
४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै विशेष अधिवेशन आह्वान गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुख नजिर मियाँले ८ साउनमा विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए ।
संविधानको उक्त धारामा प्रदेश सभाका एक चौथाइ सांसदले अधिवेशन बोलाउन माग गरेको खण्डमा प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ ।
सचिव बोगटीका अनुसार प्रदेश प्रमुख मियाँले ८ साउनमा विशेष अधिवेशन आह्वान गरेका छन् ।
२९ असारमा प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मात्र प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए ।
प्रदेश सभाको अधिवेशन अन्त्य भएपछि मुख्यमन्त्री दीर्घबहादुर नेतृत्वको सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुलेको थियो ।
शुक्रबार नै अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहे पनि आर्थिक मामिला मन्त्रालय सचिव धनगढी बाहिर भएका कारण अहिलेसम्म कुनै सुरसार छैन ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण बनेपछि २० असारमा सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिएको थियो ।
जसका कारण अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले १ असारमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रदेश सभाबाट पारित गर्न सकेनन् ।
बजेट पारित हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गएको छ । कांग्रेस र एमालेले स्पष्ट अल्पमतमा परिसकेका कारण मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया 4