+
+
ब्रान्ड स्टोरी :

पाँच दशकदेखिको पर्यटन मार्गदर्शक ‘सांग्रिला टुर्स’

एक दशक पर्यटन उद्योगमा अनुभव हासिल गरेपछि टेकचन्द्रलाई पनि आफ्नै कम्पनी खोलेर व्यवसाय अगाडि बढाउन आँट आयो । अनि, उनले खोले एकसाथ तीन कम्पनी– सांग्रिला टुर्स, हिमालयन जर्निज र रम डुडल ।

सुशील भट्टराई सुशील भट्टराई
२०८१ साउन ६ गते १९:५०

६ साउन, काठमाडौं । साढे ६ दशकअघि २१ वर्षको केटौलो उमेरमा सप्तरीबाट काठमाडौं आउँदा टेकचन्द्र पोखरेलसँग सपनाका अनगिन्ती पहाड थिए ।

अनगिन्ती सपना यस माने कि उनले त्यो बेला पनि उतैबाट क्याम्पस तहको पढाइ सकेर आएका थिए । देशकै राजधानी आइपुग्दा केही कमाउने र नाम कमाउने लालसा उनमा पनि थियो ।

काठमाडौं आएर घट्टेकुलोमा डेरा लिएर बस्न थाले । तर, केही समय बस्दा पनि खासै आशलाग्दो उन्नतिको काम भने हुन सकेन । उनी केही निराश पनि हुन पुगे ।

एकदिन अनायास टेकचन्द्रको मनमा के भयो, उनी ‘अब काठमाडौं बसेर केही हुन्न, तराई नै फर्किन्छु’ भन्ने निर्णयमा पुगे । र, झोलीतुम्बा कसेर सप्तरी फर्किए ।

सप्तरी पुगेर उनले खेतीकिसानीको काम थाले । केही वर्ष उतै व्यस्त भए । तर, टेकचन्द्रको मनले मानेन । अनि, फेरि फर्किए काठमाडौं । र, बालाजुमा सुरु गरे फर्निचर व्यवसाय ।

बालाजुको फर्निचर कारखानामा काम चलिरहेको थियो । काठमाडौंमा एकखालको सानोतिनो व्यवसायमा टेकचन्द्र जम्दै थिए ।

एकदिन कारखानामा बसिरहेका थिए । एक जना विदेशी उनको कारखानामा आइपुगे । कुराकानीका क्रममा टेकचन्द्रले थाहा पाए, ती विदेशी जापानका रहेछन् र नेपालमा होटल खोल्न लागेका रहेछन् ।

सोलुखुम्बुमा होटल खोल्न लागेको र त्यो होटललाई आवश्यक फर्निचर के कति लाग्छ, कति मूल्य पर्छ लगायत बुझ्न ती जापानी आएका रहेछन् ।

टेकचन्द्रले कुरा गर्दै जाँदा ती जापानीको नाम ताकासी मियाहारा भएको थाहा पाए ।

कुरैकुरामा टेकचन्द्रले ताकासीलाई सोधे, ‘म पनि तिम्रो होटलमा साझेदार बन्न चाहन्छु, के तिमीलाई मञ्जुर छ ?’

ताकासीले यसो मनमनै गमे, अनि टेकचन्द्रलाई जवाफ दिए, ‘ठिक छ, तिमीलाई इच्छा छ भने हामी मिलेर व्यवसाय चलाऔं ।’

त्यसपछि नेपाल र जापानका दुई ठिटा मिलेर व्यवसाय सुरु गरे । टेकचन्द्रले फर्निचरको व्यवसाय छाडिदिए । र, थाले पर्यटन व्यवसाय ।

टेकचन्द्रले एकदमै भिन्नै र नौलो व्यवसायमा हात हाले । ताकासीसँग साझेदारी भएपछि दुवैले मिलेर संसारकै सबैभन्दा अग्लो ठाउँमा होटल खोले र नाम राखे– ‘होटल एभरेस्ट भ्यु’ ।

सँगैसँगै मिलेर अर्को दुई कम्पनी खोले– ट्रान्सहिमालयन टुर्स र ट्रान्सहिमालयन ट्रेकिङ । यो ५६ वर्षअघिको कुरा हो ।

होटलसँगै टुर र ट्रेकिङ कम्पनीको व्यापार चलिरहेको थियो । टेकचन्द्र र ताकासीले व्यावसायिक सहकार्यलाई एक दशकभन्दा अगाडि लान सकेनन् ।

अनि एकदिन यस्तो आयो, दुवैले सौहाद्र्धपूर्ण सहमतिमा एक दशक लामो व्यावसायिक साझेदारीलाई टुंग्याएर र आ–आफ्नो बाटो लागे ।

ताकासी तिनै व्यवसायी हुन्, जसले ललितपुर कुपन्डोलमा होटल हिमालय स्थापना गरेका थिए ।

एक दशक पर्यटन उद्योगमा अनुभव हासिल गरेपछि टेकचन्द्रलाई पनि आफ्नै कम्पनी खोलेर व्यवसाय अगाडि बढाउन आँट आयो । अनि, उनले खोले एकसाथ तीन कम्पनी– सांग्रिला टुर्स, हिमालयन जर्निज र रम डुडल ।

सांग्रिला टुर्सले संसारका विभिन्न देशका पर्यटक नेपाल घुमाउन ल्याउन टुर तथा ट्राभल प्याकेज बनाउने, हिमालयन जर्निजले विदेशी पर्यटकलाई नेपालका विभिन्न हिमाल–पहाडमा ट्रेकिङ (पदयात्रा) गराउने र रम डुडल रेस्टुरेन्टले पाहुनालाई गुणस्तरीय खाना, पेय लगायत परिकार खुवाउने गर्थ्यो ।

त्यो बेला एउटै कम्पनीले दुई–तीनथरी काम गर्न पाउँथेन, त्यही भएर तीन भिन्नाभिन्नै कम्पनी खोलिएको थियो ।

नेपालमा त्यो बेला भर्खर ट्रेकिङ सुरु भएको थियो । टाइगर टप्सले सुरु गरिरहेको थियो र ट्रान्स हिमालयनले पनि ट्रेकिङ गराइरहेको थियो ।

ताकासीसँगको व्यावसायिक साझेदारी अन्त्य नै टेकचन्द्रका लागि ४६ वर्षअघिको ‘टर्निङ प्वाइन्ट’ भइदियो । त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्किएर हेर्नुपरेन । पर्यटन उद्योगमा ‘पायोनियर’ भएर काम गरेको गर्‍यै अगाडि बढिरहे ।

ताकासीसँग व्यावसायिक साझेदारी अन्त्य भए पनि दुवै एउटै उमेरका भएका कारण पारिवारिक सम्बन्ध भने थियो । दुवै जना दुवैको घरमा आउजाउ, सुखदुःखमा साथ दिने काम भने बाँचुन्जेल चलिरह्यो ।

जब अशोक प्रवेश गरे सांग्रिला टुर्स…

टेकचन्द्रले सांग्रिला टुर्ससहित सबै कम्पनीलाई उचाइतिर लगिरहेका थिए । उनले व्यवसाय अगाडि बढाइरहेका त थिए, तर अन्य पर्यटन संघसंगठन तथन समाज सेवाका कामलाई त्यति समय दिन सकिरहेका थिएनन् ।

एकमात्र छोरो विदेशमा पढिरहेका थिए । पढाइ सकेर बिदामा घर फर्केको मौकामा टेकचन्द्रले छोरा अशोकलाई भने, ‘अब आफ्नै कम्पनी ज्वाइन गर न त !’

अशोकलाई पनि लाग्यो, ‘ठिकै छ, दुई–चार महिना काम गरौं न त, काम पनि जानिन्छ, यसो पकेट मनी पनि हुन्छ ।’

बुबाको आग्रह मानेर यसो दुई–चार महिना काम सिक्न सांग्रिला टुर्स प्रवेश गरेका अशोकले बुबा टेकचन्द्रले झैं त्यसपछि पछाडि फर्केर हेरेका छैनन् । अशोक आफैंले सांग्रिलामै बिताइसके साढे तीन दशक ।

‘ख्यालख्यालमै सांग्रिला टुर्समा काम थालेको साढे तीन दशक भइसकेछ,’ सांग्रिला टुर्सका प्रबन्ध निर्देशक अशोक भावुक हुन्छन्, ‘बुबाले बनाउनुभएको लिगेसीलाई अगाडि बढाउँदा बढाउँदै यति लामो समय भइसकेछ । सम्झिँदा हिजो–अस्ति झैं लाग्छ ।’

अशोक काठमाडौंमै जन्मिए । प्राथमिक तहको पढाइ ज्ञानेश्वरको इन्टरनेसनल स्कुलमा पढे । त्यसपछि दुई वर्ष आनन्दकुटी विद्यापिठमा पढे । अनि, ३ कक्षाबाट १२ कक्षासम्म दार्जिलिङको पढाइ सकेर दिल्ली विश्वविद्यालयबाट बिकम अनर्स गरे ।

अशोक सन् १९९० मा सांग्रिला टुर्स प्रवेश गरे । भारतको दिल्ली विश्वविद्यालयबाट पढाइ सक्नासाथ नेपाल फर्केका थिए । बुबाले आफ्नै कम्पनीमा काम थाले हुन्छ भनेपछि सांग्रिला टुर्स प्रवेश गरेका अशोक अहिलेसम्म यही कम्पनीलाई अगाडि बढाइरहेका छन् ।

उनले सुरुमा ट्रेक लिडर भएर काम थाले । पहिले र अहिले ट्रेकिङमा आकास पातालको फरक रहेको उनको अनुभव छ । उनले ट्रेकिङ गरेको ठाउँमा अहिले जम्मै गाडी कुद्ने सडक बनेका छन् ।

त्यसपछि उनले बिस्तारै ट्रेकिङको काम अन्य कर्मचारीलाई हस्तान्तरण गरेर टुरतिर लागे । नयाँ टुर प्याकेज डिजाइन गर्न थाले, नयाँ बजार खोज्ने काम गर्न थाले ।

अशोकले पर्यटन क्षेत्रमा प्रवेश गर्दा नै बुबा टेकचन्द्रले यो क्षेत्रमा ५० वर्ष बिताइसकेका थिए । बुबाको अनुभव धेरै नै ठूलो थियो । बुबाको ‘टावरिङ पर्सनालिटी’ जोगाइराख्न अशोकलाई त्यति सजिलो पनि थिएन ।

तर, अशोकले बिस्तारै सांग्रिला टुर्सलाई नयाँ उचाइतिर लगे । नयाँ–नयाँ टुर तथा ट्राभल प्याकेज बनाउने, त्यसलाई बजारीकरण गर्नेदेखि कसरी धेरैभन्दा धेरै विदेशी पर्यटकलाई नेपाल घुमाउन ल्याउने भन्ने ध्याउन्नमा उनी बाह्रैमास चौबिसै घण्टा खटिरहन्थे ।

बुबा टेकचन्द्रले एकखालको ‘लिगेसी’ बनाएको सांग्रिला टुर्र्स अशोकको अथक मिहिनेत, लगाव, दिनरातको परिश्रमले थप नयाँ उचाइमा पुग्यो । बुबाले बल्ल राहतको सास फेरे ।

‘लिगेसीको कुरा गर्दा, व्यापारमा आफू कहाँबाट आएको भन्ने बिर्सिनु हुँदैन । त्यो बिर्सिनासाथ सबै सकियो । आफू कहाँबाट आएको भन्ने बिर्सियो भने बाटो बिराइन्छ, गन्तव्य थाहा हुँदैन,’ अशोक भन्छन्, ‘लिगेसी भनेको काम, इमान्दारिता, विश्वास, कर्मचारीप्रति बफादारिता, पारदर्शितामा हुनुपर्छ ।’

अशोकले कम्पनी आफैं हाँक्न थालेपछि ‘इन्बाउन्ड’ (नेपालमा विदेशी पर्यटक ल्याउने) र ‘आउटबाउन्ड’ (नेपालीलाई विदेश घुमाउन लैजाने) पर्यटन बाहेक लजिस्टिक कम्पनीमा बढी केन्द्रित गरे । पछिल्लो डेढ दशकदेखि सांग्रिलाले ‘युनाइटेड पार्सल सर्भिस’ (यूपीएस) को नेपाल साझेदार भएर काम गरिरहेको छ । यो फुलफ्लेज कार्गाे कम्पनी हो ।

‘खासमा पढाइ सकेर आएको थिएँ, खाली समय सदुपयोग गर, काम पनि जानिन्छ भनेर बुबाले भन्नुभयो । अनि सुरुमा तीन–चार महिनालाई भनेर काम थालेको थिएँ,’ अशोक सम्झिन्छन्, ‘बिस्तारै यसैमा रस बस्यो, हुँदाहुँदै साढे तीन दशक बिताइसकेँ । अब बाँकी जीवन यसमै बिताउने हो । योभन्दा अरू काम जानेको पनि छैन ।’

अहिले अशोकका छोरो र भतिजो पनि यही कम्पनीमा काम गर्न थालेका छन् । उनीहरू विदेश पढे पनि नेपालमै काम गर्ने भनेर फर्केर आए । अशोक खुसी छन् । उनीहरू इन्बाउन्ड र आउटबाउन्डको काम गरिरहेका छन् । अहिले तेस्रो पुस्ताले सांग्रिला टुर्सको बिँडो बिस्तारै थाम्न थालेको छ ।

अशोकका अनुसार सांग्रिला टुर्समा सन् २००० सम्म १ सय २० जनासम्मले प्रत्यक्ष रोजगारी पाएका थिए । अहिले ६० जनाजति काम गरिरहेका छन् । भूकम्प, कोरोना लगायत कारण यस्तो अवस्था आएको हो ।

अशोकले पर्यटन क्षेत्र प्रवेश गर्दा पर्यटन भिन्नै खालको थियो । उनी साढे तीन दशकदेखि पर्यटन सम्बद्ध विभिन्न संघसंस्थामा संलग्न छन् । तर, जतिमा संलग्न छन्, तिनमा राजनीतिको छाया परेन । अशोकहरू जहिले पनि पर्यटन उद्योगको श्रीवृद्धिमै लागे । तर, आजको दिनमा आउँदा पर्यटन संघसंस्था राजनीतिले ग्रस्त हुन पुगेकोमा उनलाई अत्यन्त दुःख लाग्छ ।

अशोकका बुबा टेकचन्द्र नेपाल पर्वतारोहण संघको संस्थापक सचिव थिए । अशोक बालखै हुँदा पुतलीसडकमा रहेको पर्वतारोहण संघको अफिसमा बुबासँगै जान्थे र दिनभिर बस्थे । त्यही बेलादेखि हो उनमा पर्यटनको भूत सवार भएको ।

एउटा टावरिङ पर्सनालिटी भएको मानछेले स्थापना गरेको कम्पनीलाई अगाडि बढाउँदै लान पाउँदा गौरव महसुस हुने अशोक बताउँछन् ।

‘मैले बच्चैदेखि पर्यटन क्षेत्रकै मान्छेसँग घुलमिल हुन पाएँ । म कम्पनी प्रवेश गर्दा नै सबै चिनेका मान्छे पर्यटन क्षेत्रमा हुनुहुन्थ्यो,’ अशोक अभिभूत हुन्छन्, ‘पीपी प्रसाईं, जेएल खन्ना, अम्बिका श्रेष्ठ, भोलाविक्रम थापा, अनुप राणालगायत सबै चिनेकै हुनुहुन्थ्यो । मभन्दा अगाडिको पुस्ताले मेरो बुबालाई दाइ भन्ने र मैले उहाँहरूलाई दाइ भन्छु । एकदमै सौहाद्र्रपूर्ण सम्बन्ध थियो र अहिले पनि छ ।’

उनका अनुसार पहिले पर्यटनमा नवीन कुरा आविष्कार गर्नुपथ्र्यो, तर अहिले त्यस्तो छैन । अहिले प्रतिस्पर्धाका नाममा अस्वस्थ प्रतिस्पर्धा व्याप्त छ । यो राम्रो होइन । अहिले त आफ्नो व्यापार भए हुन्छ, अरूको जेसुकै होस् भन्ने छ ।

यसप्रति अशोकको धारणा चाहिँ व्यापारमा प्रतिस्पर्धा अतिआवश्यक छ भन्ने हो । जसले गर्दा मूल्य पनि बजारले आर्फै निर्धाण गर्छ भन्ने उनको मान्यता छ । ‘तर, अस्वस्थ प्रतिस्र्धा हुनुहुँदैन भन्ने हो,’ उनी भन्छन्, ‘सेवा नदिने तर मूल्य महँगो लिनु कदापि हुँदैन ।’

अशोकको साढे तीन दशकको अनुभवले पर्यटनका लागि नेपाल संसारकै उपयुक्त ठाउँमध्ये पर्छ । ‘हामीसँग संस्कृति, सम्पदा, हिमाल, पहाड, के छैन, सबै छ,’ उनी थप्छन्, ‘ट्रेकिङमा नेपालले अरू देशलाई सिकायो । भुटान, तिब्बत, दक्षिण अमेरिकामा हामीले सिकाएको ट्रेकिङ चलिरहेको छ । हामी यसमा अगुवा हौं । तर, पर्यटनको लाभ स्थानीयवासिन्दासम्म पुर्‍याउनै सकेनौं । यसमा सरकारले पनि अझै सोचेको छ जस्तो लाग्दैन ।’

बुबालाई सम्झिँदा…

अशोक सानो हुँदा बुबा टेकचन्द्र एकदमै व्यस्त हुन्थे । उनका बुबा नेपालको पर्यटन बजारीकरण गर्न युरोप जाँदा भारतको दिल्ली गएर त्यहाँबाट हवाईजहाजमा फ्रान्सको पेरिस जान्थे । अनि, दुई–तीन महिना उतै बजारीकरणमा युरोप घुम्थे ।

‘हामी त जाडो वा गर्मी बिदामा घर आउँदा बुबासँग भेट नै हुन्थेन । सुरु–सुरुमा त बुबासँग डर लाग्थ्यो,’ अशोक बाल्यकाल स्मरण गर्छन्, ‘तर, अलि ठूलो भएपछि बुबाले हामीलाई साथीजस्तो व्यवहार गर्नुहुन्थ्यो । अनि, मात्र बुबासँग डर लाग्न छाड्यो ।’

सांग्रिला टुर्समा प्रवेश गरेपछि व्यवसायमा केही अप्ठ्यारा वा असहज अवस्था आए अशोक बुबालाई सोध्ने र उनको सुझाव अनुसार काम गर्थे । बुबासँगको सानिध्यता दशकौंसम्म जारी रह्यो ।

‘मैले सांग्रिला टुर्सको जिम्मेवारी पूर्णरूपमा लिएपछि भने बुबा समाज सेवादेखि पर्यटन क्षेत्रका संघसंस्थामा बढी व्यस्त हुनुभयो,’ अशोक भावुक हुन्छन्, ‘६ वर्षअघि बुबाको निधन भएपछि भने खल्लो महसुस त भइरहन्छ, तर बुबाले सुरु गर्नुभएको कम्पनीलाई अगाडि बढाउन पाउँदा गौरव महसुस पनि भइरहन्छ ।’

पर्यटनमा इमान्दारिता

अशोकका शब्दमा पर्यटन भनेको सुमधुर सपना बुनेर पर्यटकलाई बेच्ने हो । त्यो सपना बेच्ने क्रममा फटाहा बोलेको, होटल एउटा भनेर अर्कोमा लगेर राख्ने, खाना एउटा भनेर अर्कै दिने, एकथोक भनेर अर्कै थोक गर्ने हो भने इमान्दारिता सकिने अशोक ठोकुवा गर्छन् ।

‘घाटा खाएर भए पनि पर्यटकलाई भनेको सुविधा दिनैपर्छ । भोलिको दिनमा भाउ बढाउन सकिन्छ तर बोलेको कुरा पूरा नगरी ठगी गर्न हुँदैन,’ अशोक भन्छन्, ‘यस्तो इमान्दारिताबाट कदापि पछाडि नहट्न बुबाले सिकाएर जानुभयो ।’

नेपालीलाई पनि विदेश घुमाउन लैजाने

विगतमा विदेशी पर्यटकमात्र ल्याउनुपर्छ भन्ने धारणा थियो । अमेरिकी, बेलायती पर्यटक पो राम्रो भन्ने थियो । तर, पछिल्लो पटक नेपालीहरू पनि पर्यटकका रूपमा घुम्न संसारका विभिन्न देश गइरहेको अशोक बताउँछन् ।

उनका अनुसार सन् २०२३ मा २ लाख ४ हजार नेपाली विभिन्न देश घुम्न गएको तथ्यांक आएको छ । यो भनेको विद्यार्थी वा वैदेशिक रोजगारीमा जाने होइनन्, विशुद्ध पर्यटक भएर जाने नेपालीको संख्या हो ।

जसरी विदेशीलाई नेपाल ल्याउन हामी प्रोत्साहन गर्छौं, त्यसैगरी नेपालीलाई पनि विदेश घुमाउन लान प्रोत्साहन गर्नुपर्छ ।

२०२३ मा २१ हजार नेपाली थाइल्यान्ड घुम्न गएका छन् । तर, थाइल्यान्डबाट जम्मा ९ हजार पर्यटक नेपाल आएका छन् ।

‘थाइल्यान्डले ९५ देशका नागरिकलाई अनअराइभल भिसा दिन्छ, तर नेपालीलाई दिँदैन,’ उनी भन्छन्, ‘तर, हामी चाहिँ थाई पर्यटकलाई अनअराइभल भिसा दिइरहेका छौं । किन दिने ? रोके हुन्छ ।’

सरकारले द्विपक्षीय वार्ता गर्दा नेपालीहरू पर्यटक बनेर संसारभरि घुम्ने गरेको तथ्यांक अगाडि राखेर बस्नुपर्ने उनको भनाइ छ, ‘तबमात्र नेपालको ‘केही शक्ति’ देखिन्छ,’ उनी थप्छन् ।

त्यसैगरी गत वर्ष नै ७१ हजार नेपाली हवाईमार्ग हुँदै पर्यटक बनेर भारत घुम्न गएका थिए । स्थलमार्गबाट जानेको हिसाब छैन । ‘भारतबाट ३ लाख हवाईमार्ग हुँदै आए पनि हाम्रा पनि ७१ हजार त गएका छन् नि !, यसबारे सरकारले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने र

टुर अपरेटरको पेसा चौबिसै घण्टा

पर्यटन क्षेत्रमा टुर अपरेटरको भनेको चौबिसै घण्टा सातै दिन व्यस्त रहनुपर्ने हुन्छ । नेपालमा पर्यटक बोलाएर त्यो पर्यटक विमानस्थलमा झरेपछि नेपाल घुमेर उसको देश जान जहाज नचढेसम्म सबै जिम्मेवारी टुर अपरेटरको हुने अशोक बताउँछन् ।

उनका अनुसार पर्यटक बिरामी भएदेखि सारा चिज व्यवस्था गर्नुपर्छ । ‘हाम्रो त मोबाइल फोन पनि कहिल्यै बन्द गर्न पाइँदैन । आधा रातमा पर्यटक बिरामी भयो भने उसलाई औषधी पुर्‍याउने, अस्पताल लैजानेमात्र नभई कथंकदाचित पर्यटकको ज्यानै गयो भने तिनका परिवार बोलाउनेदेखि शव उता लैजानेसम्म टुर अपरेटरकै काम हो । यो सजिलो पेसा होइन,’ अशोक थप्छन् ।

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?