+
+

क्यान्सरपीडित पतिको चितामा जलिन् गुलापी

बीबीसी हिन्दी बीबीसी हिन्दी
२०८१ साउन ४ गते २०:३८

४ साउन, भारत । छत्तीसगढको रायगढ शहरको छेउमा रहेको चिटकाकनी गाउँका सुशील गुप्ताले आफ्नो बुबा र आमाको एकसाथ अन्तिम संस्कार गर्न चाहन्छन् ।

तर रायगढ जिल्ला प्रहरीले सुशीलकी आमा गुलापी गुप्ता आइतबार रातिदेखि बेपत्ता भएको जनाएको छ ।

गुलापी गुप्ताले आइतबार राति ६५ वर्षीय श्रीमान् जयदेव गुप्ताको चितामा ‘सती’ गएको गाउँबासीको दाबी छ । कतिपयले यसलाई ‘आत्मदाह’ भनेका छन् ।

प्रहरीले भने गुलापी गुप्ताले ‘आत्मदाह’ गरेको भनिएको शमशानघाट निगरानीमा छ ।

मुख्य सडकमा सादा पोसाकमा प्रहरी तैनाथ छन्, आउने–जाने सबैको निगरानी गरिरहेका छन् । शमशानघाट कुनै धार्मिक कार्यक्रम हुनसक्ने प्रहरीको आशंका छ ।

के हो घटना ?

रायगढ सहरबाट करिब २० किलोमिटर पर रहेको कोतरलिया पञ्चायतको चितकाकनी गाउँ ओडिसाको सीमानाबाट सोही दूरीमा छ ।

ओडिसाको हिराकुण्ड बाँधको जलमग्न क्षेत्र परसदा जुगनीबाट विस्थापित भएर धेरै परिवारहरू यहाँ बसोबास गरेका हुन् । तीमध्ये एक कोलता समुदायका जयदेव गुप्ता र उनकी श्रीमतीले घरबाट केही दूरीमा टेलर पसल चलाउँथे । जयदेव गुप्ताका छिमेकी मंगल खमारी भन्छन्, ‘श्रीमान् श्रीमतीबीच धेरै माया थियो । दुवै सभ्य र सालिन थिए ।’

डेढ वर्षदेखि क्यान्सरबाट पीडित जयदेवको उपचारका क्रममा आइतबार रायगढ अस्पतालमा मृत्यु भयो । छिमेकी मंगल भन्छन्, साँझ करिब ५ बजे उनको शमशानघाटमा अन्तिम संस्कार गरिएको थियो ।’

अन्तिम संस्कार सकेर राति १० बजेतिर मानिसहरू फर्किएको सुशील बताउँछन् । करिब ११ बजे सुशील उठ्दा उनकी ५७ वर्षीया आमा गुलापी गुप्ता घरमा भेटिइनन् । उनको घरको मुख्य ढोका पनि खुला थियो ।

धेरै खोजीपछि गाउँलेहरू शवदाह गृह पुगे, जहाँ उनीहरूले चितामा आधा जलेको शव भेटे ।

शमशानघाट सुशीलको घरबाट करिब ५०० मिटरको मात्रै दूरीमा छ । सुशील भन्छन्, ‘मध्यरातपछि गाउँलेसँग शमशानघाट पुग्दा आमाको सारी, चप्पल र चस्मा बुवाको चिताबाट केही टाढा भेटिएको थियो । आमाको शव मेरो बुबाको चितामा लगभग जलेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’

गुलापी गुप्ताले श्रीमानलाई जलाएको चितामा आगो लगाएर ‘आत्मदाह’ गरेको हुनसक्ने गाउँका अगुवा हरिमति राठियाले बताए । राठियाका भतिजा हेमन्तकुमारले भने, ‘राति २.३० बजे शमशानघाट पुग्दा चिताको ज्वाला बलिरहेको थियो ।’

सामान्यतया दाउरा ३÷४ घण्टामा जल्छ । त्यसोभए ८/९ घण्टासम्म चिताको आगो कसरी बलिरह्यो ? यसबारे हेमन्त भन्छन्, ‘गाउँमा हरेक घरबाट काठ संकलन गरिन्छ । घाटमा पुर्‍याइएको सबै काठ चितामा हालिन्छ । यति काठले तीन चार जनाको दाहसंस्कार गर्न सकिन्छ ।’

स्टाम्प विक्रेताको रूपमा काम गर्ने ५४ वर्षीय राकेश कश्यप भन्छन्, ‘अहिलेसम्म मैले छत्तीसगढ वा मध्यप्रदेशमा यस्तो घटना सुनेको थिइनँ । यो पहिलो यस्तो मामला हो ।’ यो घटनाले गाउँले स्तब्ध भएका छन् ।

के भन्छ प्रशासन ?

रायगढ जिल्लाका एसपी दिव्यांग पटेलले परिवारका सदस्यको बयानका आधारमा सबै पक्षमा अनुसन्धान भइरहेको बताए।

राति ११ बजेपछि गुलापी गुप्तालाई के भयो भन्ने प्रत्यक्षदर्शी नरहेको उनले बताए । दिव्यांग पटेलले भने, ‘यस सम्बन्धमा व्यक्ति बेपत्ताको मुद्दा दर्ता गरिएको छ र सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ । फरेन्सिक टोली, मेडिकल टोलीको पनि सहयोग लिइएको छ । यसबाट जे बाहिर आउँछ । सबै पक्षबाट छानबिन हुने नै छ ।’

शमशानघाटमा भेटिएको बाँकी हड्डी लिएर फरेन्सिक टोली बिलासपुर फर्किएको छ । रिपोर्ट आएपछि पुनः डीएनए परीक्षणको प्रक्रिया सुरु हुनेछ ।

तर त्यसबेलासम्म गुलापी गुप्ता सरकारी फाइलमा बेपत्ता व्यक्तिको रूपमा दर्ता रहनेछन् ।

परिवाजन भने जयदेव गुप्ता र गुलापी गुप्ताको अन्त्येष्टि र अन्य शोक कार्यक्रम एकै साथ होस्, प्रहरी र प्रशासनले कुनै अवरोध नहोस् भन्ने कामना गरिरहेका छन् ।

स्वतन्त्रता अघि बनेको कानुन

सन् १८२९ मा ब्रिटिश शासनकालमै भारतमा सती प्रथालाई प्रतिबन्ध लगाउने कानुन बनेको थियो । यो कानुन बनाउनमा राजा राममोहन रायको ठूलो योगदान छ । महिलाले स्वेच्छाले आत्महत्या गरेको भए पनि उक्त कानुनअनुसार श्रीमानको मृत्युपछि महिलालाई जलाउन सहयोग गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई हत्याको दोषी मानिन्छ ।

स्वतन्त्रतापछि सती प्रथाको सबैभन्दा चर्चित घटना सन् १९८७ मा राजस्थानको सिकर जिल्लामा भएको थियो । दिवराला गाउँमा १८ वर्षीया रुप कुँवरले श्रीमानको चितामा आत्मदाह गरेको घटना सार्वजनिक भएको थियो ।

४ सेप्टेम्बर १९८७ मा भएको यो घटनामा ३२ जना पक्राउ परेका थिए । ती सबै मानिसहरू अक्टोबर १९९६ मा रिहा भए । सरकारको चर्को आलोचना भएपछि तत्कालीन मुख्यमन्त्री हरिदेव जोशीले राजीनामा दिएका थिए ।

त्यसपछि राजस्थान सरकारले राजस्थान सती निषेध अध्यादेश १९८७ पेस गर्‍यो । जुन १९८८ मा केन्द्रीय सरकारले संघीय कानुनमा पनि समावेश गरेको थियो ।

तत्कालीन राजीव गान्धी सरकारको पालामा बनेको यो कानुनमा सती प्रथाको समर्थन गर्नु अपराध मानिएको छ । यसमा सात वर्षसम्मको सजाय हुनसक्छ । यस कानुनमा सती प्रथालाई हत्यासँग जोडिएको छ र यसलाई प्रवर्द्धन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?