+
+

बंगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ साउन ६ गते १२:३८

६ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।

आजमात्रै केही विद्यार्थी काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन् ।

सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।

बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनेको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिन अघिदेखि नै स्थलमार्गबाट पनि नेपालीहरू स्वदेश फर्किने क्रम बढेको थियो । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विगतमा स्थलमार्गबाट ८–१० जना आउजाउ हुने गरे पनि केही दिनयता बंगलादेशबाट स्वदेश फर्किनेहरूको संख्या ह्वात्तै बढेको छ ।

कार्यालयका अनुसार साउन ३ गते ६५ जना र ४ गते २५ जना नेपाली बंगलादेशबाट फर्किएको तथ्यांक छ । झापाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी नेपालीहरू स्थलमार्ग हुँदै बंगलादेश आउजाउ गर्दछन् । यसअघि भारतका सञ्चार माध्यमहरूले केही नेपाली विद्यार्थीहरू भारतको मेघालय हुँदै स्वदेश फर्किरहेको उल्लेख गरेका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?