+
+

माइक्रोसफ्ट अवरुद्ध गराउने कम्पनीलाई एक झट्कामै लाग्यो करिब १२ खर्ब घाटा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ६:२९

अमेरिकी साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइक शुक्रबारदेखि निकै चर्चामा छ । किनकि यो कम्पनीको एउटा खराब सफ्टवेयर अपडेटका कारण विश्वभर नै ठूलो तहल्का मच्चियो ।

करिब १५ घण्ट‍ासम्म माइक्रोसफ्टको सर्भर ठप्प भएका कारण विश्वका धेरै देशमा एयरपोर्ट, बैंक, टिभी च्यानलदेखि शेयर बजारसमेत अवरुद्ध भए ।

यसैबीच दुनियाँ नै ठप्प पार्नका लागि जिम्मेवार सो कम्पनीलाई ठूलो झट्का लागेको छ । शुक्रबार कम्पनीको शेयर मूल्यमा ११ प्रतिशत भन्दा धेरैले गिरावट आयो ।

शुक्रबारको घटनाअघि क्राउडस्ट्राइक कम्पनीको बजार पुँजीकरण ८३ अर्ब डलर नाघेको थियो । तर, क्षणभरमा आएको उक्त संकटका कारण शेयर मूल्य तीव्ररुपमा ओरालो लाग्दा कम्पनीले ८ अर्ब ८० करोड डलर गुमायो । अर्थात् एक झट्कामै सो कम्पनीले करिब १२ खर्ब रुपैयाँ गुमाएको छ ।

विश्वको लोकप्रिय साइबर सेक्योरिटी प्रोभाइडर कम्पनी क्राउडस्ट्राइकका विश्वभर करिब ३० हजार ग्राहक छन् ।

आफ्नो ग्रोथ तथा उच्च मार्जिनका कारण लगानीकर्ताहरूका लागि आकर्षण बन्दै आएको थियो । शुक्रबारको गिरावटभन्दा अघि गत वर्ष यसको शेयर मूल्य दोब्बर भएको थियो । तर, पछिल्लो घटनाका कारण ग्राहक तथा लगानीकर्तालाई कम्पनीप्रतिको आफ्नो निर्भरताका बारेमा विचार गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । जसबाट पालो अल्टो नेटवर्कस् जस्ता कम्पनीहरूले मौकाको फाइदा उठाउन सक्दछन्, जसको शेयर मूलय शुक्रबार १.७ प्रतिशतले बढेको थियो ।

वेबबस सेक्योरिटिजका विश्लेषक ड्यान इभेसका अनुसार यो घटना क्राउडस्ट्राइकका लागि एउटा ठुलो क्षति हो र यसले उसको शेयरमा दबाब पर्नेछ । तर, यो घटना कुनै साइबर सुरक्षा खतराका कारण नभई प्रविधिको अपडेटका कारण भएको हो ।

हाल क्राउडस्ट्राइकको शेयर मूल्य ३०४.९६ डलर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?