+
+

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ६:५६

६ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् ।

यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ ।

२४ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । प्रदेश सभाको दोस्रो कार्यकालका लागि २५ पुस २०७९ देखि जम्कट्टेल मुख्यमन्त्री थिए ।

मुख्यमन्त्री जम्कट्टेलले १८ महिनामा तीन पटक विश्वासको मत लिएर सत्ता टिकाएका थिए । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए ।

एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।

उनले पहिलोपटकमा १०५ जना सांसद, दोस्रो पटकमा ६७ जना सांसद र तेस्रो पटक ५६ जना सांसदको विश्वासको मत पाएका थिए । प्रदेशको साढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् ।

प्रदेशको पहिलो कार्यकालमा २०७४ देखि ०७८ सम्म आन्तरिक ममिला तथा कानुनमन्त्री बनेका उनी २०७८ देखि २०७९ वैशाखसम्मै आर्थिक मामिला तथा योजना मन्त्री भएर काम गरे । दोस्रो कार्यकालबाट उनी मुख्यमन्त्री भए ।

बागमतीमा अब कांग्रेस र एमालेको सरकार गठन हुनेछ । सत्ता समीकरणको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व कांग्रेसले गर्ने चर्चा छ ।

जम्कट्टेलले मुख्यमन्त्रीबाट बिदा भएर नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढेसँगै सरकारको नेतृत्व कसले लिने भन्ने विषय टुंगो लाग्ने एमालेका एक सांसदले जानकारी दिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् ।

बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?