+

वुमन्स एसिया कप : नेपालको जितमा बनेका चार कीर्तिमान

२०८१ साउन  ४ गते १९:३९ २०८१ साउन ४ गते १९:३९
वुमन्स एसिया कप : नेपालको जितमा बनेका चार कीर्तिमान

४ साउन, काठमाडौं । नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको जित हात पार्दा ४ कीर्तिमान बनाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् ।

त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । यूएईलाई हराउँदा नेपालले ४ कीर्तिमान बनाएको छ । जुन यस प्रकार छन् ।

नेपालको लक्ष्य पछ्याउँदा ठूलो लक्ष्य पूरा

११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ जुन ४ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

एसिया कपमा पहिलो जित

नेपालको एसिया कपमा यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

नेपाल सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

लक्ष्य पछ्याउँदा नेपालको पहिलो अर्धशतक

सम्झना लक्ष्य पछ्याउँदा नेपालबाट महिला टी २० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । यसअघि रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा, सीता रानामगर र पूर्जा महतोले महिला टी–२० आईमा पहिलो इनिङमा अर्धशतक हानेका थिए । लक्ष्य पछ्याउँदा सीताले २०२३ नोभेम्बरमा तान्जनियाविरुद्ध बनाएको ४३ रन नै सर्वाधिक थियो ।

समग्रमा उनी नेपालबाट एकै इनिङमा सर्वाधिक रन बनाउने तेस्रो ब्याटर हुन् । उनीअघि गत फेब्रुअरीमा माल्दिभ्सविरुद्ध रुविना ११८ र २०२१ मा कतारविरुद्ध सीता रानामगर ८२ बनाएका थिए । त्यस्तै एसिया कपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

एकै खेलमा सर्वाधिक चौका

सम्झना महिला टी–२० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक ११ चौका प्रहार गर्ने खेलाडी बनेकी छिन् । उनले गत फेब्रुअरीमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध शतक हान्दा प्रहार गरेको १० चौकालाई पछि पारेकी हुन् । रुविनापछि सीताले २०२१ मा कतारविरुद्ध ७ चौका प्रहार गरेकी थिइन् ।

एसिसी वुमन्स एसिया कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय