबाही माग गर्छौं भन्दा त्यही एउटा पेपर लगेर पार्टीहरुका मान्छेहरुलाई भेट । अरु केही चाहिँदै चाहिँदैन भन्छ । यो कुरा पार्टीमा थाहा छ भनेर पो कुरा गरे ।

श्रेष्ठ : केन्द्रमा चाहिं कोको ? डीपी सरहरुसँग कुरा भएको छ रे ?

पार्टी शुभेच्छुक : डीपी सर, शिशिर खनालको नाम लियो । यो मान्छे चाहिँ धरानको रहेछन् । सुनसरीबाट उठ्नुभएको एकजना ब्वाइजकट कपाल काट्नुभएको हाम्रो एक जना हुनुहुन्छ रे । उहाँलाई पनि शेयर गरेको रे ।

उहाँले पनि सिधै केन्द्रमा फोन गरेर यसोयसो छ भनेर कुरा उठाउनुभएको छ रे । तर, फलोअपको रिजल्ट कहिले पनि आएको छैन रे ।

श्रेष्ठ : अँ अँ ।

पार्टी शुभेच्छुक : यस्तो कुरा गर्नुभयो । यस्तो रहेछ भने पार्टीमा अनुसन्धान गर्नुपर्ने भयो ।

श्रेष्ठ : शिशिर खनाल अरु अरुसँग कुरा गरेको । पैसा फिर्ता आयो ।

पार्टी शुभेच्छुक : पैसा त आयो । स्क्रिनसट म शेयर गर्दिनँ । बेकारमा अरुलाई फसाउने काम गर्छौ । हाम्रो लागि च्याप्टर क्लोज हो । तिमीहरु अनुसन्धान अघि बढाउन चाहन्छौ भने त्यो एउटा पेपर लिएर अघि बढाऊ भनेर कुरा गर्‍यो ।

श्रेष्ठ : उसले भेट्न चाहिं चाहेन ?

पार्टी शुभेच्छुक : च्याप्टर नै क्लोज गरौं भन्ने कुरा गरेँ ।

श्रेष्ठ : ऊ भेट्दिन भन्छ ?

पार्टी शुभेच्छुक : हजुर । त्यो बहिनी धरानको हो रे । त्यो बहिनी धरान फर्किसक्यो रे । पैसा लिएर धरान गयो रे । बाहिर जान ऊ आफैं ट्राइ गर्छ रे । के हो, के हो यो !

श्रेष्ठ : अनि ज्ञानेन्द्र शाही र धमलासँग पनि भेटघाट गरे भनेको चाहिं के भन्या त्यो ?

पार्टी शुभेच्छुक : कसलाई हजुर ?

श्रेष्ठ : तिनीहरुले ज्ञानेन्द्र शाहीहरुलाई भेटघाट गर्‍या भन्या होइन ?

पार्टी शुभेच्छुक : अँ त्यही त । २/४ दिन अघि ज्ञानेन्द्र शाही र धमलालाई भेटघाट गरेको रे । यस्तो कुरामा रेस्पोन्स नगर्ने कुरा गयो रे उनीहरुलाई ।

श्रेष्ठ : ए । उनीहरुले त्यति रेस्पोन्स नगर्ने कुरा गरे रे ?

पार्टी शुभेच्छुक : अँ अँ । त्यो विषयमा हामी त्यति नलाग्ने कुरा गरे रे ।

श्रेष्ठ : ए, ल ल । के रहेछ त्यस्तो ? त्यस्तो खालको प्रवृत्तिलाई त निरुत्साहित गर्नुपर्छ पार्टीभित्र ।

पार्टी शुभेच्छुक : त्यही भन्या । गलत कुरा उसले गर्‍या हो भने यो मान्छे समात्न पर्‍यो । सही हो भने गलत गर्नेलाई समात्न पर्‍यो । गृहमा गएर एकपटक यसोयसो हो भनेर कुरा गर्छु । अनि के रहेछ, हेर्छु नि म ।

श्रेष्ठ : ल ल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?