+
+

उपसभामुखको बचाउमा रास्वपा– धेरै दलका नेताले भिसा सिफारिस नै गर्ने गरेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ८:२४

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।

रास्वपाले उपसभामुखको पत्र प्रकरणको बचाउ गर्दै भनेको छ, ‘धेरै दलका नेताले भिसा अन्तर्वार्ता मितिका लागि मात्रै होइन, भिसाकै लागि माैखिक र लिखित सिफारिश गर्ने गरेको पाइएको छ । संघीय संसद लगायत उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी गराइसकिएको विषय अहिले अनर्गल प्रचार गराइएको छ ।’

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ ।

‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?