+

हिमालयन १०० चेसमा रुपेश च्याम्पियन

२०८१ साउन  ६ गते ८:२७ २०८१ साउन ६ गते ८:२७
हिमालयन १०० चेसमा रुपेश च्याम्पियन

काठमाडौं ।  हिमालयन १०० ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् । प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्बाधिक ९.५ अंक जोड्दै उपाधि जितेका हुन् ।

अर्का एफएम क्षितिज भण्डारी ९ अंकसहित उपविजेता भए । पुरुषोत्तम सिलवाल र रामहरि काकीले समान ८ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए ।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले दशौं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाईं, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितिज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए ।

क्षितिजले सातौं चरणमा रुपेशसँग पराजय बेहोर्नुबाहेक अरु सबै खेल जितेका थिए । पुरुषोत्तमले रुपेश र क्षितिजसँग मात्रै हारे र अरु आठ खेलबाट अंक जोडे ।

खुला, महिला तथा अरु १५ स्पर्धासमावेश कुल ५४ हजार रुपियाँ पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितिजले ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरि (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार प्राप्त गरे । पुरुषोत्तम चौलागाइँ (७), सुशील (७), धिरेन (७), अभिक शाह (७), शैलेन्द्र न्यौपाने (७) शीर्ष १० मा रहँदै एक/एक हजार हात पारे ।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन् । उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाइँ (६) तेस्रो भए । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता भएकी हुन् । यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।

यू-१९ गल्र्समा रुबेश्री (३ अंक), ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता भए । यू-११ गल्र्समा नायुमा मगर (३.५ अंक) र ब्वाइजमा अग्रिम सैंजु (६) प्रथम भए । यू-१३ ब्वाइजमा सिद्धार्थ लामा (५ अंक) र सोफिया गुरुङ (२.५) ले सफलता हात पारे । यू-१५ तर्फ ब्वाइजमा आशिष गुप्ता (६.५) र गल्र्समा विपश्वी अधिकारी (३) ले स्वर्णपदक जिते ।

विद्यार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो भए । भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फूर्वा लामा (६.५) शीर्षस्थानमा रहे । बेस्ट हिमालयनको अवार्ड गल्र्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६ अंक) ले प्राप्त गरे ।

‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा १ सय खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) पनि हो ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदूरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले पुरस्कार प्रदान गरे ।

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत् शनिबार प्रतियोगिता आयोजना गरेको थियो ।

बुद्धिचाल रुपेश जैसवाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय