+
+

तीन दशकपछि भुटानी बाबु छोरीको काठमाडौंमा भेट

तीन दशकपछि भेट्दा सुरुमा त दुवै एकआपसमा बोल्नै सकेनन् । मौनतापछि छोरीले नै सोधिन्, ‘बा ! कस्तो छ तपाईंलाई ?’ रामबहादुरले जवाफ दिए, ‘छोरी उडिराखेको चरोलाई धेरै वर्ष पिंजडामा राखेर छोड्यो भने त्यो उड्न सक्दैन रै’छ ! म त्यस्तै भा’छु ।’

विकास रोकामगर विकास रोकामगर
२०८१ साउन ४ गते २०:३२
रामबहादुर राई र जमुना ।

४ साउन, काठमाडौं । झापास्थित भुटानी शरणार्थी शिविरबाट कष्टपूर्ण बस यात्रापछि रामबहादुर राई (६६) बिहीबार राति करिब १२ बजे काठमाडौं ओर्लिए ।

केही घन्टाको आरामपछि ब्युँझदा एकजना महिला श्रीमान् र छोरीसहित उनलाई भेट्न आएका थिए । सुरुमा त राईले ठम्याउनै सकेनन् । धेरैबेर नियालेपछि उनले चिने–त्यहाँ आएकी उनकै छोरी थिइन्, जसलाई उनले ८ वर्षको उमेरदेखि देखेका थिएनन् ।

छोरी जमुना अहिले ३९ वर्ष भइसकेकी छन्, अनि साथमा श्रीमान् र ८ वर्षकी छोरी पनि ।

बाध्यतावश छुट्टिएका बाबुछोरी ३१ वर्षपछि शुक्रबार भेटेका थिए । त्यो पनि आफ्नै देशमा होइन, नेपालको राजधानी काठमाडौंमा ।

रामबहादुरकी छोरी जमुना राई आफ्नी छोरी र श्रीमानसँग बुवालाई भेट्न आएकी थिइन् । दशकौंपछि एकले अर्कालाई भेट्दा सुरुमा त दुवै एकआपसमा बोल्नै सकेनन् ।
एकछिनको मौनतापछि छोरीले नै सोधे, ‘बा ! कस्तो छ तपाईंलाई ?’

रामबहादुरले जवाफ दिए, ‘छोरी उडिराखेको चरोलाई धेरैवर्ष पिञ्जडामा राखेर छोड्यो भने त्यो उड्न सक्दैन रै’छ ! म त्यस्तै भा’छु ।’

०००

सन् १९९० को दशकमा भुटानमा मानव अधिकार र प्रजातन्त्रका लागि शान्तिपूर्ण आन्दोलन चर्किंदै थियो । राईले आफ्नो परिवारलाई नेपाल ल्याएर राखे । अनि भुटान फर्किए, त्यही बेला राज्य विरोधी पर्चा बाँडेको आरोपमा सेनाले पक्राउ गर्‍यो ।

राई पक्राउ पर्दा ३२ वर्षका थिए भने जुम्ल्याहा छोरी गंगा र जमुना भर्खर ८ वर्ष लागेका थिए । भुटानको थिम्पुस्थित केन्द्रीय कारागारमा ३१ वर्ष १० महिना लामो जेल बसाइँका क्रममा राईले एकपटक पनि परिवारसँग देखभेट गर्न पाएनन् । छोराछोरी कस्तो अवस्था छन्, कस्तो भए ? उनलाई थाहा थिएन ।

वश उनमा जिउँदो आश थियो, ‘कुनै दिन यो नरकबाट बाहिर निस्किन्छु र आफ्ना सन्तानहरुलाई भेट्छु ।’

३१ वर्ष १० महिना लामो जेल कालकोठरीमा बिताएका उनी अघिल्ला शुक्रबार मात्र रिहा भए । जेलबाट सिधै नेपाल पठाइएका उनले जुम्ल्याहा छोरीमध्ये गंगा राईलाई शरणार्थी शिविरमै भेटे । जमुनालाई भने उनले (आज) शुक्रबार काठमाडौंमा भेटिन् । सानो हुँदाको अनुहार सम्झेर छोरी ठम्याए पनि आफूले ज्वाइँलाई चिन्न सकेनन् । ‘नानीको सानोको फोटो भएको हुनाले अलिअलि चिनेजस्तो लाग्यो, ज्वाइँलाई त नचिन्दो रै’छु’, उनले भने ।

लामो समयपछि बुवालाई भेटेकी जमुना पजि बुवाको पर्खाइमा बिताएका विगतहरु बिर्सन चाहन्छिन् । बुवाबिनाका पीडादायी संघर्षका घाउहरुलाई मल्हम लगाएर च्वाट्टै बिर्सिन चाहन्छिन् । ‘सानै उमेरमा छुट्टिएपछि बुवासँग भेट्न कति खोज्यौं, त्यो पीडा त हामीलाई मात्रै थाहा छ । अब त्यो पीडादायी समय सम्झन पनि चाहन्न’, शुक्रबार ललितपुर पाटन ढोकामा भेटिएकी ३९ वर्षीय जमुना राईले भनिन्, ‘उहाँलाई भेट्न पाउँदा एकदमै खुसी लागेको छ ।’

अब बुवाले शरणार्थी परिचय पत्र पाएर नेपालमा आफूहरुसँगै राख्ने उनको योजना छ ।

‘जेलबाट सिधै सीमाना कटाइयो’

भुटानको सेन्ट्रल जेलमा राजबन्दीका रुपमा ३१ वर्ष १० महिना बिताउँदा रामबहादुर राईले यातनाबाहेक केही पाएनन् । यातनाकै कारण अहिले पनि राम्रोसँग हिँड्न पनि सक्दैनन् । गत साता जब रोयल भुटान पुलिसले हातमा रिहाइ पत्र थमायो, उनले सबै पीडा बिर्सिए । बारिह निस्केर एकहप्ता भुटानका आफन्तलाई भेट्न चाहे । तर उनले त्यो मौका नै कहाँ पाए र ?

रोयल भुटान पुलिसले जेलबाट सिधै भारतीय सीमा क्षेत्र जयगाउँमा ल्याएर छोड्यो । त्यहाँ अलपत्र परेका उनी केही भारतीयको सहयोगमा नेपाल सीमानासम्म आइपुगे । त्यहाँ उनलाई लिन छोरी गंगा राईले पुगिन् ।

उनलाई नेपालमा शरणार्थीका रुपमा भुटानीले सम्मानजनक जीवन पाएका होलान्, सेवासुविधा पुगेकै होला भन्ने लागेको थियो । जसै नेपाल टेके, स्थिति ठीक उल्टो पाए ।
‘उता (कारागार)बाट छुट्दा त एकदमै खुसी भएँ । तर नेपाल टेकिसकेपछि धेरै दुखी भएँ । न खाने छ, न बस्ने छ, न लाउने नै छ । यस्तो हुँदा बहुत दुःख लाग्यो’, उनले अनुभव बाँडे ।

राई त्यतिबेला झस्किए, जतिबेला करिब २० वर्षसँगै जेल जीवन बिताएर सन् २०१७ मा रिहाइ भएका सहयोद्धा मनबहादुर खालिङ लाई शरणार्थी शिविरमा ‘परिचय’विहीन भेट्टाए ।

शरणार्थीका रुपमा नेपाल आएका मनबहादुरले अझै शरणार्थी परिचयपत्र पाउका छैनन् ।

मनबहादुर

‘रेफ्युजी आईडी कार्ड नदिएसम्म हामी मान्छे नै हुँदैनौं । हामीसँग अरु केही कागजात पनि छैन’, मनबहादुर भन्छन्, ‘तेस्रो मुलुकमा भएका आफन्तकोमा पठाइदिए हुन्थ्यो नभए यतै बस्ने कागजात व्यवस्था मिलाइदिए हुन्थ्यो ।’

पाटनको टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार भुटानमा लामो समयसम्म राजबन्दीमा रहेर देश निकाला गरिएका रामबहादुर राई, मनबहादुर राई र मधुकर मगरसँग भेटघाट र अनुभव साट्ने चाँजो मिलाएको थियो ।

त्यही अवसरमा कुनैबेलाका एउटै जेलका सारथी सँगै एउटै कार्यक्रमका लागि काठमाडौं आएका थिए । कठोर जेल सजायबाट मुक्त भए पनि शरणार्थीका रुपमा झनै दुःख पाइरहेको उनीहरु बताउँछन् । ३० वर्ष भुटानमा जेल जीवन बिताएर नेपाल पठाइएका मधुकर मगरले नेपाल आइसकेपछि मात्रै आफ्ना परिवारका सदस्य सबै तेस्रो मुलुक पुनर्वासमा गइसकेको थाहा पाए ।

३०औं वर्षसम्म परिवारसँग सम्पर्क नहुँदा सम्बन्ध पनि बिग्रिसकेको मगरले सुनाउँछन् । ९ महिनाअघि भुटानी कारागारमुक्त भएर नेपाल पठाइएका उनी अझै पनि परिचयकै खोजीमा छन् । शरणार्थी परिचय पत्र नहुँदा शिविरमा रहेका भुटानीहरुकै घरमा आलोपालो बास बसिरहेको बाध्यता सुनाए ।

‘भुटानमा पनि बस्न दिएन । नेपालमा आफन्तहरु छन् भनेर आएको, यता पनि छैनन्,’ मगर भन्छन्, ‘अब हामी भुटानको पनि हैन, भारतको पनि हैन, नेपालको पनि हैन, हामी कहाँको हो ? घर न थर । मेरो त मन मर्दै गइरहेको छ ।’

रामबहादुर, मधुकर र मनबहादुर ।

रामबहादुरकी छोरी जमुनालाई पनि बुवाले शरणार्थीको परिचय पाए नेपालमै सँगै बस्न हुन्थ्यो भन्ने लागेको छ । शुक्रबार बिहानको भेटमा पनि उनले बुवालाई सँगै बस्न आग्रह गरेकी थिइन् ।

तर बुवा रामबहादुर दुःखी सुनिए । सँगै जेल बसेका साथीहरुले अझैसम्म अनागरिक जीवन बाँचेको देखेर उनले छोरीलाई भने, ‘म के आधारले बस्ने ? म शरणार्थी हुँ, तर मेरो केही कागजपत्र नै छैन । म त एकदम आत्तिन्दो अवस्थामा छु ।’

हो, रामबहादुर राई, मनबहादुर राई र मधुकर मगरासँग परिचयको नाममा रोयल भुटान पुलिसले सीमा क्षेत्रसम्म छाड्दा थमाएको आदेश सहितको रिहाइपत्र बाहेक केही छैन ।

त्यही रिहाइपत्र बोकेर उनीहरु परिचयको खोजीमा छन् । संयुक्त राष्ट्रयसंघीय शरणार्थी कार्यालय (यूएनएचसीआर), सीडीओ कार्यालय लगायत सबै ठाउँमा पुगे पनि आफूहरुले अझै न्याय नपाएको उनीहरुको दुखेसो छ ।

‘नक्कली शरणार्थी बनेपछि सक्कली शरणार्थीले सजाय पायौं’

सञ्चहाङ सुब्बा, भुटानी शरणार्थी व्यवस्थापन समिति, सचिव

हामी भुटानी शरणार्थीहरू अहिले एकदमै जीर्ण अवस्थामा बाँचिरहेका छौं । कसैकसैले भन्छ–विश्वका शरणार्थीहरुमध्ये भुटानी शरणार्थी धेरै भाग्यमानी हुन् । राज्यले सम्बोधन गरेको छ । यूएनएचसीआरसहित अन्य दातृ निकायले केयर गरेको छ ।

तर हिजो भुटानी शरणार्थी संख्यामा १ लाख १३ हजारभन्दा बढी रहँदाखेरि भुटानी शरणार्थी विश्वमा वाहवाहीमा थियो । सबैको नजर थियो । आज तेस्रो देश पुनर्वासमा १ लाखभन्दा बढी शरणार्थीमा गइसकेपछाडि साढे ५ हजारको संखयामा रहन गएको छ । त्यसपछि अहिले सबैको नजर हामीभन्दा टाढा गएको आभास गरेका छौं ।

यूएनएचसीआरले ‘हामीले भुटानी शरणार्थी नेपाल सरकारलाई जिम्मा लगाएका हौं’ भन्छ । केही समयअघि एनएचसीआर प्रतिनिधिलाई भनेको थिएँ, ‘तपाईं नेपाल सरकारलाई केचाहिँ जिम्मा दिनुभएको ? संख्या वा समस्या ? यदि संख्या जिम्मा लगाउनुभएको हो भने हामी पशु हौं । समस्या जिम्मा दिइएको हो भने, समाधान भएको छैन ।’

नेपाल सरकारका केही प्रतिनिधिहरू नक्कली शरणार्थी प्रकरणमा सहभागी हुनुभयो । अनि पनिसमेन्ट (सजाय) चाहिँ हामी निर्दोषलाई भयो । अरुले गरेको गल्तीले आज न हाम्रो जन्मदर्ता भएको छ न हाम्रो शरणार्थी आईडी कार्ड समयमा रिन्यू गरिदिएको छ । हामीले पाउने सहुलियतमा रोक लगाइदिनुभएको छ ।

हामीले बारम्बार भनिरहेका छौं–यदि हामीमा गल्ती छ भने नेपाल सरकारको कानुनलाई मान्न तयार छौं । आज हामीलाई नेपाल सरकारबाट खासै मानवीय अधिकारको ग्राउन्डमा रहेर सहयोग नभएको आभास गरिरहेका छौं ।

भुटानले हामीलाई खेदिरहँदाखेरि ज्यान बचाउने क्रममा नेपालले बोर्डर खुला गरेर शरण दिएकै हो । तर, आज यहाँ यो दिनसम्म आइपुग्दा शरणको मरण भइरहेकोजस्तो लागेको छ । हाम्रो नाममा अर्को शरणार्थी बनाइन्छ अनि हामीलाई दिनानुदिन यातना दिइन्छ । हाम्रो कुरा सुनिँदैन ।

‘त्यहाँ नक्कली शरणार्थी छ’ भन्ने, विभिन्न लाञ्छना लगाउने काम भइरहेको छ । आज त्यहाँ मर्नलाई काल पर्खेर बसिराखेको जस्तो अवस्थामा छौं । अहिले पनि ३५ भन्दा बढी भुटानी शरणार्थीहरु भुटानको राजबन्दीमा हुनुहुन्छ । कोहीलाई भारतबाट, कोहीलाई कतैबाट टिपेर राजबन्दी बनाएको छ । रिहाइ गर्दासमेत बोर्डर क्रस गराइरहेको छ ।

यता नेपाल आएर पनि ऊ बिना परिचय, बिना पहिचान आज एउटा छाप्रामा, भोलि अर्को छाप्रामा, कुनैबेला मन्दिरमा बसेर दिन गुजार्नु परिरहेको छ । उहाँहरुले भन्नुहुन्छ, ‘बरु जेलमा बस्दा एक किसिमको एकान्तुमा थेछु । यहाँ पनि आत्मसम्मान नहुँदा जेलमै ठिक हो कि भन्ने लागेको छ ।’

म भन्छु, हाम्रो बस्तीमा मानवता नहराओस् ! हामीलाई शरणको मरण कसैले नदिनुहोस् । ‘हाम्रो नाममा कसैलाई बेचिन्छ अनि हामीलाई यसरी एकआपसमै हराइन्छ, नेपालकै अर्को जिल्लाबाट शरणार्थीका भइदिन्छ । अनि हामी विचल्ली हुन्छौं’ भनेर यहाँ आएका थिएनौं । तेस्रो देश पुनर्वास अफर हामीलाई पनि आएको थियो, हामी पनि जान पाउँथ्यौं । तर, हामीसँग देश मुद्दा थियो । सुगम राष्ट्र यहाँ खोजेर आएका थिएनौं । कुनै दिन हाम्रै नाममा अर्को कोही जन्मोस् भनेर आएका थिएनौं ।

त्यसैले पनि नेपाल सरकारलाई आज यहींबाट भन्न चाहन्छु–यस्तो प्रकृतिको कुकार्य गर्ने तपाईंहरुको प्रतिनिधि, तपाईंहरुको कर्मचारी हो भने उहाँहरुलाई कारवाही गर्नुहोस् । भुटानी शरणार्थीमा पनि कोही हुनुहुन्छ भने हामीलाई पनि कारबाही गर्नुहोस् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?