+
+

बालेनले संवाद नगर्दा न्यूरोडमा देखिएको डर

मेयर बालेनले स्थानीयसँग छलफल नगरी नीति तथा कार्यक्रममा न्यूरोडलाई सवारी निषेधित क्षेत्र (नो भइकल जोन) बनाउने योजना अघि सारे । यसले स्थानीय र व्यवसायीलाई अत्याएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन ४ गते २०:१२

४ साउन, काठमाडौं । न्यूरोड क्षेत्रका स्थानीयबासी तथा व्यवसायीहरूले फुटपाथ विस्तारमा अवरोध गरेका छन् ।

उच्च अदालत, पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि न्यूरोड क्षेत्रमा काम थालेको थियो । तर शुक्रबार बिहानैदेखि स्थानीय विरोधमा उभिए । स्थानीयको चाहना विपरीत बल प्रयोग गरेर फुटपाथ विस्तारको काम थालेको भन्दै उनीहरूले अवरोध गरेका हुन् ।

स्थानीयबासी तथा व्यवसायीको विरोधमा महानगरपालिकाका–२२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जन समेत सहभागी थिए । मेयरविरुद्ध नाराबाजी गर्दै न्यूरोडमा प्रदर्शन गर्दा केहीबेर नगर प्रहरीसँग धकेलाधकेलको स्थिति भएको थियो ।

दिउँसोसम्म सडक नछाडेका उनीहरूले सडक खन्न ल्याएको डोजर चलाउनै दिएनन् । अपराह्न महानगरले डोजर चलाउने पुनः प्रयास गर्दा स्थानीयबासीसँगै २२ का वडाध्यक्ष महर्जन आफैं डोजरमाथि नै चढेर विरोध गरेका छन् ।

किन भइरहेको विरोध ?

महानगरका अनुसार फुटपाथ विस्तार गर्न अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेर आरोग्य साइटेक जेभीलाई ठेक्का लगाइएको थियो । तर सडक विभागले सहमति नदिएकाले लामो समय काम सुरु हुन सकेन ।

१२ जेठमा महानगरले फुटपाथ विस्तारका लागि सडक खान्यो । तर केहीबेरमै सडक विभागको टोली आएर अनुमति नलिइ सडक काट्न थालेको काम रोक्यो । यसलाई लिएर महानगर र सडक विभागबीच आरोप प्रत्यारोप भयो । महानगरका वडाध्यक्षहरूले समेत साथ नदिएपछि काठमाडौंका मेयर बालेन सडक विभागविरुद्ध उच्च अदालत गए । ३० असारमा उनकै पक्षमा आदेश आयो, मुद्दाको अन्तिम टुंगो नलागेसम्म फुटपाथ विस्तार रोक्न सडक विभागले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्नू ।

अदालतले बाटो खोलेको तेस्रो दिन २ साउनमा महानगरले फेरि फुटपाथ विस्तारको काम थाल्यो । तर बिहीबार स्थानीयबासी र व्यवसायीहरू फेरि विरोधमा उत्रिए । त्यही प्रदर्शनमा भेटिएका न्युरोड धर्मपथका चन्द्र महर्जन भन्छन्, ‘हाम्रो विरोध विकासको होइन, विकासको नाममा स्थानीयको उठीबास लगाउन खोज्ने कदमको विरोध हो ।’

प्रदर्शनमा भेटिएका केहीले वैशाख २०७९ को स्थानीय चुनावका बेला बालेनलाई मत दिएको मात्र होइन, उनको पक्षमा प्रचार नै गरेको दाबी गर्छन् । उनीहरू अहिले पनि न्यूरोडको कतिपय ठाउँमा फुटपाथ विस्तार आवश्यक भएको मान्छन् । तर मेयर बालेन शाहले स्थानीयबासीसँग संवाद नै नगरी बलपूर्वक फुटपाथ विस्तार गर्न खोजेकाले साथ दिन नसकेको बताउँछन् ।

‘हामी यो क्षेत्रमा बालेनलाई मत माग्नै हिँड्यौं । बाहिरको मान्छेको बोकेको भन्दै आफ्नै मान्छेले गाली गर्दा पनि समर्थन छोडेनौं’ एक सहभागीले भने, ‘यहाँको विषयमा निर्णय गर्दा स्थानीयसँग नै सल्लाह नगरेपछि विरोधमा उत्रिन बाध्य भयौं ।’

उनले न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको राय लिन मेयर बालेनलाई आग्रह समेत गरे । ‘हामी बालेनसँग शान्त वातावरणमा छलफल गर्न तयार छौं’ नाम उल्लेख गर्न नचाहने उनले भने, ‘स्थानीयको कुरा सुन्नुपर्‍यो, रक्सौलको टाँगा जस्तो एकोहोरो लागेर भएन । यहाँ केही ठाउँमा फुटपाथ सानो भएको सत्य हो, तर सबै ठाउँमा होइन । त्यो त उहाँले बुझनुपर्‍यो नि !’

स्थानीय शैलजा श्रेष्ठ पनि स्थानीयले अपनत्व खोेजेको बताउँछिन् । ‘हाम्रो घरको अगाडि डोजर चलाउँदा हामीसँग सल्लाह गर्नुपर्छ नि ! हाम्रो ठाउँ हो, हामीलाई पेलेर काम गर्छु भन्न मिल्छ त ?’ उनले भनिन्, ‘कमसेकम सल्लाह गरौं, त्यसपछि यो कारणले फुटपाथ हट्छ, यो कारणले हट्दैन भन्ने त आउँछ नि !’

तर मेयरले आफूहरूसँग मात्र मात्र होइन, वडाका जनप्रतिनिधिसँग समेत संवाद नगरेको स्थानीयको गुनासो छ । न्यूरोड क्षेत्र वडा नम्बर २२ र २४ मा पर्छ । २२ का वडाध्यक्ष महर्जनले फुटपाथ विस्तारमा निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

१८ जेठमा बसेको महानगरको कार्यपालिका बैठकमा समेत उनले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर मेयर बालेन र वडाध्यक्ष महर्जनबीच सवाल जवाफ समेत भयो । त्यसबेला महानगरका वडाध्यक्ष नविन मानन्धरले फुटपाथ विस्तारबारे समिति गठन गर्ने प्रस्ताव राखेपछि विवाद रोकिएको थियो ।

मृत शहर बन्ने डर

तर अहिलेसम्म कुनै समिति बनेको छैन । बरु मेयर बालेनले नीति तथा कार्यक्रममा न्यूरोडलाई सवारी निषेधित क्षेत्र (नो भइकल जोन) बनाउने योजना अघि सारे । यसले स्थानीय र व्यवसायीलाई अत्याएको छ । ‘नो भेहिकल जोन बनाए न्यूरोड मृत शहर हुन्छ,’ न्यूरोडमा ४ तल्ले घर भएका डा .सुमन कोजु भन्छन्, ‘अहिले यहाँको मान्छे आत्तिएको पनि गाडी चलाउन नदिए व्यापार डुब्छ भनेर हो ।’

न्यूरोडमा लामो समयसम्म सडकको एउटा किनारामा सवारी पार्किङ गर्न दिइएको थियो । मेयर बालेन शाहले माघ २०८० देखि न्यूरोडको सडक क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरे । त्यसबेला पनि विरोध गरेका थिए, तर महानगरले सुनेन ।

मेयर बालेनले पार्किङ हटाएको क्षेत्र बराबरको सडकमा फुटपाथ बढाउने योजना अगाडि सारे । यसलाई रोक्न नसके न्यूरोड नो भइकल जोन बन्ने उनीहरूको बझाइ छ । फुटपाथ विस्तार विरुद्ध भएको प्रदर्शनमा भेटिएका एक स्थानीय व्यवसायी भन्छन्, ‘पार्किङ हटाउँदा व्यापार घटिसक्यो । गाडी नै आउन नदिने महानगरको तयारी छ । त्यो भयो भने हामीले के चाहिँ गर्ने हो र ?’

महानगरले दुईपांग्रे सवारीका लागि धरहरा र चारपाग्रेका लागि पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरमा पार्किङ सुविधा उपलब्ध गराएको छ । तर धरहरा र काठमाडौं टावरमा पार्किङ गरेर किनमेलका लागि न्यूरोड नआएको व्यवसायीहरूको दाबी छ । ‘पहिले मेरोमा आउने ग्राहक अहिले न्यूरोडमा छिर्दैनन्’ न्यूरोडमा सुन पसल चलाइरहेका निरमानकाजी शाक्य भन्छन्, सुन पसल अगाडि गाडी रोकेर किन्ने मान्छे सुन बोकेर धरहरा जान डराइहाल्छ नि !’

अब नो भेइकल जोन भए न्यूरोडको व्यापार व्यवसाय अझ चौपट हुने उनीहरूको चिन्ता छ । ‘फुटपाथ सुधार्न त पर्छ, तर यो नो भेहिकल जोनको लागि गरेको जस्तो देखिन्छ । त्यो यहाँ आवश्यक नै छैन,’ स्थानीय शर्मिला साँयजुले भनिन, ‘अहिले कतिपय व्यवसायीले व्यापार नभएको भन्दै भाडा बुझाउन सकेको छैनन् । केहीले सटर छोडिरहेको छ । फेरि अरु समस्या दिँदा घर कसरी चल्छ ?’

कांग्रेस, एमाले लगायतका प्रमुख दलहरू जनप्रतिनिधि पनि स्थानीयको मागको पक्षमा देखिएका छन् । १० असारको नगर सभामा अधिकांश जनप्रतिनिधिले न्यूरोडलाई ‘नो भेइकल जोन’ बनाउने प्रस्तावको विरोध गरेका थिए ।

तर मेयर बालेन र उनको टिम भने फुटपाथ विस्तारसँगै ‘नो भेइकल जोन’ बनाउने योजनालाई निरन्तरता दिने पक्षमा छ । ‘हामी कुनै पनि हालतमा ब्याक हुँदैनौैं,’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन्, ‘अदालतले आदेश दिइसक्दा पनि प्रहरी, प्रशासनले सहयोग गरेको छैन तर काम अगाडि बढाउने नै हो ।’

उनका अनुसार फुटपाथ विस्तारको लागि आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालयमा चिठी पठाइएको थियो । ‘हामीले सुरक्षा सहित काम सुरु गर्न खोज्यौं तर केही सहयोग भएन’ उनले भने, ‘यसले न्यूरोडको फुटपाथ विस्तारमा गृह मन्त्रालय सहितका निकायले असहयोग गरेको पुष्टि हुन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?