+
+

एसईईमा एनजी आएको ९४ विद्यार्थीको पुनर्योग गर्दा ‘ए प्लस’

नुनुता राई नुनुता राई
२०८१ साउन ५ गते १९:०५

४ साउन, काठमाडौं । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा विभिन्न विषयमा एनजी आएका विद्यार्थीले नतिजा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा ९४ जना परीक्षार्थीको विभिन्न विषयमा ए प्लस (४ ग्रेड पोइन्ट) ल्याएको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा ९४ जनाको ४ ग्रेड पोइन्ट आएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने (इन्ट्री गर्ने) क्रममा कमजोरी भएको जानकारी पाएको बताए ।

‘नियन्त्रकज्यूले जानकारी दिए अनुसार कपी इक्जामिन सही ढंगले भएको तर नम्बर कम्प्युटरमा इन्ट्री गर्ने क्रममा कमजोरी भएको छ’, उनले भने, ‘६८ अंकलाई ०८ चढाइएको, ७७ लाई ११ चढाइएको पाइएको भन्ने छ अंग्रेजी अंकमा नबुझेर त्यसरी गल्ती भएको हो कि भन्ने बुझिन्छ अक्षरमा लेखिएकोलाई ध्यान नदिएको पाइयो ।’ कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले पुनर्योगको नतिजामा फरक आइरहेको प्रवक्ता दाहालको भनाइ छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुईंटेल यो नतिजाले शिक्षक, कर्मचारीको लापरवाहीले प्रणालीमाथि नै अविश्वास बढ्ने स्थिति सिर्जना भएको बताए ।

‘रिटोटलिङ गर्दा दशमलवमा अंक फरक पर्नु स्वभाविक मान्न सकिन्छ तर एनजी आएकाको ‘ए प्लस’ आउनुले गम्भीर लापरवाही भएको देखिन्छ’, उनले भने । यसलाई मानवीय त्रुटिको नाम दिएर सामान्य बनाउन नहुने भन्दै उनले यति ठूलो कमजोरीमा संलग्नलाई दण्ड दिनुपर्ने बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको छाता संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) का अध्यक्ष सुदामप्रसाद गौतमले पुनर्योगको नतिजाले परीक्षा प्रणाली कमजोर छ भन्ने देखाएको बताए ।

पुनर्योगको नतिजालाई स्वभाविक रुपमा लिन नसकिने भएकाले परीक्षा बोर्डले यसको समीक्षा गर्नुपर्ने उनले बताए । अहिलेको नतिजालाई लिएर परीक्षण प्रणालीमाथि शंका बढेकाले अर्को वर्ष पुनर्योगको लागि आवेदन दिनेको संख्या झन् बढ्ने उनले बताए ।

पुनर्योगको निवेदनपछि नतिजा फरक पर्नुले धेरै विद्यार्थीलाई अन्याय भएको देखिएको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् । नम्बर चढाउने ठाउँमा त्रुटि भएको परीक्षा बोर्डले भनिरहेकाले ती कर्मचारीको गैरजिम्मेवारीपनले विद्यार्थी मर्कामा परेको उनको भनाइ छ ।

मानवीय त्रुटिको रुपमा गल्ती हुने जोखिमलाई कम गर्न ‘क्रस चेक’ नगरेर बोर्डले गल्ती गरेको प्रा.डा.कोइरालाको बुझाइ छ ‘परीक्षा बोर्डले मानवीय त्रुटि भनेर पन्छाउने प्रयास गरिरहेको छ तर यो नतिजा हेर्दा परीक्षण गर्ने शिक्षक अथवा नम्बर चढाउने कर्मचारीमध्ये एकको लापरवाही देखिन्छ र क्रस चेक गर्नबाट बोर्ड पनि चुकेको देखिन्छ’, उनले भने ।

१३ असारमा सार्वजनिक एसईईको नतिजा अनुसार चार लाख ६४ हजार ७८५ जनाले एसईई दिएकामा दुई लाख ४२ हजार ३१३ जना ११ कक्षा पढ्न पाउने भएका थिए । उनीहरुमध्ये १९ हजार ६०० जनाले पुनर्योगको निवेदन दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक र आन्तरिक परीक्षाको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।
निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका

परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेर सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यो परीक्षा २३ साउनमा हुँदैछ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?