+
+

गुल्मीमा तयार भएका १५ शय्याका दुई अस्पताल प्रयोगविहीन

अनिल खत्री अनिल खत्री
२०८१ साउन ६ गते १४:२६

६ साउन, गुल्मी । गुल्मीका दुईवटा पालिकामा निर्माण कार्य सम्पन्न भएका अस्पताल भवन प्रयोगविहीन छन् । भुक्तानीको समस्याले गर्दा निर्माण व्यवसायीले हस्तान्तरण नगर्दा गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा तयार भएका १५/१५ शय्याका अस्पताल भवन अलपत्र परेका हुन् ।

गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर–३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–४ शान्तिपुरमा रहेको अस्पताल भने असार ७ गते निर्माण सम्पन्न भएको हो । भवन निर्माण कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले रकम भुक्तानी नपाएपछि हस्तातरण हुन सकेको छैन ।

गुल्मीदरबारको अस्पताल भवन २०७८ साल असार २५ गते सम्झौता भई २०८० असारमा तोकिएकै मितिमा सम्पन्न भएको थियो । गाउँपालिकाका योजना अधिकृत टंक पन्थीका अनुसार भवन १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रालि तम्घासले निर्माण गरेको हो । यसमध्ये २ करोड ७ लाख रुपैयाँ निर्माण व्यवसायीले पाउन बाँकी छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा भवन पनि २०७८ साल असार २५ गते सम्झौता भई २०८१ असारमा तोकिएकै मितिमा सकिएको हो । गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले १२ करोड ७२ लाखको लागतमा तुलसीदत्त अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको बताए । भवनको हालसम्म १० करोड ९१ लाख रकम भुक्तानी भएको छ ।

निर्माण व्यवसायीलाई १ करोड ८१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको सूचना अधिकारी ज्ञवालीले बताए ।

बनेको अस्पताल भवन लामो समयसम्म प्रयोगमा नआउनु दःुखद भएको गुल्मीदरबारका स्थानीय थम्मनबहादुर झाँर्की मगरले बताए । उनले घर छेउमा अस्पताल बनेपछि सुविधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराएको पनि बताए ।

यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता छ ।

गुल्मीका अन्य पालिकामा १५ शय्याका र जिल्ला सदरमुकाम तम्घासमा ५५ शय्याको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?