+
+

किन चलेनन् ‘मेगास्टार’ अनमोल केसी ?

अनमोलका पछिल्ला फिल्महरू हेर्दै जाँदा यस्तो लाग्छ उनी जे थिए, त्यो खोजिएन । उनीमाथि त्यो खोजियो, जो उनी थिएनन् । अर्थात् अनमोलको चरित्र निर्माण हाइब्रिड गरियो ।

शिव मुखिया शिव मुखिया
२०८१ साउन ५ गते २०:३५

‘फर्की फर्की’ चलेन । ‘छड्के-२’ चलेन । ‘क्याप्टेन’ चलेन । ‘ए मेरो हजुर-४’ चलेन । ‘कृ’ चलेन । आखिर किन चलेनन् ‘मेगास्टार’ अनमोल केसी ?

नितान्त व्यक्तिगत जस्तो लाग्ने यो प्रश्नले कसरी ‘स्टारडम’को विनिर्माण हुन्छ र कहाँ पुगेर त्यो प्रत्युत्पादक हुन्छ भनी खोतल्छ । त्यसैले यो प्रश्न अनमोल केसीभन्दा बढी ती फिल्ममेकरसँग सम्बन्धित छ, जो ‘स्टारडम’को आडमा सिनेमा बनाउन तम्सिन्छन् ।

किनभने यो प्रश्नसँग नेपाली सिनेमाको भरोसा र भविष्य जोडिएको छ । एउटा सिनेमा बनिरहँदा त्यसमा ५०-६० जनाको जम्बो समूह समर्पित र आश्रित हुन्छन् । पटकथाको अवधारणा सुन्न-बुझ्नदेखि प्रचार-प्रसारको तामझाममा लाग्दासम्म तिनीहरूले दुई-चार जोर जुत्ता भ्वाङ पारिसकेका हुन्छन् । त्यो श्रम, समय र सपनाको भर्पाई कसरी हुनसक्छ ?

यो प्रश्नसँग नेपाली सिनेमाको अर्थचक्र जोडिएको छ । देशभर १६० सिनेमाघर सञ्चालनमा छन् । त्यसका सीमित पर्दामा नेपाली सिनेमाले सीमित शो पाउँछन् । डिजिटल र ओभरसिज बजार आफैंमा भरपर्दो छैनन् । यति नाजुक बजारबाट लाभांश उठाउनु एउटा जोखिम छँदैछ । अर्को जोखिम, भएका आंशिक दर्शक पनि तितरवितर हुनेछन् । सिनेमाघरको सिट रित्तिंदै जानेछन् । यो रिक्त विश्वासको पदस्थापन कहाँबाट हुनसक्छ ?

अनमोल केसीको पछाडि जुन निराशाजनक शृंखला छ, त्यो उनको सफलता र असफलताको जोडघटाउ मात्र होइन; बरु नेपाली सिनेमाका लागि ‘चेतावनीको घण्टी’ हो ।

अनमोलको सानदार उदय र स्टारडम

अनमोलले ‘फर्की-फर्की’ बाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको सबुत पेश गरिरहँदा उक्त सिनेमा हलबाट पाखा लागिसकेको थियो । सबुतले देखाउँछ, उनले आफ्नो पारिश्रमिकबापत ७ लाख ५० हजार त सरकारलाई कर तिरे ।

यहाँ हिसाबकिताब कस्तो देखिन्छ भने अनमोलले जुन पारिश्रमिक प्राप्त गरे, त्यो अहिले नेपालमा बनिरहेको चलचित्रको एक तिहाइ बजेट हो । उनले जति कर तिरे, त्यो अहिले चल्तापुर्जा अभिनेताले माग गर्ने पारिश्रमिक हो । अब अनमोल अभिनित सिनेमाको घनत्व, बक्स अफिस कलेक्सन र उनको मूल्यको अनुपात कति तल-माथि छ ? यसको साक्षी र जवाफ दुवै दर्शक हुन् ।

अहिले चल्तीका अभिनेता दयाहाङ राई वा एकताकाका ‘हटकेक’ राजेश हमालले कहिल्यै यति ठूलो रकम पारिश्रमिक लिएको खुलाएका छैनन् । यसको सोझो बुझाइ के भने, आजको मितिसम्म अनमोल नै सर्वाधिक महँगा अभिनेता हुन् । तर, के यो पत्यारलाग्दो छ ?

त्यसबेला पत्यारलाग्दो थियो, जतिबेला अनमोलको सानदार पदार्पण हुँदैथियो । होस्टल, जेरी हुँदै ड्रिम्ससम्म आइपुग्दा उनको लोकप्रियताको ग्राफ निरन्तर आकाशियो । यसमा उनका लागि दुई वटा कुरा दाहिना भए ।  एक, भुवन केसीको रहस्यमयी पुत्र । दुई, किशोर पुस्ताका सुकुमार प्रतिनिधि ।

हलक्क बढेका, लजालु स्वभावका, १९ वर्षे सुकिला किशोर ‘हिरो’ बनेर त्यहीबेला देखापरे, जतिबेला सिनेमामा उनका बुवा पुस्ताको ह्याङओभर मत्थर हुँदैथियो । अंकल पुस्ताकै रहलपहल कथा र अंकल पुस्तालाई नै हिरोको रूपमा हेर्ने दर्शक पातलिंदै थिए । अनि सोसल मिडियासँगै हुर्किएका ‘जेन जेड’ पुस्ता सिनेमा घरमा आफ्नो अस्तित्व र उपस्थिति खोजिरहेका थिए । त्यही रिक्तता पूरा गर्न आइपुगे, अनमोल केसी ।

जेन जेडका लागि यो एक रोमाञ्चकारी सौगात थियो । उनीहरूले खोजे जस्तै कथा र रोजे जस्तै पात्र अब सिनेमा घरहरूमा आइसकेका थिए । मिलेनियल्स र जेन जेड जस्ता दुई पुस्तालाई छुट्याउने समयको ट्रान्जिटमा जसरी अनमोलको पदार्पण भयो, त्यसले उनको स्टारडम निर्माण गरिदियो ।

नेपाली फिल्म भन्नासाथ नाक खुम्च्याउने ठूलो जमातलाई अनमोलले हलसम्म डोर्‍याए । फिल्म कसले बनाएको वा कस्तो बनाएको भन्नेमा उनीहरूलाई खास मतलब हुँदैनथ्यो, किनभने उनीहरू अनमोललाई हेर्न चाहन्थे । अनमोल, यति नै काफी थियो सिनेमा घरको सिट हराभरा हुनलाई ।

अनमोलको ओरालो ग्राफ

माघ अन्तिम साताको बिहानीपख । शहर राम्ररी तंग्रिएकै थिएन । सिनेमा हलका सिटहरू प्लस टु पुस्ताले भरिंदै थियो । त्यहाँ फिल्म ‘कृ’ सार्वजनिक हुँदैथियो र उनीहरू आफ्ना प्रिय नायकको ‘फस्र्ट शो’ हेर्न हतारिएका थिए । तर, हलबाट बाहिरिंदै गर्दा त्यो तीव्र उत्साह उस्तै रहेन । यही मोड हो, जहाँबाट अनमोलको ओरालो यात्रा सुरु हुन्छ ।

त्यसपछि प्रदर्शनमा आएका फिल्महरूले उनलाई आफ्ना छिमलका दर्शकहरूबाट क्रमशः विच्छेद गर्दै लग्यो । उनको स्टारडमको जलप फिक्का हुन थाल्यो । जबकि फिल्मका लागि अनमोलले गर्नसम्म दुःख गरेका थिए । जीम धाउने, ज्यान बनाउने, मार्शल आर्ट खेल्ने, फुटबल सिक्ने सबै गरेका थिए । तर, उनको मिहिनेत एकातिर र नतिजा अर्कैतिर भयो । यही नै एउटा भूल भयो ।

अनमोलका पछिल्ला फिल्महरू हेर्दै जाँदा यस्तो लाग्छ उनी जे थिए, त्यो खोजिएन । उनीमाथि त्यो खोजियो, जो उनी थिएनन् । अर्थात् अनमोलको चरित्र निर्माण हाइब्रिड गरियो ।

हाम्रा फिल्ममेकरले अनमोललाई कहिले लाहुरे बनाए, कहिले भरिया । कहिले गुण्डा नाइके बनाइए, कहिले फूटबल क्याप्टेन । हुलिया र भावभंगीले त उनी सबैथोक भइदिए । तर, ती फरक पात्रको अनुभव र अनुभूतिभित्र उनलाई बाँच्ने मौका दिइएन । त्यही कारण उनको अभिनयमा क्यारिकेचर बढी र जीवन कम भयो ।

अनमोल त्यो समयका प्रतिनिधि हुन्, जोसँग समाज र यसका आयामहरूलाई बुझ्नुपर्ने बाध्यता छैन । उनले हलो जोत्ने केटाको थकान आफूभित्र महसुस गर्नुपर्दैन । उनले फुटपाथमा चप्पलको दोकान फिंजाएर बस्ने युवाको बाध्यता आफूभित्र समेट्नुपर्दैन । उनले रत्नपार्क-बानेश्वर भन्दै बसको ढोकामा उभिएर यात्रु बोलाउने सह-चालकको हतारो आफूभित्र सँगाल्नुपर्दैन । किनभने उनी इन्स्टाग्रामको सेरोफेरोमा रमाइहिंड्ने पुस्ता हुन्, जसको समाजसँग एक किसिमको दूरी छ ।

समाजमा त आफन्त छन्, पराइ पनि । सहजता छन्, कठिनाइ पनि । खुसी छन्, दुःख पनि । मिलन छन्, वियोग पनि । तर, अनमोलको दुनियाँमा यस्तो बाङ्गोटिङ्गो धरातल छैन । त्यहाँ सबै कुरा चिरिच्याट्ट देखिन्छन् ।

चहकिला-सुकिला लुगाफाटो, रसिला-स्वादिला खानेकुरा, झरिला-भरिला ज्यान । ऐस-आरामको जिन्दगी । उनीहरूले भुइँ छोएका छैनन्, तर आकाशमा उडेका छन् । उनीहरूको संसार फराकिलो र मिजासिलो छ । त्यहाँ उनीहरू सौन्दर्यको परख त गर्छन् तर मोटो-दुब्लो, अग्लो-होचोको भेद गर्दैनन् । विविधतालाई स्वीकार्छन् र सुखहरू साट्छन् । किनभने उनी जेन जेड पुस्ता जो परे । फिल्ममेकरले अनमोललाई बुझेनन्, अनमोलले समाजलाई ।

काँचो माटो र ढुंगा दुवैबाट मूर्ति बनाउन सकिन्छ । तर, यसमा एकैनासको सीप र कुशलताले काम गर्दैन । काँचो माटोलाई मुछेर एउटा आकृतिमा तयार गर्न सकिन्छ । ढुंगाबाट सोही आकृति बनाउन परेमा के गरिन्छ ? त्यसका ती भागहरू टुक्राउने र हटाउने गरिन्छ, जो आवश्यक छैन ।

कहाँ चिप्लिए अनमोल ?

स्टार पुत्र हुनुको फाइदा छन्, बेफाइदा पनि । दुवैको सग्लो प्रमाण हुन्, अनमोल ।

जतिबेला अनमोल फिल्ममा डेब्यु गर्दैथिए त्यसबेला उनको पछाडि जोडिने एउटै विशेषण थियो, ‘भुवन केसीका छोरा ।’ आफ्नो जमानाका लोकप्रिय नायकको छोरा भएकै कारण दर्शकमा अनमोलप्रति सम्मोहन र उत्सुकता बढ्यो । पिताको राप र तापले उनको स्टारडम निर्माण गरिदियो ।

तर, यसको साइड इफेक्ट पनि उनीमाथि परेको छ । किनभने मान्छेले अनमोलको मिहिनेत र संघर्षलाई त्यही सतहबाट मूल्यांकन गर्छन्, जहाँ भुवन उभिएका छन् । भुवनको कदले उनलाई छायाँमा पारिरहन्छ, जहिले पनि । यी दुवै नाफा-नोक्सानको हिसाबकिताब गर्नै पाएनन् अनमोलले ।

उनलाई ‘मेगास्टार’ बनाउने अघिल्ला चार फिल्म पनि उति गतिलो थिएनन्, जहाँ उनको अभिनयले कुनै गुरुत्वबल पैदा गरेको होस् ! तर, पूर्वाद्र्धको सफलताले उनलाई भ्रमित बनाइदियो । त्यही सफलताको ट्याग जोगाउन अनमोलले होशियारी अपनाए, जुन जरूरी भन्दा बढी बेकार थियो ।

एउटा तहमा उक्लिएपछि उनले आफूलाई समाजसँग जोड्नुपथ्र्यो, विच्छेद गर्ने होइन । समाजको साझेदार बन्नुपथ्र्यो, दुर्लभ बन्ने होइन । समाजको गहिराइमा पुग्नुपथ्र्यो, अग्लाइमा उभिने होइन । तर, उनले गलत मार्गदर्शन पाए । अनि आफ्नो ‘स्टारडम’ जतन गर्न सकेसम्म समाजसँग टाढै बस्न खोजे । त्यसैले उनमा समाजका आयामहरू संग्रहित हुन पाएनन् ।

समाज र त्यसका अवयवहरू आफैंमा समृद्ध पाठशाला हुन् । अस्पतालको शय्यामा मृत्युसँग जुधेर बाँच्न घिटघिटो बोकेका बिरामीको आशा, एक छाक भोक मेट्नका लागि रापिलो घाममा घण्टौंसम्म श्रम गर्ने मजदुरको संघर्ष, अनायास बम्पर उपहारमा करोडौं नगद पाएपछि मध्यम वर्गीय व्यक्तिमा छाएको उन्माद । यी सबै भावभंगी, अनुभव र अनुभूतिको स्रोत समाज हुन् ।

त्यहाँ अनेक रंग हुन्छ- वर्गको, जातको, भेगको, आस्थाको । त्यहाँ अनेक शैली हुन्छ- लवाइखुवाइको, हिंडाइको, बोलीचालीको । त्यहाँ अनेक दर्शन हुन्छ- जीवनको, प्रकृतिको, जगतको ।

मान्छे दुःखमा रुन्छन् र सुखमा पनि रुन्छन् । तर, यी दुईको भेद के हो ? मान्छे भोकमा खान्छन् र रहरमा पनि खान्छन् । तर, यी दुईको अलग शैली के हो ? भेलमा डुबेको मान्छे हदैसम्मको संघर्ष गरेर बाँच्न चाहन्छन् र सग्लो मान्छे खोलामा हाम फालेर आफूलाई सिध्याउन चाहन्छन् । तर, यी दुईको मनोदशा कति फरक हो ? यावत् कुरा अरूले होइन, समाजले सिकाउँछ । जबकि, अनमोलले समाजका अध्यायहरू पल्टाउनै पाएनन् ।

व्यक्तिगत रूपमा ‘जेन्टलमेन’ हुन्, अनमोल । पारिवारिक रूपमा ‘सुयोग्य सन्तान’ । पूजापाठसँगै आफ्नो दैनिकी सुरु गर्छन् । माछामासु खाँदैनन् । तामसिक जीवन रुचाउँदैनन् । उनी शान्त, सौम्य र सजग छन् । मिहिनेती र इमानी छन् ।

तर, सिनेमामा आफ्नो जोडदार उपस्थिति कायम राख्न यी सद्गुणहरूले मात्र पुग्दैन । बरु यसका लागि उनले बालसुलभ उत्सुकता, चञ्चलता, ऊर्जा र प्रश्नहरू लिएर समाजको पाठशालामा जानुपर्नेछ । किनभने क्लोज क्याम्पको तालिमले उनलाई परेड खेल्न त सिकाउला, सैनिकको स्पन्दन अनुभूत गराउँदैन ।

सिनेवृत्तमा के हल्ला छ भने, अनमोलले हत्तपत्त र जस्तो पायो त्यस्तै फिल्म खेल्दैनन् । बरु, जतिसुकै समय लागोस् । तर, आँकडाले त्यसो भन्दैन । सन् २०१३ मा अनमोलको डेब्यु फिल्म ‘होस्टल’ सार्वजनिक भयो । त्यसयता उनले जम्माजम्मी १० वटा फिल्म खेले । यसले के देखाउँछ भने, अनमोल वर्षमा एउटा फिल्म खेलिरहेका छन् । फिल्मको संख्या बढाउने यो हतारोले उनलाई कहाँ पुर्‍याउँछ ? कहीं पुर्‍याउँदैन । एउटै वृत्तमा फनफनी घुमाइरहन्छ ।

किनभने यतिको हतारोमा न उनले राम्ररी पटकथा पढ्न पाउँछन्, न त्यसको परिवेश बुझ्न नै । न आफ्नो चरित्रलाई मिहिन अवलोकन गर्न पाउँछन्, न त्यसको अभ्यास गर्न नै । यसले उनलाई कुनै चरित्रमा रूपान्तरण गर्दैन, बुख्याँचा बनाउँछ । बुख्याँचा आवरण हो, आत्मा होइन । अहिले उनको हकमा भएको त्यही हो ।

कृष्णभक्त अनमोल अक्सर भनिरहेका हुन्छन्, ‘शिवजीलाई पनि साढे सातको दशा लागेको थियो रे, म त को हुँ र ?’

कुनै सन्दर्भ र संकेत बुझाउन रचना गरिएको कथ्यलाई टेकेर आफैलाई थमथमाउनु वा सान्तवना दिनु अनमोल स्वयम्का लागि घात हुनसक्छ ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?