+
+

तस्करीको साढे २ किलो सुन गायब, हवल्दारले गरे ५० लाखको डिल

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन ४ गते १५:४१

४ साउन, काठमाडौं । तस्करहरूको एउटा समूहले दुबईबाट पठाएको साढे २ किलो सुन हराएको खुलेको छ । अनि, हराएको त्यही सुन खोजदिने भन्दै प्रहरी हवल्दारले नै ५० लाख रुपैयाँको डिल गरेको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएको साढे दुई किलो सुन पाँच महिनासम्म गायब भएको र त्यो खोजिदिने भनेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ हवल्दार ३८ वर्षीय सुन्दर नेपालीले रकम बुझेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार सुन तस्करीको अनुसन्धान भइरहेको छ । प्रहरी हवल्दारविरुद्ध भने ठगी मुद्दा दर्ता भएको छ ।

टिकट र २० हजारमा सुन बोक्न तयार

रोजगारीको शिलशिलामा दुबई पुगेका सिन्धुपाल्चोकका विकास भनिने फुर्साङ्बु शेर्पा र ओखलढुंगाका गुणराज विक घर फर्किने तयारीमा थिए । त्यही बेला उनीहरूको सिन्धुपाल्चोक घर भएका चेमा लामा भनिने चेमा शर्मासँग भेट भयो ।

उनले नेपाल फर्कन टिकट काटिदिने र २० हजार रुपैयाँ दिने बताए, त्यसपावत लेपनको आकारका ६ डल्ला सुन मलद्धार लुकाएर काठमाडौं लगिदिनुपर्ने शर्त थियो । भनेअनुसार काम नपाएर घर फर्किन खोजेको दुवै सहमत भए ।

चेमाले उनीहरूलाई सिन्धुपाल्चोकका राजु भनिने क्षेत्रबहादुर क्षेत्रीको सम्पर्कमा पुर्‍याए । उनले भारतीय नागरिक केडीसँग मिलेर सुन तस्करी गर्दै आएका थिए । पूर्व सहमतिअनुसार २३ माघ २०८० मा फुर्साङ्बु र गुणराज सुन बोकेर काठमाडौं आए । तर राजुले जसलाई सुन दिनु भनेका थिए, उनीसम्म नपुगेर सुन लुटिएका वा गायब पारिएको खबर दुबई पुग्यो ।

अनि भयो हवल्दारको ‘इन्ट्री’

२३ माघमा पठाएको साढे २ किलो सुन गायब भएपछि केडीले राजुमाथि प्रश्न गर्न थाले । उनका अनुसार यातना नै दिए । त्यसपछि २६ माघमा सुन खोज्न भन्दै राजुले आफ्नी श्रीमती कल्पना मगरलाई काठमाडौं पठाए ।

काठमाडौं आएपछि चिनजानका भगवान पाण्डेमार्फत कल्पनाले सुनबारे सोधीखोजी गरिन् । उनी गुणराजको घर ओलढुंगा र फुर्साङ्बुको घर सिन्धुपाल्चोक पुगिन् । तर दुवै भेटिएनन् । त्यसपछि सुन खोज्ने मान्छे भेट्टाउँछु भन्दै भगवानले २० फागुनमा वरिष्ठ हवल्दार सुन्दर नेपालीसँग भेट गराए । उनले दुबईमा रहेका कल्पनाका श्रीमान् राजुसँग सम्पर्क गरे ।

त्यसपछि सुन ल्याउने भरिया गुणराज र फुर्साङ्बु र सुन लुटेको आशंका गरिएका चेमाहरुको ट्राभल्स हिस्ट्री तथा लोकेशन हेर्न खर्च लाग्छ भन्दै ३० हजार रुपैयाँ बुझे । २९ फागुनको राति ११ बजेतिर दुबईमा रहेका राजुले श्रीमती कल्पनालाई फोन गरेर चाबहिलमा पुगेर हवल्दार सुन्दरलाई भेट्न भने ।

हवल्दार सुन्दरले पनि ‘सुन लुट्ने व्यक्ति मसँगै छन्, भाउजु आउनुस्’ कल्पना एक रेष्टुरेन्टमा पुगिन् । त्यहाँ सुन्दरसँगै मास्क लगाएर बसेका ५ जना थिए । त्यहाँ वरिष्ठ हवल्दार सुन्दरले चेमासँग भिडिओ कलमा कुराकानी पनि गराएका थिए । सुन फिर्ता हुने भन्दै उनले ५० लाख रुपैयाँको डिल गरे ।

कल्पनाका अनुसार २ लाख ५० हजार ई–सेवामा र ७ लाख ५० हजार नगदै बुझाइन् । बाँकी रकम जम्मा आएपछि सुन फिर्ता हुने सुन्दरको आश्वासन थियो ।

दुबईमा रहेका राजुले हुण्डीबाट ४० लाख रुपैयाँ पठाएका थिए । त्यही रकम लिएर १ चैतमा कुमार कामी, अस्कर जोशी र दिपेन भनिने डोन शाही चाबहिल पुगे । वरिष्ठ प्रहरी हवल्दार सुन्दर भने आइपुगिसकेका थिएनन् ।

हुण्डी कारोबारको सूचनाका आधारमा पक्राउ परेका चार जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइयो । त्यसबेलासम्म सुन तस्करबारे यकिन केही जानकारी थिएन । त्यसैले हुण्डी कारोबारमा मुद्दा चल्यो, उनीहरू धरौटी बुझाएर छुटे ।

अनि खुल्यो पोल

प्रहरी हिरासतबाट छुटेपछि कल्पनाले वरिष्ठ प्रहरी हवल्दारसँग सुन फिर्ता दिलाइनदिन आग्रह गरिन् । तर उनी सुन फिर्ता गराउन सक्ने अवस्थामा थिएनन् । सुरुमा बुझेको १० लाख रुपैयाँ पनि फिर्ता नदिएपछि कल्पना आफैं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सम्पर्कमा पुगिन् ।

उनकै सूचनाका आधारमा सीआईबीले गरेको अनुसन्धानका क्रममा साढे २ किलो सुन तस्करी मात्र खुलेन, सुन फिर्ता गराउन भनेर हवल्दारले पैसा बुझेको खुल्यो ।

सन् २०१९ मा भिजिट भिसामा दुबई पुगेका राजु भिसा अवधि सकिएपछि पनि त्यही बसे । २०२१ मा घर फर्किने योजनामा रहेका उनको दुबईको अजमान भन्ने ठाउँमा केडीसँग भेट भयो । त्यसपछि केडीकै योजना अनुसार नेपाल फर्कन लागेका नेपालीहरुलाई भरिया बनाएर केडीको सुन काठमाडौं पठाउने गरेको उनी स्वयमले स्वीकार गरेका छन् ।

सीआईबीको सम्पर्कमा आएका राजुले आफू सुनको मालिक नभएको र भरिया खोजिदिएवापत केडीले आफूलाई २५० दिराम दिने गरेको दाबी गरेका छन् ।

पछिल्लो पटक २३ माघमा साढे २ किलो सुन भने हरायो । सीआईबीको अनुसन्धानका क्रममा साढे २ किलो सुन बोकेर फुर्साङ्बु र गुणराज दुबईबाट उडेपछि चेमा पनि भारत हुँदै हवाईमार्गबाट काठमाडौं आएको खुलेको छ ।

सुन बोकेका फुर्साङ्बु र गुणराज काठमाडौं ओर्लिएको २ घण्टापछि चेमा पनि अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सीआईबी स्रोतका अनुसार चेमाले फुर्साङ्बु र गुणराजलाई नियन्त्रणमा लिएर सुन लुटको देखिन्छ । प्रहरी नियन्त्रणमा चेमाले भने मिङ्मार शर्माको नाम लिएका छन् । उनले सुन बेचेको र त्यस वापत आफूलाई पाँच लाख रुपैयाँसमेत दिएको उनले बयान दिएका छन् । मिङ्मार भने फरार छन् ।

सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटी भने यो घटनाबारे अनुसन्धान जारी नै रहेको र सुन लुट्ने व्यक्ति अहिलेसम्म पक्राउ नपरेको बताउँछन् । तस्करीको सुन खोजिदिने भनेर ५० लाखको डिल गरेको प्रहरी वलल्दार सुन्दरविरुद्ध भने ठगीको कसुरमा मुद्दा दर्ता गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?