+
+

न्युरोड क्षेत्रमा पुनः तनाव, डोजरमाथि चढेर विरोध

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ साउन ४ गते १७:५७

४ साउन, काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्र पुनः तनावग्रस्त बनेकाे छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर चलाउन खोज्दा डोजरमाथि नै चढेर स्थानीयले विरोध गरेपछि न्युरोड क्षेत्र पुनः तनावग्रस्त बनेकाे हो ।

शुक्रबार बिहानै फुटपाथ विस्तार गर्न भन्दै महानगरको टोली डोजर लिएर न्युरोड पुगेको थियो ।

तर स्थानीयले दिनभरि अवरोध गरेपछि महानगरले फुटपाथ विस्तारको काम अगाडि बढाउन सकेको थिएन ।

महानगरले अपरान्ह डोजर चलाउन खोजेपछि डोजरमाथि नै चढेर स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन् ।

उच्च अदालत पाटनले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिए पछि महानगरले बुधबारदेखि नै पुनः काम सुरु गरेको थियो ।

यसअघि काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काएको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सो ठाउँमा पुनः कालोपत्रे गरेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो ।

सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्युरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भने पछि महानगरले काम थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?