+
+

कागजी गिलास, कण्डम र गाँजा

नेपालमा गाँजा फुकुवा अभियानका अगुवा वामपन्थी सांसदहरू छन् । यो गाँजा फुकुवा अभियान कसरी सकिन्छ थाहा छैन तर यस क्रममा नेपालका सामाजिक सञ्जालहरूमा ‘सिंहदरबार जलाउने’ धम्की दिनेहरू निश्चय नै बढ्ने छन् ।

कोमल भट्टराई कोमल भट्टराई
२०८१ साउन ५ गते १८:१९

नेपालका ५० जना सभासदहरूले गाँजाखेतीको वैधताका लागि एक प्राइभेट विधेयक प्रतिनिधि सभामा (१९ फागुन २०७६) बुझाएका थिए । त्यो विधेयक अलपत्र पर्‍यो । तर मेरा मनमा प्रश्नहरू उठिरहन्छ कि विभिन्न दलका ५० माननीयहरू यसरी गोलबद्ध हुन कसरी आइपुगे ? सम्भवतः उहाँहरूलाई पनि थाहा नहोला हामीहरू कसरी एकठाउँमा आइपुग्यौं ? यो प्रश्नको उत्तर खोज्न तलका प्रसङ्गहरूले सघाउलान् ।

कागजी गिलास

अमेरिकामा योङ्ग लुल्लेन नामक एक व्यक्ति अस्पतालमा सामान ढुवानी गर्दथे । त्यसक्रममा उनले बिरामीको रोग अरूलाई सर्न नदिन प्रयोग भइसकेका सामानहरू विसर्जन गरेको देख्थे । यसै आधारमा उनको दिमागमा विसर्जन गर्न सकिने कागजको गिलास बनाउने विचार आयो । यो कुरा उनले आफ्नो जेठान ह्युग एभरेट मूरलाई सुनाए ।

त्यसपछि उनीहरूले कागजी गिलासका केही नमूना बनाए । यसैलाई देखाउँदै करिब २० लाख डलर संकलन गरेर विश्वमा पहिलो कागजी गिलास उद्योग खोले । सुरुमा कागजी गिलासको नाम हेल्थ कप राखे, पछि त्यो डिक्सी कप नामले प्रख्यात भयो ।

गिलास बजारमा ल्याउँदै गर्दा तिनीहरूले रेलको पानी पिउने गिलासबारे अनेकन् अफवाह फैलाए । तिनीहरूले टीबीका कीटाणुहरू रेल स्टेशनमा राखिएको गिलासबाट पानी पिउँदा सरिरहेको प्रचार गरे । यसले एक सन्त्रास पैदा गर्‍यो । अब हरेक रेल यात्रुहरू त्यहाँ राखिएका धातुका गिलास बहिष्कार गर्ने तहमा पुगे । जसको परिणाम डिक्सी कप अमेरिकाका बजार र रेल स्टेशनमा निर्धक्क घुस्न सक्यो ।

सन् १९२० मा योङ्ग लुल्लेन अर्को उद्योगमा लागेपछि यस गिलास उद्योगको एकलौटी मालिक मूर नै भए । व्यापार यसरी चम्कियो कि दोस्रो विश्वयुद्ध ताका यसको वार्षिक आय ५ खर्ब डलर पुगेको थियो भने विश्वमा प्रतिदिन २.५ खर्ब गिलासको खपत हुन्थ्यो ।

ती कागजी गिलासले टीबी नियन्त्रण के कति भयो त्यसको अध्ययन कहीं कतैबाट हुने कुरै थिएन तर सन्त्रास पैदा गरेर बढेको उद्योगबाट ह्युग एभरेट मूर अमेरिकाका सफल र प्रख्यात व्यवसायी बने । बेलायतमा त दूध पाश्चराइजेसनको सुरुवात भएपछि पोषणस्तरमा वृद्धि भई टीबी नियन्त्रणमा उल्लेखनीय योगदान गरेको देखिन्छ ।

कण्डम

ह्युग एभरेट मूरले दोस्रो विश्वयुद्धपछि डिक्सी कप उद्योग बेचे । तर उनी त्यसको परामर्शदातृ नै रहे । यसबेला उनले ह्युग मूर अन्तर्राष्ट्रिय शान्ति कोष खडा गरिसकेका थिए । यो कोषले जनसंख्या नियन्त्रण गर्नका लागि पुनः सन्त्रासयुक्त प्रचारमा लाग्यो । पश्चिमका विकसित मुलुक लगायत अमेरिका तेस्रो विश्वमा भएको जनसंख्या वृद्धिले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धहरूलाई समेत राजनीतीकरण गर्दै पुनर्वितरणको माग गर्दछ भन्नेमा आतंकित थिए ।

यसो हुनाले पश्चिमाहरूले अफ्रिकी र एशियाली मुलुकहरूमा जनसंख्या नियन्त्रण गर्न विभिन्न हत्कण्डा अपनाउन सुरु गरे । यसै बमोजिम सन् १९५४ मा ह्युग मूर अन्तर्राष्ट्रिय शान्ति कोषले ‘जनसंख्या एक गोलाबारुद’ भन्दै एक पर्चा प्रसारमा ल्यायो । पर्चामा लेखिएको थियो :

अविकसित देशहरूमा भोकमरीले बेथिति, दया तथा युद्धको स्थिति ल्याउँछ । यो साम्यवाद जन्माउने उत्तम वातावरण हो । … हामी आधा दर्जन अरू भियतनाम बेहोर्न सक्दैनौं, एउटा पनि सक्दैनौं, वास्तवमा हाम्रो आफ्नै राष्ट्रिय हितको लागि पनि अविकसित देशहरूलाई उनीहरूको जनसंख्या नियन्त्रण गर्नमा पूर्ण रूपमा सहयोग गर्नुपर्छ । (हार्टम्यानको ‘पपुलेशन कन्ट्रोल फस्ट : वर्थ अफ एन आइडोलजी’ बाट अनिल भट्टराईको एक लेखमा उद्धृत ।)

चीन १९५० को दशकमा परिवार नियोजन लागूू गराउन तयार भइसकेको थियो । तर, १९५७ मा माओ र ख्रुश्चेभको मस्कोमा भएको भेटघाटको कुराकानी पछि सो योजना रोकियो । यस भेटघाटमा ख्रुश्चेभले भने ‘सोभियत संघ अबको १५ वर्षपछि अमेरिकीको हाराहारीमा पुग्नेछ ।’ यसमाथि सहमतिका साथ माओले भने ‘चीन बेलायत सरह हुनेछ ।’

यसैवेला माओले युद्धको सम्भावनाको चर्चा गर्दै भने ‘मानौं युद्ध भयो, कतिको ज्यान जाला ? अहिले संसारको जनसंख्या करीब २ अर्ब ७० करोड छ, सो युद्धमा एकतिहाइ या भनौं आधा संख्या मर्लान् । जनसंख्याको आधा भाग बाँच्लान् । तब साम्राज्यवाद उन्मूलन हुनेछ र समाजवादले विश्व विजय गर्नेछ ।’

यसैवेलादेखि जनसंख्या अन्तर्राष्ट्रिय राजनीतिको एउटा एजेण्डा बन्यो । पश्चिमाहरू जनसंख्या नियन्त्रणको लडाइँमा ‘जस्तोसुकै मूल्य चुकाउन तथा माध्यम र तरिका अपनाउन’ तयार भए । उनीहरूको लुप्त रणनीतिक लक्ष्य विश्वमा रहेको अपार सम्पत्ति र आफूसँग रहेको अधिकारको पुनर्वितरण हुन नदिन रह्यो र रहेको छ । यसमा ह्युग मूर अन्तर्राष्ट्रिय शान्ति कोषले अगुवाइ गर्‍यो ।

‘जनसंख्या एक गोलाबारुद’ पर्चाको सन्देश र आह्वानसँगै अमेरिका कण्डम बोकेर हाम्रा जस्ता मुलुकहरूमा आइपुग्यो । अमेरिकी सहयोग एजेन्सीहरूले कण्डमलाई परिवार नियोजनको अस्थायी साधन बताउँदै सन् १९५८ देखि निःशुल्क वितरण गर्न थाले ।

राजपरिवारका सदस्यहरूलाई राखेर नेपाल परिवार नियोजन संघ बनाए । यौन क्रियाको अवरोधक दरबार र सामन्तहरूका पटाङ्गिनीबाट जनसमुदायमा ओराल्न थालियो । निःशुल्क छिरेको कण्डम नेपालका बजारमा ३० भन्दा बढी ब्राण्डमा बिक्री गरिन थालियो । ती सबै अमेरिकन तथा अमेरिकी साझेदारीबाट विभिन्न देशमा सञ्चालित कारखानाहरूमा निर्मित हुन् ।

कण्डमको प्रयोगबारे अनेकन् अध्ययन भएका छन् र अनेकन् सरकारी तथा गैरसरकारी स्वयंसेवीहरू कण्डम किन्न र लगाउन जनचेतना फैलाउन लागिपरे । त्यसका लागि सामाजिक बजार नीति अनुसार बिक्री गर्न सन् १९७८ मा सिआरएस कम्पनी स्थापना भयो । पहुँच, प्राप्यता र क्रय क्षमता जेसुकै होस्, भोका जनतालाई कण्डम वितरण गरियो । तर, पूँजीवाद यतिले अघाएन ।

सन् १९९० पछि पश्चिमाहरूले हामीलाई तर्साउन एचआईभीको निहुँ बनाए । यसपछि एचआईभी नियन्त्रणका लागि वर्षेनि ७-८ करोड कण्डमहरू निःशुल्क वितरण गरिन थालियो । त्यसपछि पनि कण्डमको माग अनुसार पूर्ति हुन सकेन भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न प्रतिवेदनहरूले गनगन गरिरहे ।

मन्त्रालय र गैरसरकारी संघ–संस्थाको जनता लक्षित यौन शिक्षा र एड्स विरुद्ध अभियानको कारण कण्डमको मागमा वृद्धि हुन्थ्यो नै त्यसमाथि अमेरिकन प्राइभेट कम्पनी समेत सामाजिक बजार प्रवद्र्धन गरिरहेका छन् । कण्डम प्रवद्र्धन गर्न हाम्रा प्राज्ञिक अनुसन्धान केन्द्रहरू अझ मेडिकल कलेजहरू उपयोग गरिएका छन् ।

कण्डमले गर्ने चैं के हो ?

हाल पुरुषले प्रयोग गर्ने प्रचलित कण्डम ल्याटेक्स कण्डम हो । यो तन्किने नरम रवरबाट बनेको हुन्छ र यसको छिद्रको आकार ०.५ माइक्रोन (५०० न्यानोमिटर) डाइमिटर बराबरको हुन्छ । वीर्यको आकार ५५-६५ माइक्रोन हुन्छ जुन कण्डमको छिद्रभन्दा १०० गुणा ठूलो हो । यसकारण वीर्य कण्डमको छिद्रबाट पस्न सक्दैन ।
तर, यसको उपयुक्त प्रयोग गर्न सहज नभएका कारण अनिच्छुक गर्भ रहेका संख्या अत्यधिक हुने गरेको बताइएको छ । सिफिलिसका ब्याक्टेरिया ट्रिपोनेमा पालिडमको डाइमिटर ०.२ माइक्रोमिटर (२०० न्यानोमिटर) हुन्छ । यसकारण कण्डमको ठूलो छिद्रबाट सिफिलिसका कीटाणु रोकिन सक्दैनन् । यसैगरी महिलाको पाठेघरको मुखमा मुसा पलाउने र क्यान्सर गराउने पापिलोमा भाइरसको डाइमिटर ५२–५५ न्यानोमिटर भएकाले पनि कण्डमको छिद्रबाट छिर्न सक्छन् ।

कण्डमलाई जनसंख्या नियन्त्रणमा मात्र सीमित नगरी यसलाई सन् १९८० को शुरुआतदेखि एचआईभी लगायतका यौन प्रसारित रोगहरूको रोकथाममा उपयोगी हुने प्रचार गरियो । त्यसपछि विश्वभर करोडौं र नेपालमा हजारौं सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले चलाएका एचआईभी नियन्त्रण कार्यक्रमहरूबाट यसको प्रयोगका लागि व्यापक प्रचार र छ्यासछ्यास्ती वितरण गरियो ।

तर एचआईभी लगायतका यौन प्रसारित रोगहरूको रोकथाममा यसको प्रभावकारिताको अनुसन्धान वैज्ञानिक तथ्यबाट भएनन्– केही भएका भए पनि ती सर्वसाधारणका लागि प्राप्त भएका छैनन् । तर कण्डमको छिद्रको डाइमिटर र यौन प्रसारित रोगका कारक कीटाणु तथा जीवाणुका डाइमिटरको तुलना गर्दा नै यौन प्रसारित रोगहरूको रोकथाम गर्न नसक्ने स्पष्ट हुन्छ ।

जस्तो कि एचआईभीको बाहिरी आवरण सहितको डाइमिटर १०० न्यानोमिटर हुन्छ, त्यसैले एचआईभी ५०० न्यानोमिटरको छिद्र हुने कण्डमबाट सजिलै बाहिरिन सक्छ ।

यसरी कण्डमको छिद्रता र एचआईभी लगायतका यौन प्रसारित कीटाणु या जीवाणुहरूका डायमिटर तुलना गर्नाले नै कण्डम वीर्य रोक्न मात्रै सक्षम छ भन्ने स्पष्ट छ । तर के कण्डम र परिवार नियोजनका साधन तथा विधिका कारण जनसंख्या नियन्त्रणमा आएको हो ? यसको उत्तर खोज्न थालियो भने जनसंख्या नियन्त्रणका लागि परिवार नियोजनका साधन तथा विधिहरू एक अति नै नगन्य उपाय हुन् भन्ने थाहा लाग्छ ।

यसो याद गर्नुहोस् त, ढिलो विवाह, पति–पत्नीबीच यौनक्रिया सम्बन्ध सहमतिमा हुनुपर्ने विचारको उदय, छोरा प्राथमिकता दिने मानसिकतामा सुस्त परिवर्तन, यौनक्रियामा सुख महसुस गर्नेमा विविध काइदाहरूको अवलम्बन आदि पनि जनसंख्या नियन्त्रणका लागि सहयोगी बनेका छन् ।

यी सबै कुराहरूलाई राजनीतिक भाषामा भन्दा कृषि अर्थव्यवस्था प्रणालीबाट समाज पूँजीवादी समाजवादमा बदलियो । अब यो समाजका लागि धेरै सन्तान परिवारका लागि बोझ भयो । यही कारणभित्र कण्डम जनसंख्या नियन्त्रणका लागि अचूक हतियार हो कि, यो ह्युग मूर जस्ताको पूँजी भोग गर्ने अचूक क्याप्सुल हो ? खोज्नुपर्ने हुन्छ ।

गाँजा

पाँच वर्षअघि क्यान्सरको अन्तिम अवस्थामा रहेका एक मेरा परममित्रले कुनै भूमिगत संयन्त्रबाट गाँजाको तेल झिकाएर आफ्नो दर्द हरणका लागि सेवन गरिरहेको बताए । करिब १०० मिलीको बोतल रु.२००० मा भूमिगत सदस्यले होम डेलिभर गर्दो रहेछ ।

यसबारे मैले एक अन्तर्राष्ट्रिय गैससका एक सफल व्यवस्थापकलाई बताउँदा यसको कैयन् गैससहरूले आन्दोलन चलाइरहेका र भूमिगत कारोबार भइरहेको विस्तृत जानकारी दिएका थिए । यसै समयमा सांसदहरूले प्राइभेट विधेयक नै संसद्मा पेश गरेका थिए ।

त्यो पेश गरिएको विधेयक अलपत्र परेको थियो तर गत आर्थिक बर्ष २०८०/८१ मा बजेटमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यताका लागि बजेट विनियोजन गरिएको थियो । त्यही बजेटमा गाँजाको अवैध खेती फाँड्नका लागि समेत रकम विनियोजन गरिएको थियो ।

रोचक त के छ भने बजेटको यस कुरामा हालका प्रधानमन्त्री केपी ओलीको आपत्ति देखिएको थियो । उनले संसद्मा प्रश्न गरेका थिए– ‘कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? बीउ लिएर बसेको व्यापारी को हो ?’ बीउ लिएर बसेको व्यापारी त देखिएका थिएनन् तर नेपालमा गाँजाको प्रतिबन्ध हटाइनुपर्छ भन्ने अभियानको शुरुआत कम्युनिष्ट पार्टीका सांसदहरूको अगुवाइमा भइरहेको देखिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ समाप्त भइसकेको छ, तर वामपन्थी सांसदहरूको प्राइभेट विधेयक झैं सम्भाव्यताका लागि बजेट रकम पनि अलपत्र नै परेको बुझिन्छ । तर, ‘गाँजा खेती खुला गरौं, जनता र मुलुकको समृद्धि गरौं’ भन्ने आशयका सूचना सामाजिक सञ्जालहरूमा सञ्चार भइरहेको देखिन्छ ।

गाँजा खेती फाँड्न पश्चिमाहरूले नै अभियान चलाएका थिए, जसका लागि तिनीहरूले संयुक्त राष्ट्रसंघमा सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१ ल्याए । त्यसमा नेपालले सहभागी राष्ट्रका हैसियतले हस्ताक्षर गर्‍यो । त्यसलाई पछ्याउँदै लागूऔषध ऐन २०३३ जारी गरी कार्यान्वयन गर्न संरचना र जनशक्ति निर्माण गर्‍यो ।

तर अब पुनः प्रतिबन्ध खुला गर्न पश्चिमाहरू नै लागेका छन्– जसको शुरुवात हंगेरी मूलका ओपन सोसाइटीका दाता प्रमुख जर्ज स्वराजले सन् १९९२ देखि फन्डिङ गरिरहेका छन् । नेपालमा भने गाँजा फुकुवा अभियानका अगुवाहरू वामपन्थी सांसदहरू छन् । यो गाँजा फुकुवा अभियान कसरी सकिन्छ थाहा छैन तर नेपालका सामाजिक सञ्जालहरूमा ‘सिंहदरबार जलाउने’ धम्की दिनेहरू निश्चय नै बढ्ने छन् ।

कुरा के भने– मुलुकले सामाजिक क्षति हुने आर्थिक वृद्धिको गँजडी सपना देख्न हुँदैन । गाँजाको तेल क्यान्सरको दर्दमा उपयोगी छ तर त्यो भन्दा बाहेकका अन्य दर्दनिवारक औषधिहरू सस्ता छन् । बुटिक कपडा बन्लान् तर ती महँगा हुन्छन् । टिकाउ नहुने र सफा गर्न झन्झटिला छन् । गाँजाका उत्पादनहरूमा भारतवेष्टित नेपालका लागि कति भरपर्दो हुन्छ ठण्डा दिमागले सोच्नै पर्ने हुन्छ ।

किसानहरूलाई सोध्नुहोस्- चिया, अलैंची, अदुवा भारतको भूमिबाट निकासी गर्न के कति सहज छ ? यसको उत्तर हामीले अत्यासलाग्दो पाउनेछौं । यसर्थ मुलुकले नताको पेट भर्ने खेतीलाई प्रवद्र्धन गर्दै चिया, अलैंची, अदुवा भारतको भूमिबाट सहज निकासी गर्न सकिने व्यवस्था मिलाउन आवाज उठाउँ । आकर्षक नारा र प्रचारमा होइन, यथार्थ धरातलमा हिंडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?